Play

घोषणापत्रमा-सुशासन,विकास र समृद्धि तर भाषणमा-राजनीतिक जोडघटाउ र दोषारोपण नै मुख्य विषय

गुरुकुल खबर


काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् ।

मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउ’लाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ तथा दोषारोपण नै मुख्य विषय’ बनाउने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताले अहिले पनि एकअर्कालाई दोषारोपण गर्ने पुरानै शैली नछाडेको पाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई प्राथमिकता दिइएको पाइयो ।

‘गठबन्धन केही समय कायम रहनुपर्ने’मा जोड दिँदै उनले ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेको’ आरोपसम्म लगाए । ‘ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको’ स्मरणसमेत देउवाले गरे ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बिहीबार नै राजधानीमा आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई बढी महत्व दिए ।

‘४ मंसिरको निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने ?’ भन्ने प्रचण्डले उल्लेख गरे। ‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुपर्ने’ उनको जोड थियो ।

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राजनीतिक विषयलाई नै बढी प्राथमिकता दिए । जनताको संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्ति एकठाउँ आउनुपर्ने उनको जिकिर छ । संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयता रक्षार्थ गठबन्धन एकठाउँ उभिएको उनको तर्क छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास समृद्धि र सुशासनको विषयभन्दा ‘राजनीतिक जोडघटाउमा नै जोड दिए । एमाले घोषणापत्रमा ‘विकास समृद्धिका कुरा समेटे पनि भाषणमा भने गठबन्धनलाई दोषारोपण गर्ने’मा उनले बढी समय खर्चिएको पाइयो।

मुख्य दलका शीर्ष नेता मात्र नभएर वैकल्पिक शक्तिका रूपमा उदाउन खोजेका रवि लामिछाने, रविन्द्र मिश्र, रमेश खरेलसहितका उम्मेदवारले पनि राजनीतिक भाषण र दोषारोपणमै समय खर्चिने गरेका छन् ।

कतिपय व्यक्ति तथा समूहले सामाजिक सञ्जालमा अरूलाई हराउन ‘नो नट अगेन’जस्ता अभियान नै सञ्चालन गरेको पाइएको छ । राम्रो कामको प्रचार गरेर आफू अघि बढ्नुपर्नेमा नयाँ पुस्ता पनि अरूलाई दोष थुपारेर ‘आफू राम्रो हुने’ ध्येयमा लागेको देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावी मोर्चामा होमिएका थिए । त्यतिबेला उनीहरूले स्थायित्व, विकास र समृद्धिको मुख्य नारा नै बनाए ।

नेपाली कांग्रेसले पनि ‘सुशासन र समृद्धि’ नारालाई नै जोड दिएको थियो । यसपटक भने ‘विकास समृद्धि र सुशासन’ विषय गत निर्वाचनभन्दा केही ओझेल परेको छ ।

१८ कार्तिक २०७९, शुक्रबार १५:३७ मा प्रकाशित
Nabintech