Play

बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्व पोखराका उद्योगी व्यवसायी सडकमा

गुरुकुल खबर


पोखरा । पोखराका उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति विरुद्व सडकमै उत्रेर विरोध जनाएका छन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको विपीचोक चिल्लेढुंगामा एक घण्टासम्म प्रदर्शन गरी विरोध जनाएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी व्यवसायीहरु सडकमा ओर्लिएका हुन् ।

कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ कास्की, गण्डकी प्रदेश उद्योग परिसंघ पोखरा, पोखरा स्टील फेब्रिकेटर्स एशोसिएशन कास्की लगायत पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ, यातायात व्यवसायसँग सम्बन्धित संस्था लगायतको सहभागिता रहेको थियो ।

विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको जिकिर गरे । उनले उद्योग व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुनु हो भन्दै यो समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतिविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको बताए । ‘हामीले ऋणको किस्स्ता र ब्याज तिदैनौं भनेकै छैनौं । हाम्रो माग भनेको एकाएक र एकतर्फी रुपले बढाइएको ब्याज घटाऊ र ऋणको किस्ताको पुनर्तालिकीकरण गर भन्ने मात्र हो,’उनले भने ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विरोध कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै आउँदा दिनमा गरिने सशक्त आन्दोलनको लागि तयार रहन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिदै निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।

११ फाल्गुन २०७९, बिहीबार २०:४७ मा प्रकाशित
Nabintech