Play

मनास्लुमा हिमपहिरो, एक आरोहीको मृत्यु, ६ जना गम्भीर घाइते

गुरुकुल खबर


काठमाडौं, गोरखा — मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ भने कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् ।

उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् ।

आरोहण व्यवसायीका अनुसार मनास्लुको हिमपहिरो क्षतिका हिसाबले २०७२ वैशाख १२ मा सगरमाथामा भूकम्पसँगै गएको हिमपहिरोपछिको ठूलो हो । सात वर्षअघि सगरमाथाको हिमपहिरोमा २२ जनाको मृत्यु भएको थियो ।

मनास्लुनजिक सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालका अनुसार अपराह्न १२ बजे आसपास मनास्लुको तेस्रो र चौथो शिविरबीच पहिरो खसेको हो । तेस्रो शिविर ६ हजार ८ सय मिटर उचाइमा छ भने चौथो ७ हजार ४ सय ५० मिटर उचाइमा छ । उक्त पहिरोमा आरोहीका लागि बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा र एक आरोही परेको जानकारी आएको उनले बताइन् । मृत्यु भएकाको परिचय विभागले खुलाएको छैन । पहिरोमा परेकाहरू सेभेन समिट ट्रेक्स प्रालि, इम्याजिन नेपाल ट्रेक्स सातुरी एडभेन्चर प्रालि र एटके एक्सपिडिसनमा आबद्ध शेर्पा तथा आरोहण दल सदस्य रहेको खुलेको छ ।

चारवटा आरोहण कम्पनीका पहिरोमा परेका १३ मध्ये कम्तीमा ६ जना गम्भीर घाइते भएको सातुरीका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले कान्तिपुरलाई बताए । गोरखा प्रहरीका अनुसार घाइतेमध्ये संखुवासभाको मकालु–१ का २७ वर्षीय सुकुबहादुर तामाङ र दोलखाको गौरीशंकर–५ का ४४ वर्षीय जितबहादुर शेर्पालाई ५ घण्टापछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो । उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरबाट बूढानीलकण्ठमा रहेको करुणा अस्पतालमा ल्याइएको छ । अस्पतालले दुवै जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

सातुरीका प्रबन्ध निर्देशक भण्डारीले आफ्नो कम्पनीका पहिरोमा परेका तीनमध्ये दुई शेर्पा घाइते भएको र एक जनाको मृत्यु भएको बताए । यसैबीच हेली एभरेस्टको हेलिकोप्टरले सोमबार बेलुकी तेस्रो शिविरबाट उद्धार गरेका घाइते एक शेर्पालाई खराब मौसमका कारण काठमाडौं ल्याउन सकेन । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार बेलुकी ५ बजेपछि तेस्रो शिविरबाट उडेको हेलिकोप्टर ५२ सय मिटर उचाइमा अड्किएको छ । ‘हिउँ नै हिउँ भएको धरातलमा हेलिकोप्टर, पाइलट, बिरामी र एक जना बिरामी स्याहार्ने शेर्पा अड्किएका छन्,’ गुरागाईंले भने, ‘मंगलबार मौसम खुलेर हेलिकोप्टर स्टार्ट भए बिरामीलाई काठमाडौं ल्याउँछौं । चिसोले हेलिकोप्टर स्टार्ट नभए अर्को हेलीमा इन्जिन स्टार्ट गर्ने ब्याट्री लैजानुपर्ने हुन सक्छ ।’

 

११ आश्विन २०७९, मंगलवार ०८:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा