Play

महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन अब भत्काइने छ -वडाध्यक्ष मर्सानी

गुरुकुल खबर


पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर, लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । महानगरले व्यवसायीसँग भाडा उठाउन सकेको पनि छैन ।

महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन अब भत्काइने भएको छ । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ती भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरी सकिएको बताए । पाेखरा महानगरले यसअघि नै ३५ दिने सूचना जारी पनि गरिसकेकाे छ ।

महेन्द्रपुल सार्वजनिक शौचालय तथा पार्क निर्माण संघर्ष समितिले पोखरामा सरोकारवालासँग गरेको कार्यक्रममा मर्सानीले ती भवन यही भदौ २२ गते भत्काइने बताए । ‘भवनहरु भत्काउन तपाई वडावासीले साथ दिनुहोला,’ उनले भने, ‘अब हामी बोल्नेमात्र होइन गरेर देखाउँछौं ।’

महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । ती भवनमा व्यापार व्यवसाय गर्नेले भाडा समेत नतिरेको वडाध्यक्ष मर्सानीले बताए । भाडा तत्काल तिर्न र त्यहाँबाट व्यापार हटाउन समेत उनले भनेका छन् ।

भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको मर्सानीले सुनाए । त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने अध्यक्ष मर्सानीले जानकारी दिए । त्यहाँ रहेको २ रोपनीमा २ करोड रुपैयाँको लागतमा भवन निर्माण हुने पनि उनले सुनाए ।

तुलसी घाटमा सेती नदीमाथि १४ करोड लागतमा नारायणस्थानमा रहेको जस्तै नयाँ पुल निर्माण गरिने, महेन्द्रपुल क्षेत्रमा १ सय २७ वटा सडक बत्ती राखिने र सडकको स्तरोन्नति गरिने उनले बताए ।

१७ भाद्र २०७९, शुक्रबार ०७:०९ मा प्रकाशित
Nabintech