Play

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुभाष नेम्बाडं उमेदवार बन्ने

गुरुकुल खबर


नेपाली कांग्रेसले फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्।

पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्।  गठबन्धनका सबै नेताहरू पाैने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ।

कांग्रेसको निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।

पौडेल देशका प्रमुख नेताहरूमध्ये सम्भवतः सबैभन्दा लामो राजनीतिक इतिहास भएका राजनीतिज्ञ हुन्। राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि वामपन्थी विद्यार्थी राजनीतिको झुकाव छाडेर पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए। ३० वर्षे लामो पञ्चायतका दौरान पौडेलले कांग्रेसमा बसेर अविचलित रूपमा संघर्ष गरे।

उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए। पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्।

२०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी गृह जिल्ला तनहुँबाट निर्वाचित भएका थिए। त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट ६ पटक सांसद निर्वाचित भएका छन्।

पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन्। उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन्।

पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए।

लामो राजनीतिक जीवनमा मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्न नसकेका पौडेल प्रति देशभरका कांग्रेसी नेता तथा कार्यकर्ताको सहानुभूति रहने गरेको छ। राष्ट्रपतिका रूपमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेसँगै पौडेलको लामो राजनीतिक जीवनले विश्राम लिनेछ।

पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन्।

 

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

कांग्रेसका पौडेललाई ८ दलको समर्थन छ। एमालेका नेम्वाङलाई कुन/कुन दलले समर्थन गर्छन् भन्ने खुलेको छैन।

एमाले सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दावी गरे।

इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्व सभामुख पनि हुन्।

२०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइवटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए।

२०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबैभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।

१३ फाल्गुन २०७९, शनिबार ११:५९ मा प्रकाशित
Nabintech