Play

काँग्रेसका अधिकारी प्रदेश सांसदको उम्मेदवारमा सिफारिस

गुरुकुल खबर


पोखरा । मसिर ४ गते हुने प्रदेश तहको निर्वाचनका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ ‘क’ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दावी गरेका व्यक्तित्व हुन् केशवराज अधिकारी ‘राजु’ ।

कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ४ लाहाचोक घर भएका अधिकारीले १५ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका थिए । कक्षा ९ मा पढ्दै गर्दा नेविसंघको राजनीतिमा लागेर गौरी शंकर मावि हेम्जाको कार्यसमितिमा रहेर काम गरेका अधिकारी २०४८ सालपछि पृथ्वीनारायण क्याम्पसमा नेविसंघको विभिन्न जिम्मेवारी सम्हाल्न पुगे ।

पञ्चायती शासन विरुद्ध २०४६ सालको आन्दोलनमा विद्यार्थी अवस्थामा गिरफ्तारीमा परेको बताउँने अधिकारी २०४८ सालपछि देशमा भएका सबै निर्वाचनमा काँग्रेसलाई जिताउन सक्रियतापुर्वक लागे । २०६२ ∕ ६३को जनआन्दोलनका क्रममा काँग्रेसका नेताहरुसंग पोखरामा अनशनमा बसेको र आन्दोलनका अन्य कार्यक्रममा समेत सक्रिय भुमिका निर्वाह गरेको बताउँछन् अधिकारी ।
२०५६ सालमा नेपाल तरुण दलको तत्कालिन लाहाचोक गाउँ समितिको संस्थापक सचिव र २०५७ सालदेखि नेपाली काँग्रेस लाहाचोक गाँउ कार्य समितिको उपसभापति रहेर सक्रियता पुर्वक काम गरेका अधिकारी २०७२ सालपछि भने गाउँका काँग्रेसजनको आग्रहमा गाउँ समितिको सचिव भएर समेत काम गरेका थिए ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अर्थात २०७८ मा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि अधिकारीले पार्टीको जिल्ला कार्य समितिको सदस्य पदमा उम्मेदवारी दिएका थिए तर थोरै मत नपुग्दा उनी सदस्य निर्वाचित हुन सकेनन् ।

राजनीतिसंगै शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँने अधिकारीसंग स्थानीय विद्यालयको व्यवस्थापन समितिमा रहेर काम गरेको लामो अनुभव छ । अधिकारीले क्षितिज प्रावि लाहाचोकको सदस्य हुदै दुई कार्यकाल अध्यक्षको समेत जिम्मेवारी सम्हाले अधिकारीको कार्यकालमा आर्थिक सहयोग जुटाएर क्षितिज प्राविको ८ कोठे पक्की भवन निर्माण गरिएको थियो तर २०७४ को निर्वाचनपछि विद्यालय भवनमा नै माछापुच्छ्रे गाँउपालिकाको कार्यालय सहित मातहतका अ्रन्य कार्यालयको सेवा सोही भवनबाट संचालन गरिएको छ । क्षितिज प्रावि भने महेन्द्र माविमा गाभिएको थियो ।

यसैगरी २०६७ मा महेन्द्र उच्चमावि लाहाचोकको विद्यालय व्यवस्थापन समितिको सदस्य बनेकोमा लगातार तीन कार्यकाल अर्थात हालसम्म पनि सदस्यकै रुपमा अधिकारी कार्यरत छन् । अधिकारीले स्थानीय क्षेत्रको विकास निर्माणमा समेत चासो राख्दै आएका छन् । स्थानीय परियार टोल जाने बाटो निर्माणकालागि अधिकारीले व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेको बताउँछन् ।

अधिकारीले समीबगर लाहाचोक ग्रामिण सडक निर्माण समितिको अध्यक्ष रहेर सडकको निर्माण र तत्कालिन कास्की जिल्ला विकास समितिबाट बजेट विनियोजन गराउन समेत सक्रिय भुमिका निर्वाह गरेका थिए । अधिकारीले आफ्नो गाँउ टोलमा निर्माण हुने मठमन्दिरका साथै धार्मिक र सामाजिक काममा समेत आर्थिक र नैतिक सहयोग गर्दै आएका छन् ।

स्नातक तहको अध्ययन पुरा गरेको बताउँने अधिकारीले आफुलाई नेपाली काँग्रेस प्रदेश सांसदको उम्मेदवार बनाएमा माछापुच्छ्रे गाउँपालिका सहित पोखरा महानगरका ६ वटा वडाका मतदाताको मत जितेर विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्छन् । प्रदेश सांसदमा दावी गरेका अधिकारी सहित अन्य आकांक्षीको नाम कास्कीको प्रदेश र क्षेत्र हुदै काँग्रेस जिल्ला कार्य समितिले केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

२२ भाद्र २०७९, बुधबार १६:१५ मा प्रकाशित
Nabintech