Play

पूर्व राष्ट्रिय फुटबल खेलाडी गौचनद्धारा पोखरामा एकेडेमी सञ्चालन

गुरुकुल खबर


पोखरा । पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएका छन् ।

पोखरा महानगरपालिका वडा नं २७ स्थित  रिठ्टेपानीमा उनले एकेडेमी सञ्चालनमा ल्याएका हुन् । लामो समय नेपाली फुटबलमा योगदान दिएका बसन्त यति बेला जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् ।

विगत चार वर्ष देखि एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका बसन्तले जापानकै अवधारणामा एकेडेमीलाई अघि बढाएका हुन् । पोखरा २७ रिठ्टेपानीमा सञ्चालनमा ल्याएको बिजि फुटबल एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनमा करिब २ सय जनालाई एकैपटक प्रशिक्षण दिन सकिने उक्त एकेडेमीको आफ्नै फुटबल मैदान संगै चेन्जिङ रुम, स्टोर रुम, अफिस कोठा, शौचालय लगायतका पूर्वाधारहरु समेत छन् ।

एकेडमीलाई भविष्यमा जापानको फनरुट्स सहित जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोन संग द्विपक्षिय सम्वन्ध विस्तारका लागि सम्झौता समेत गरिसकिएको छ । हाल एकेडेमीमा ८ देखि १६ वर्ष उमेर समुहका ६० जनाले दैनिक प्रशिक्षण लिइरहेका छन् । एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ र मुख्य प्रशिक्षकमा शम्भु केसी रहेका छन् ।

एकेडेमीको अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले उद्घाटन गरे । खड्काले नेपाली फुटबलको व्यवसायिकताको विकास हुन नसकेको बताउँदै व्यवसायिकता विकासका लागि एकेडेमीहरुको स्थापना महत्वपूर्ण रहने बताए । उनले आगामी मंसिर १० गतेबाट काठमाण्डौमा ८–१८ वर्ष उमेर समुहलाई केन्द्रित गर्दै एकेडेमीको सुरुवात गर्न लागेको जानकारी दिए ।

एन्फाका पूर्व उपमहासचिव तथा बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ लगायतले व्यवसायिक फुटबल खेलाडी उत्पादनमा संगै नेपाली फुटबल विकासका लागि बिजि फुटबल एकेडेमी महत्वपूर्ण हुने बताए ।

२७ कार्तिक २०७९, आईतवार १७:५१ मा प्रकाशित
Nabintech