Play

निर्वाचन आयोगलाई अनावश्यक दोषारोपण नगर्न आयुक्त भण्डारीको आग्रह

गुरुकुल खबर


पोखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलको चुनावी अभियान संचालन पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै निर्वाचन आयोग तयारीमा लागेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त भण्डारीले संघ तथा प्रदेशको निर्वाचन नजिकिदै गर्दा हुन सक्ने घटनाप्रति आयोग संवेदनशील रहेको बताए ।

उनले निर्वाचन आयोग कुनै पनि दलप्रति पूर्वाग्रही नबन्ने विश्वास दिलाउदै संचारकर्मीलाई आयोगप्रति कुनै पनि लान्छाना नलगाउन अनुरोध गरे । आयुक्त भण्डारीले संचारको विकासले निर्वाचनका हरेक गतिविधि नागरिक समक्ष तत्काल पुग्ने भएकोले संचारकर्मीले निष्पक्ष भूमिका खेलिदिनु पर्ने समेत बताए ।

सोही कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई विश्वासनिय बनाउन र जिल्लामा शान्त वातावरण कायम राख्न स्थानीय प्रशासन गम्भीर रहेको बताए ।

उनले निर्वाचन शान्त र निष्पक्ष भय रहित रूपमा सम्पन्न गराउन प्रशासन गम्भीर रहेको र त्यसका लागि जेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नो तयारी गरिसकेको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारका सचिव मनमाया भट्टराई पंगेनीले आसन्न निर्वाचन निश्पक्ष रुपमा सम्पन्न गर्न गराउन सबैले अपनत्व लिनु पर्नेमा जोड दिईन् ।

प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले निर्वाचन शान्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मिडियाकर्मीले राजनीतिक दलप्रति आस्थावान नभई स्वतन्त्र र पेशागत मर्यादा कायम राखेर समाचार संप्रेषण गर्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचन निश्पक्ष रुपमा सफल पार्न संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउँदै संचारकर्मीहरुलाई समाचार संप्रेषण गर्दा आचार संहिता लागू गर्न आग्रह गरिन् ।

कार्यक्रमको सहजीकरण निर्वाचन कार्यालयका सूचना अधितृत रूद्र न्यौपानेले गरेका थिए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेल र राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक शितलप्रसाद महतोले कार्यपत्र प्रस्तुत गरेका थिए ।

६ कार्तिक २०७९, आईतवार २२:१० मा प्रकाशित
Nabintech