Play

पोखराका महिलाहरुको निर्वाचन केन्द्रीत भेला सम्पन्न

गुरुकुल खबर


पोखरा । अबको दश दिनमा अर्थात मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९ लाई मध्यनजर गरी नेपाल महिला संघ पोखरा महानगरसमितिले पाँच दलिय गठबन्धनमा आवद्द महिलाहरुसंग निर्वाचन केन्द्रित छलफलको आयोजना गर्यो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धन दलका उमेदवारहरुलाई कसरी विजयी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित रही छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेपाली काँग्रेस गण्डकी प्रदेशका सह महामन्त्री कोपिला रानाभाटले संविधानको रक्षा र विकासका लागि गठबन्धन दलले जित्नुको विकल्प नरहेको बताईन् । मुलुकको समृद्धिका लागि र राजनीतिक स्थिरताका लागि गठबन्धनमा आवद्द दलका उमेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरिन ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार सरस्वती गुरुङले समान सहभागिता र समान अवसरकालागि आफ्नो उम्मेदवारी भएको बताउँदै महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउनु नै आफ्नो चुनावी एजेण्डा भएको बताईन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका उम्मेदवार वृन्दादेवी रानाले हरेक तहमा महिलाको समान सहभागिताकालागि आफु लागिपरेको बताईन् ।

कास्की क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार समेत रहेका नेकपा एकिकृत समाजवादीका नेता श्रीनाथ बरालले समावेशी ऐन कानुन निर्माणसंगै विकास निर्माणमा आफ्नो जोड रहने बताए ।

नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति तथा नेपाली काँग्रेस महासमिति सदस्य माया बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारी, काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, अखिल नेपाल महिला संघ माओवादी केन्द्रकी कल्पना पाण्डे, चन्द्रा पराजुली, समाजवादी पार्टीकी गंगा राई लगायतले नेपाली राजनीतिमा देखा परेको तानाशाही प्रवृत्तिको अन्त्यकालागि गठबन्धनको जीत आवश्यक रहेको बताए ।

वक्ताहरुले वर्षको आधा भन्दा बढी समय जिल्ला बाहिर रहने र निर्वाचनको बेलामा मात्र जिल्ला आउनेहरुले विकास र समृद्धिको खाका निर्माण गर्न नसक्ने भन्दै योग्य र आवश्यक उमेदवार संगै लोकतन्त्रिक व्यवस्थाप्रति प्रतिवद्द नेतालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

२५ कार्तिक २०७९, शुक्रबार २२:१६ मा प्रकाशित
Nabintech