Play

गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण गर्ने

गुरुकुल खबर


गोरखा — पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ । यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा भने अब हरेक दिन अर्पण गर्ने गरी सुरु गरिएको हो ।

नेपाल राष्ट्रको गैरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालीन रुपमा जीवन्त राख्न तथा पृथ्वीनारायण शाहको उचित सम्मान दिने उद्देश्यले सलामी कार्यक्रमको थालनी गरिएको नेपाली सेनाले जनाएको छ ।

सलामी अर्पण कार्यको थालनीका लागि गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च उचाइको पूर्णकदलको सालिक निर्माण गरिएको छ । सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको छ । पृथ्वीजयन्तीको अवसरमा बुधबार सालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे । सोही अवसरमा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको पनि शुभारम्भ गरिएको छ । राष्ट्रिय झण्डाको झण्डोत्तोलन र मनोग्रामको उद्घाटनसमेत सोही अवसरमा भएको छ ।

सालिक, मनोग्राम र नेपालको झण्डा स्थापनाका लागि २१ लाख खर्च भएको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइमा सालिक निर्माण सम्पन्न भएको हो । ठूलो आँगनमा शार्दुल जंग गुल्मबाट नफ्री ११ को फौजले अब हरेक दिन ऐतिहासिक पोसाक तथा हातहतियार सजिएर दैनिक परेट प्रदर्शन गर्नेछ । पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने गरी कालो दौरसुरुवाल र परम्परागत हातहतियारमा सजिएका नेपाली सेनाले दैनिक सलामी अर्पणसँगै परेड प्रदर्शनी हुने छ । इतिहासको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रनिर्माता सलामीको अवधारणा ल्याएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज विष्टले बताए ।

‘पोखरीथोक ब्यारेकबाट पुग्ने टोलिले हरेक दिन परेड प्रदर्शन र सलामी अर्पण गर्नेछ, यस कार्यको आजबाटै सुभारम्भ भयो,’ उनले भने । गोरखा दरबारको पश्चिम इलाकाइबाट दुईवटा विगुलमार्फत् विजय ध्वनी बजाउने कार्यक्रम को शुभारम्भ गरिएको हो ।

नेपाल एकीकरणको समयमा गोरखा दरबारबाट विभिन्न बाजागाजा बजाइ ठूलो आँगन इलाकामा आफ्नो फैजाहरुलाई सामेली, ब्रिफ्रीङ, तथा अन्य विविध कार्यक्रमको आयोजन गर्ने गरेको परम्परालाई स्मरण गराउने उद्देश्यले राष्ट्रनिर्माता अवधारणाको थालनी गरिएको उनले बताए ।

नेपालको नक्सा अंकित मनोग्रामसहितको राष्ट्रिय झण्डा तथा पृथ्वीनारायण शाहको सालिकको अनावरण तथा राष्ट्रनिर्माता सलामी अर्पण सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली सेनाक प्रधानसेनापती प्रभुराम शर्माले गौरवमय इतिहासलाई जिवन्त राख्न उत्त कार्यक्रमले सहयोग पुर्‍याउने बताए । ‘गढी, किल्ला लगायतका ऐतिहासीक धरोहरको एकिकृत रुपमा समन्वय गरेर प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ, यसमा नेपाली सेनाले पनि सक्दो सहयोग गर्ने प्रण गर्न चाहन्छु,’ उनले भने । ठूलो आँगनमा सूर्योदय र सूर्यास्तमा हुने राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रमले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने उनको विश्वास छ । ‘यो कार्यक्रम निकै प्रभावकारी हुने छ, आन्तरिक तथा वाह्य पर्यटकलाई समेत केही न केही इतिहास बुझ्न प्रोत्साहित गर्ने छ,’ उनले भने ।

इतिहासलाई जगेर्ना तथा प्रवर्द्धन गर्न, वाह्य र आन्तरिक पर्यटक भित्र्याउन उक्त अवधारणाले सघाउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले बताए । ‘यस्तो कार्यक्रम विश्वका केही देशहरुले मात्र गरेको बुझेका छौँ,’ उनले भने, ‘नेपाल राज्य विस्तार अभियान सुरु भएको गोरखामा दैनिक नेपाली सेनाले परेड प्रदर्शन गर्दा देशभित्र मात्र नभएर विदेशी पर्यटकको समेत ध्यान पुग्ने विश्वास लिएका छौँ ।’ यसले इतिहासको सम्मान समेत हुने रानाले बताए।
इकान्तिपुरबाट

२७ पुष २०७९, बुधबार २०:३८ मा प्रकाशित
Nabintech