Play

पोउवासंघको अधिवेशन एक महिनामा, युवा व्यवसायी पोखरेलले अध्यक्ष पदमा उमेदवारी दिने

गुरुकुल खबर


पोखरा । पोखरेली उधोगी व्यवसायीहरुको छाता संस्था पोखरा उधोग वाणिज्य संघको एक महिना पछि हुन लागेको अधिवेशनमा युवा व्यवसायी अर्जुन पोखरेलले अध्यक्ष पदमा उमेदवारी दिने भएका छन । पोखरा उधोग बाणिज्य संघको कार्यसमितिमा सदस्य , उप महासचिव, महासचिव र उपाध्यक्षको ज़िम्मेवारी सम्हालेका पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा आईतबार पत्रकारहरु माझ गरेका हुन ।

” पोखरेलको ध्येय -सम्मानित संघ, समुन्नत व्यवसाय ” भन्ने नारा सहित पत्रकारहरु माझ उपस्थित उनले पोखराका अग्रज र समकालीन साथीहरुको सल्लाह बमोजिम आफुले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको जानकारी दिए । पोखरेलले आफ्ना एजेण्डा र प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि म सकारात्मक थिएं र त्यसका लागि प्रतिक्षारत थिएं तर लामो समय प्रतिक्षा गर्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने विषय टुंगोमा पुग्न नसकेपछि आफुले अध्यक्ष पदमा उमेदवारी घोषणा गर्न बाध्य भएको उनले स्पष्ट पारे । अब सर्वसम्मत रुपमा नेतृत्व चयनको च्याप्टर करिव बन्द भैसक्यो, अब मैले पनि अध्यक्ष बाहेक अन्य पदमा उमेदवारी दिन्न । मेरो उमेदवारी लाई बारेगेनिगंको रुपमा कसैले नलिईदिनुस भन्ने मेरो आग्रह हो – पोखरेलले पत्रकारहरु माझ भने ।

‘संघको गर्विलो इतिहासको रक्षा, अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाका रूपमा पुनः स्थापित गर्ने दायित्व अहिले नयाँ पुस्ताको काँधमा आएको छ,’ उनले भने, ‘अग्रज, समकालीन र अनुजहरूसँग सल्लाह गरे पश्चात् यो घोषणा गरेको छु । मेरो कार्यकालमा संघको आर्थिक, सांगठानिक र अधिकार रक्षाका लागि निकै मेहनत गर्नुपर्ने छ ।’

संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताएका छन् । उवासंघ पोखराको नेतृत्वका लागि पोखरेलको उमेदवारी पहिलो हो । उनी वर्तमान समितिका वाणिज्य तर्फका उपाध्यक्ष हुन् ।

मैले यो बार्गेनिङका लागि उम्मेद्वारी घोषणा गरेको होइन । मलाई उद्योगी/व्यवसायी साथीहरूले पत्याएनन् भने संघको नेतृत्वबाट बा‘हिरिन तयार छु । तर अब अध्यक्षबाट ब्याक हुन्न ।’ पोखरेलले आफू प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेकोसमेत स्पष्ट पारे। प्यानल बनाएर चुनाव लड्दा राजनीति हावी हुने उनको भनाइ छ । उनले भने, ‘संघमा राजनीति छिराउनु हुँदैन, चुनाव एक्लाएक्लै लड्ने हो । म त्यसकै पक्षमा छु ।’

पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउन आफूले भूमिका खेल्ने समेत उनले उद्घोष गरे । संघलाई आर्थिकरुपमा सबल र सक्षम बनाउने, पुनर्निर्माण गरी संघको भवन बहुतले बनाएर त्यसलाई व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने उनको प्रतिवद्धता छ ।

उनले संघीयता आएपछि संघको भूमिका झनै बढ्नुपर्नेमा झन् कमजोर भएको भन्दै आफू अध्यक्ष भएमा संघको भूमिका प्रभावकारी बनाउने बताए । उनले भने, ‘सरकार नागरिकबाट टाढा हुँदै गएकोमा सरकार र जनताबीचको दूरी घटाउन पुलको रुपमा संघले काम गर्ने बनाउँछु ।’ उनले समृद्ध पोखरा निर्माणमा पनि संघको भूमिका खोज्ने बताए ।

पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सदैव लागिरहने प्रतिबद्धता जनाउँदै त्यसका लागि राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुरक्षा, नया लगानी भित्राउनका लागि प्रोत्साहन गर्न संघले भूमिका खेल्ने बताए । उनले संघप्रति व्यवसायीको आकर्षण जगाउन विभिन्न कार्यक्रम, मेला, दर्ता नवीकरण, सिफारिस, व्यवसाय कर संकलन, आवश्यक पैरवीलगायतका कार्यहरुलाई निरन्तरता दिने बताए ।

आफू अध्यक्ष भए संघ अन्तर्गत रहनेगरी ‘व्यापार ईक्वेसन सेन्टर’ स्थापना गर्ने घोषणा गरे । जसले साना तथा मझौला उद्योग व्यवसाय र स्टार्टअप व्यवसायीलाई उनीहरुको व्यवसाय विकास र विस्तारमा सघाउने उनको भनाई छ । उनले उद्यमीहरुका लागि प्रारम्भिक चरणमै बिजनेस मेन्टरिङ सेवा पनि प्रदान गर्ने बताए ।

पोखरेलले लगानी सम्मेनललाई पनि आफ्नो चुनावी प्रतिवद्धतामा समेटेका छन् । विदेशी लगानी भित्र्याउनका लागि प्रदेश सरकारसँगको समन्वयमा लगानी सम्मेलन आयोजना गर्ने उनको भनाइ छ । उनले पर्यटन प्रवर्नका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना पनि अघि सारेका छन् ।

पोखरेलले आफ्नो कार्यकालमा संघसँग अन्य देशका चेम्बर अफ कमर्ससँगपनि त्रिपक्षीय सम्बन्ध स्थापना गर्ने, युवा उद्यमी मञ्च (एनवाईईएफ), लेखनाथ उद्योग वाणिज्य संघ, सिएनआई, नेपाल उद्योग वाणिज्य महासंघ, एफएनसिएसआइलगायतका संस्थाहरुसँग प्रभावकारी सहकार्य गर्ने उनले बताए ।

संघको अध्यक्ष पदमा पोखरेलको उमेदवारी घोषणा पहिलो भएपनि अरुको पनि उमेदवारी पर्ने करिव निश्चित छ । संघका हालका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती पनि अध्यक्षको उमेदवारी दिने तयारीमा छन । पोखरेल र प्रजापति मध्ये कसको नेतृत्वमा कस्तो प्यानल बन्नेछ , त्यसले मात्र पोउवासंघको नेतृत्व कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न सकिने अवस्था छ ।

एक महिनापछि पोखरा उद्योग वाणिज्य संघको ३४ औँ अधिवेशन भदौको २४ र २५ गते हुँदैछ । चुनावमा तीन हजार तीनसय भन्दा बढी सदस्यले मत हाल्नेछन् ।

२२ श्रावण २०७९, आईतवार २१:४५ मा प्रकाशित
Nabintech