Play

आगामी मङ्गलबारसम्म देशको अधिकांश भागमा पानी पर्ने

गुरुकुल खबर


पोखरा । आँउदो ३ दिन अर्थात मङ्गलबारसम्म देशको अधिकांश स्थानमा पानी पर्ने भएको छ।
मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् हीरा भट्टराई अनुसार गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ।

विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन,यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनका साथै चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

१५ श्रावण २०७९, आईतवार १२:३२ मा प्रकाशित
Nabintech