Play

सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्छ-नेमकिपा

गुरुकुल खबर


पोखरा , नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले दलहरूले गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन् । उनले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गर्दै घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताले मताधिकारको सदुपयोग गर्न पाउने बताए ।

‘घोषणपत्रमा के छ जनता स्वयं पढ्छन्,’ उनले भने, ‘जनतालाई लक्षित कार्यक्रम ल्याइएको रहेछ भने सोही अनुसार मतदान गर्छन् । उनीहरूको मत नेताको लागि निर्देशन हो ।’

उनले नेपालको परिवेशमा घोषणपत्र एउटा र काम अर्को हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘नेताले भोटका लागि घोषणपत्रमा राम्रा कार्यक्रम राख्छन् । सरकारमा गएपछि जनतालाई गरेका बाचा पूरा गर्दैनन् । यसकारण पनि घोषणपत्र पहिल्यै सार्वजानिक हुनुपर्छ । पछि जनताले किन यो काम भएन भनेर प्रश्न गर्न सकुन् ।’

घोषणपत्रकै आधारमा चुनाव लड्नुपर्ने उनको तर्क थियो । घोषणपत्रमा भ्रष्टाचारको विषय नलेख्ने तर, नेताले बढी भ्रष्टाचार गर्ने भन्दै उनले सुशासनका नारा झुटा हुन थालेको बताए ।

उनले सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्ने विषय भएको पनि बताएका थिए । यस्तै नेता बिजुक्छेले एमसीसीको विषयमा पनि विरोध गरेका छन् ।

अमेरिकाले तेस्रो विश्वयुद्ध चाहेको भन्दै नेपाललाई युक्रेन र श्रीलंका बनाउन खोजेको उनको आरोप छ । अमेरिकाले कुनै पनि देशको आर्थिक, राजनीतिक दृष्टिकोणबाट अघि बढाउन नचाहेको पनि बताए ।

२० श्रावण २०७९, शुक्रबार २१:२४ मा प्रकाशित
Nabintech