Play

काँग्रेस पोखरा महानगरको रक्तदानमा ८१ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४० औं स्मृति दिवस विहीबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
यसैक्रममा नेपाली काँग्रेस पोखरा महानगर समितिले पनि विहीबार रक्तदान कार्यक्रमको आयोजना गरी विपीको स्मृति दिवस मनाएको छ ।

नेपाली काँग्रेस कास्की जिल्ला समितिको सहयोग र क्षेत्रीय समितिहरुको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले नेपाली राजनीतिक इतिहासमा विपी कोइराला सबैको जननायक भएको स्मरण गर्दै विपीको चिन्तन र विपी मार्ग अवलम्वनले मात्र हरेकको राजनीतिक यात्राले स्थायित्व प्राप्त गर्ने बताए । विपीको नीति र सिद्धान्तमा कांग्रेस अडिक भएर हिड्न सके सधै पहिलो पार्टी बन्न सक्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्यद्वय शारदा पौडेल र कृष्णकुमारी परियार, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला मधु, नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, क्षेत्र नं २ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, डा. दीपक सुवेदी, महाधिवेशन प्रतिनिधि लक्ष्मी पान्डेलगायतले जनताको समानताकालागि शिक्षा स्वास्थ्यको अवसर हरेक वर्ग र समुदायमा पुर्याउन सक्नु विपीको समाजवादको प्रमुख शर्त रहेको स्मरण गरेका थिए ।

उनीहरुले जननायक विपीको समाजवादमा केन्द्रित रहेर राज्यको हरेक तहमा प्रमुख भुमिका निर्वाह गर्दै जनताको दुखमा साथ दिनु पार्टीको दायित्व भएको बताएका थिए ।

रक्तदान कार्यक्रमका संयोजक तथा नगर कोषाध्यक्ष सम्बरबहादुर श्रेष्ठले पार्टीको नीति र कार्यक्रम जनमुखी हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै विपी स्मृति दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।

नगर प्रवक्ता धनन्जय पौडेलले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विपी कोइरालाको  स्मृतिमा सामाजिक कार्य अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको गुरुकुल खबरलाई बताए ।

नेपाली काँग्रेस पोखरा महानगरका सभापति सुरेन्द्रमान विजुक्छेले कार्यक्रम समापनका अवसरमा बोल्दै लोकतान्त्रिक अभ्यासमा मुलुकको शासन व्यवस्थालाई कायम गर्दै व्यक्तिको स्वतन्त्रताको सम्मान गर्न सक्नु पर्नेमा जोड दिए ।

सभापति विजुक्छेले हुँदा खाने वर्गलाई माथि ल्याउने हिसाबबाट विपीको समाजवादलाई आजको सन्दर्भसँग जोडेर पार्टीको नीति र कार्यक्रमहरु ठोस रुपमा विस्तार गर्दै लग्नु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रमको संचालन गरेका सचिव टुवराज बाँस्तोलाले रक्तदान गरेर जीवनदान गरेकाहरुलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस पोखरा महानगर समितिलाई सहयोग स्वरुप ७० हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर र एक थान प्रिन्टर सभापति सुरेन्द्रमान विजुक्छेलाई हस्तान्तरण गरेका थिए । भने सोही कार्यक्रममा सभापति विजुक्छेले नेपाली काँग्रेस कास्कीका क्रियाशिल सदस्य सन्तबहादुर परियारलाई व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ नगद सहयोग स्वरुप प्रदान गरेका थिए ।

६ श्रावण २०७९, शुक्रबार १७:४८ मा प्रकाशित
Nabintech