Play

पोखरामा सार्वजनिक शौचालय पाउन कठिन, निजीलाई समेत सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने

गुरुकुल खबर


पोखरा । पोखरा घुम्नेहरुको लागि सहजै शौचालय पाउन कठिन छ । शौचालय जानु परे कि त कम्तीमा चिया खाने निहुँले होटल रेष्टुरेन्ट छिर्नु पर्छ, नभए च्यापेरै बस्नुपर्छ । पर्यटकीय नगरी पोखराको यो दुर्दशाको चित्र यहाँ घुमेर फर्किनेहरुले बेलाबेलामा सामाजिक सञ्जालमै टिप्पणी गर्ने गरेका छन् ।

यो समस्याको समाधानका लागि काठमाडौंका मेयर बालेन शाहको सिको पोखराका मेयरले पनि थालेका छन् । त्यसो त राम्रो कामको सिको जोसुकैले पनि गर्नुपर्छ । गठबन्धनको चुनावी घोषणापत्रमा पोखरामा सार्वजनिक शौचालयको टड्कारो आवश्यकता औंल्याएका पोखरा महानगरका मेयर धनराज आचार्यले तत्काल सार्वजनिक शौचालय निर्माण गर्न नसके पनि यहाँका बैंक, वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टका शौचालय सर्वसाधारणको उपयोगका लागि ल्याउने भएका छन् ।

यसको लागि सर्वसाधारणले पैसा तिर्नु पर्दैन । निजी शौचालयलाई समेत सार्वजनिक शौचालयरुपमा निःशुल्क प्रयोगमा ल्याउने गरी महानगरले सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालको नाममा जारी सूचनामा सहरका मुख्य र व्यस्त सडकका इच्छुक व्यक्तिका निजी घर, बैंक वित्तीय संस्था, होटल, रेष्टुरेण्ट लगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वका शौचालय सर्वसाधारणलाई बढीमा १ वर्षका लागि प्रयोग गर्न दिन भनिएको छ ।

यसरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । निवेदन प्राप्त भएपछि सो सम्बन्धमा महानगर र सम्बन्धित क्षेत्रबीच सम्झौता गरिनेछ । त्यसप्रकारका शौचालयमा आवश्यक सरसफाइ एवं सेनिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ ।

महानगर प्रमुख आचार्यले सार्वजनिक रुपमा निःशुल्क उपयोग गर्न दिए बापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवासुविधामा प्राथमिकता दिइने बताए । उनका अनुसार शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेवसाइटमा राखिने छ । सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगोे वा संकेत राख्ने तथा गरी कार्यपालिका बैठकबाट निर्णयसमेत भएको छ ।

सूचना बमोजिम सो कार्यका लागि महानगरले नासु हर्क गायकलाई फोकल पर्सन तोकेको छ । सूचना सार्वजनिकपछि पोखराको सभागृहचोकस्थित मिड टाउन र नयाँ बजारको होण्डा शोरुमले इच्छा देखाइसकेको गायकले जानकारी दिए । उनले भने, ‘पोखरामा तत्काल सार्वजनिक शौचालय बनाउने अवस्था छैन । घुम्ने सर्वसाधारणको लागि अस्थायी प्रयोजनका लागि भए पनि यसप्रकारको योजनाले सहजता हुनेछ ।’ क्षेत्रफल हिसाबले नेपालकै ठूलो महानगर पोखरामा तत्काल सार्वजनिक शौचालय बनाउन जग्गा अभाव भएको महानगरले जनाएको छ ।

पोखरामा हालसम्म ५ वटा मात्र सार्वजनिक शौचालय छन् । ती पनि नियमित सरसफाइ अभावमा मानिस छिर्न नसकिने अवस्था छ । पोखराको महेन्द्रपुल, अमरसिंहचोक, लेकसाइडमा वाराही घाट, स्वीमिङ पुलमा वर्षौदेखि सार्वजनिक शौचालयन संचालित छन् । सहारा क्लब पोखराले पृथ्वीचोकस्थित पुरानो बसपार्कमा सार्वजनिक शौचालय संचालन गरेको छ ।

४६४ वर्ग किमीमा फैलिएको पोखरा महानगरमा कुल ३३ वटा छन् । यहाँको जनसंख्या ४ लाख हो । त्यसबाहेक अस्थायी रुपमा बसोबास गर्नेहरु तथा यहाँ घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक गरी १० लाख रहेको अनुमान छ ।

विजय नेपाल

३ श्रावण २०७९, मंगलवार २२:३४ मा प्रकाशित
Nabintech