Play

गठबन्धन आँउदो निर्वाचनसम्मै रहन्छ : उपसभापति खड्का

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका उपसभापति एवम् पुर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आफ्ना नेता तथा कार्यकर्तालाई जनभावना अनुरुप काम गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसको तर्फबाट विजयी जनप्रतिनिधिहरुको सम्मानार्थ शनिबार पोखरामा आयोजित कार्यक्रममा उपसभापति खड्काले जनतासंग प्रत्यक्ष भेटघाट गरी जनभावना अनुरुपका काम गर्न आग्रह गरेका हुन् ।
जनसरोकारका सवाललाई संवोधन गर्ने नेता नै जनताको लोकप्रिय नेता एवम् पार्टी बन्ने विचार व्यक्त गर्दै उपसभापति खड्काले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

उनले नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दरिता र जिम्मेवारिताका साथ काम कर्तव्य निर्वाह गर्न सुझाव दिदै जनअपेक्षा अनुरुप क्रियाशील बन्न पनि आग्रह गरे ।

मुलुकमा आईपर्ने समस्याका आधारमा राजनीतिक दलहरु एक हुने स्पष्ट पार्ने उपसभापति खड्काले राष्ट्रिय आवश्यकता आधारमा मुलुकका राजनीतिक दलहरु एकताबद्ध हुने बताए ।

साथै उनले प्रतिगमनका विरुद्ध गरिएको गठबन्धन भएकोले पाँच दलिय गठबन्धन अहिलेको आवश्यकता रहेको स्पष्ट पारे । उनले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने समेत बताए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति रामबाबु भण्डारी र सहसचिव नवीन सिग्देललगायतले आशन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा कास्की जिल्ला भरीका स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिहरुलाई बधाई ज्ञापनसंगै सम्मान गरिएको थियो ।

 

 

१५ श्रावण २०७९, आईतवार ००:५० मा प्रकाशित
Nabintech