Play

अब पोखराको फोहर व्यवस्थापन गर्न अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला जस्तो छ – मेयर आचार्य

गुरुकुल खबर


पोखरा,  पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन् । ‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ तर मेरो वडामा भने फाल्न पाइँदैन भन्ने नागरिकहरु छन्’,उनले सो प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै भने,‘अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्लाजस्तो छ ।’

मेयर आचार्य पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले मंगलबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै थिए । उनले पोखराको ल्याण्डफिल साइट स्थानन्तरण नभए आउँदो पुसबाट हुने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलो संचालन असम्भव रहेको पनि सुनाए ।

पोखराको वडा नम्बर १६ र २० मा पर्ने पस्मराङ तथा वडा नम्बर ३३ को भरतपोखरी क्षेत्रमा सार्ने भनिएकोमा स्थानीयबाट विरोध भएको थियो । मेयर आचार्यले ल्याण्डफिल साइट निर्माणको लागि अवरोध सिर्जना भएसँगै महानगरले फोहरको वैज्ञानिक व्यवस्थापनको योजना कोरेको पनि सुनाए ।

‘विभिन्न देशले फोहरलाई बर्गीकरण गर्दै फोहरबाट नै आम्दानी गरेका छन्’,उनले भने,‘हामी पनि फोहरको बर्गीकरण गर्दै ल्याण्डफिल साइट नै नचाहिने अवस्था सिर्जना गर्न लागेका छौँ ।’ उनले अस्पतालबाट निस्कने फोहर अस्पताल स्वयंले तथा औद्योगिक क्षेत्रबाट निस्कने रसायन मिसिएको फोहर उद्योगले नै नष्ट गर्नुपर्ने बताए ।

स्थानीयले औद्योगिक क्षेत्रबाट निस्केको फोहरले समस्यामा परेको गुनासो गर्ने गरेको सुनाउँदै भने,‘औद्योगिक क्षेत्र वरपरको बस्तीभन्दा जेठो हो, यहाँबाट यो हट्दैन ।’मेयर आचार्यले पोखरा महानगरसँग कानूनहरु भए पनि कार्यान्वनय पक्ष फितलो भएको स्वीकारे । ‘आँङ कन्याएर छारो के उँडाउनु’,उनले भने,‘महानगर अस्तव्यस्त छ,हामीले त्यहाँ सुधारको थालनी गरेका छौँ ।’

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उद्योगी÷व्यवसायीहरुलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘व्यवसायी पलायन भए राजश्व कहाँबाट उठ्छ ?एउटा उद्योगीले गर्ने उत्पादनबाट हजारौंले रोजगारी पाउँछन्,राजश्व बढ्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन्छ भन्ने राज्यले बुझ्नैपर्छ ।’

उनले आउँदो मंसिर १६ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला संचालन हुने जानकारी दिँदै सो मेलामा औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिने पनि बताए । ‘यो पटकको मेला मनोरञ्जनात्मक हैन,उत्पादनको प्रदर्शनी र उद्यमशीलता सिक्ने थलो बन्नेछ’,उनले भने ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष बाबुराम पन्तले उद्योगको लगानी दीर्घकालको लागि भएकोले त्यसमा राज्यले विशेष सुविधा दिनुपर्ने माग गरे । नेपालको उत्पादन क्षेत्र कमजोर हुनुमा राज्य दोषी रहेको बताउँदै उनले भने,‘सरकारले लगानीको संरक्षणमा ध्यान दिनैपर्छ ।’

गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष विनोद शर्माले औद्योगिक क्षेत्र सारिन्छ भन्ने हल्लाले व्यवसायीहरु आतंकित भएको बताए।

पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले औद्योगिक क्षेत्रबाट निस्कने केमिकल मिसिएको पानीले बाली बिगार्ने भएकाले त्यसको निर्मलीकरणमा ध्यान दिन औद्योगिक क्षेत्रसँग अनुरोध गरे ।

पोखरा औद्योगिक क्षेत्र  व्यवस्थापन कार्यालय प्रमुख किशोरकुरमा पाण्डेयले पोखरा औद्योगिक क्षेत्र फुड बैंक भएको बताए ।कार्यक्रम तथा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेश श्रेष्ठले औद्योगिक क्षेत्रले भोग्नु परेका समस्याप्रति राज्य संवेदनशील हुनुपर्ने बताए ।

१२ आश्विन २०७९, बुधबार १५:०० मा प्रकाशित
Nabintech