Play

कांग्रेसलाई युग सुहाउँदो पार्टी बनाउन केन्द्रीय सदस्य कोइरालाले पेस गरे १३ वुदे योजना 

गुरुकुल खबर


काठमाडौँ ,  सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम र चुनावी तालमेलका विविध विषयमाथि सोमबारदेखि छलफल गरिरहेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले स्थानीय चुनावको समीक्षादेखि गठबन्धन र पार्टीको भावी रणनीतिबारे बोलिरहेका छन् ।

सोमबारदेखि बिहीबारसम्म निरन्तर चलेको बैठक शुक्रबार स्थगित छ, शनिबार फेरि बस्दैछ । बैठकमा सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पनि गठबन्धन गरेर चुनावमा जाने र चुनावपछि कांग्रेस स्थानीय चुनावमै जस्तै पहिलो पार्टी बन्ने बताइरहेका छन् । तर, नेता शेखर कोइराला समूहका नेताहरूलाई त्यसमा भरोसा छैन ।

कोइराला समूहले अन्य दलसँग चुनावी गबठन्धनभन्दा पार्टीभित्रको आन्तरिक एकता र सैद्धान्तिक मत बढाउनुपर्नेमा जोड दिइरहेको छ । कोइराला समूहका नेता दिनेश कोइरालाले त बैठकमा कांग्रेसलाई अहिलेको युग सुहाउँदो पार्टी बनाउनुपर्ने उल्लेख गर्दै १३ बुँदे योजना पेस गरेका छन् ।

उनले सभापति देउवालाई लिखितरुपमै योजना पेस गरेका हुन् । ‘कांग्रेसलाई युग अनुसारको पार्टी बनाउनुपर्छ, कांग्रेसले अतितको गौरव, अनुभव र उपलब्धिहरुमा टेकेर अगाडि बढ्नुपर्छ,’ कोइरालाले भनेका छन्, ‘वर्तमानको जगमा भविष्यलाई लक्षित गरेर नीति, रणनीति तथा कार्यक्रम बनाउनुपर्छ । अब परम्परागत तरिकाले देश चलाउन सकिँदैन ।’

१३ बुँदे योजना

१. भ्रष्टाचार नियन्त्रणलाई कांग्रेसले पहिलो प्राथमिकता दिनुपर्छ । भ्रष्टाचार नियन्त्रणको काम भरे या भोलि होइन, अहिलेबाटै थाल्नुपर्छ । सौभाग्यवश अहिले कांग्रेस नेतृत्वको सरकार छ । यो सरकारले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्नुपर्छ । र, आजै थाल्नुपर्छ ।

२. अहिले नेपालको भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुन प्रभावकारी छैन। भ्रष्टाचार नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र भ्रष्टाचारको प्रकरणलाई कानुनी कठघरामा पुराउने निकाय तथा संयन्त्र प्रभावकारी छैन। यसलाई प्रभावकारी बनाउन तत्काल गम्भीर कदम चालिनुपर्छ ।

३. सर्वप्रथम एउटा उच्चस्तरी अधिकार सम्पन्न आयोग बनाएर राज्यका उच्च तहमा बसेका सबै पदाधिकारीहरुको सम्पत्ति छानविन गरिनुपर्छ । मुलुकलाई भ्रष्टाचार रहित बनाउने हो भने केही दशक यता पदमा बसेका जिवित नेता तथा उच्च अधिकारीहरु सबैको सम्पत्ति छानविन गर्नुपर्छ । त्यस्तो आयोगलाई कानुनी रुपमा बलियो बनाउन संघीय संसद्बाट तत्कालै कानुन बनाइनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि तत्कालै विभिन्न कानुन संशोधन गर्नुपर्छ ।

४. भ्रष्टाचारको छानविन तथा सजायको प्रकृया अत्यन्तै फितलो भएको हुनाले उच्च प्राथमिकता दिई छानविन तथा सजायको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ । राजनीतिक दलका उच्च नेता तथा उच्च पदस्थ कर्मचारीहरुले गर्ने भ्रष्टाचार तथा अख्तियारको दुरुपयोगको छानविन गर्न स्थायी प्रकृतिको बेग्लै उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाइनुपर्छ ।

५. मुलुक अहिले आर्थिक संकटमा छ र आगामी दिनमा संकट बढ्दै जाने खतरा रहेको छ । आर्थिक संकट हल गर्न पेट्रोलियम खपत घटाउनु जरुरी छ। अब सम्पूर्ण सरकारी सवारी साधनहरुमध्ये ५० प्रतिशतलाई मात्र चलाउने व्यवस्था गरियोस् । निश्चत तहभन्दा माथिका कर्मचारी तथा राजनीतिकर्मीहरुलाई सीमित सवारी साधन दिइयोस्, त्यसबाहेकका सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइयोस् ।

६. विद्यमान आर्थिक संकटलाई ध्यानमा राखी राजनीतिक नियुक्तिका सम्पूर्ण पदमा रहेकाहरुको सेवासुविधा कटौति गरियोस् । त्यसैगरी राजनीतिक पदहरुमा रहेकाहरुको सेवा सुविधा कटौती गरेर देशलाई परिरहेको आर्थिक भार घटाइयोस् ।

७. विकास निर्माणका सम्पूर्ण ठेक्कापट्टालाई हेर्ने गरी एक अधिकारसम्पन्न कानुनी आयोग तत्काल गठन गरियोस् ।राज्यकोषबाट हुने विकास निर्माणको ठेक्कामा गरिने ढिलासुस्ती र भ्रष्टाचार सो आयोगले हेर्ने व्यवस्था मिलाइयोस् । विकास निर्माणमा गुणस्तर, ढिलासुस्ती, भ्रष्टाचार आदिमा विशेष कानुनी कारवाही हुने तथा सम्पत्ती जफत हुने कानुनी व्यवस्था गरियोस्

८. अनावश्यक र अव्यवहारिक ठहरिएका सरकारी कार्यालयहरु घटाइयोस् । केन्द्रमा मन्त्रालय तथा विभागहरु एकअर्कामा गाभेर संख्या र खर्च घटाइयोस् ।

९. सम्पूर्ण सरकारी कार्यालयमा जनताका काम तत्काल हुने व्यवस्था मिलाइयोस् । सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र झैझमेला नियन्त्रण गर्न केन्द्र, जिल्ला र गाउँसम्म एक विशेष आयोग बनाइयोस, अनुगमनकारी लुज नेटवर्कको रुपमा रहने त्यस्तो आयोगमा युवा विद्यार्थीलाई प्राथमिकतासाथ राखियोस् ।

१०. पार्टीका कार्यकर्ता तथा सरकारमा रहेका पार्टीका नेताहरु सम्बन्धमा कुनै पनि आर्थिक नैतिक तथा अन्य प्रश्नहरु उठ्नासाथ तत्काल सफाई दिने परिपाटी थालियोस्। अथवा, कारवाहीको दायरामा ल्याएर पार्टी शुद्धिकरणको अभियान थालियोस् ।

११. नेपालको वर्तमान संविधान ने देशको बाटो हो, आधार हो। यो संविधानको रक्षा समस्त नेपालीको परम कर्तव्य हो । नेपाली कांग्रेस यस संविधानको रक्षक बनेर उभिनुपर्छ । कुनै पनि संविधान चीरस्थायी बनाउन त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्छ । वर्तमान संविधानमा सुधार गर्नुपर्ने कैयन महत्वपूर्ण विषय छ ।

जस्तो कि :

क) संघीयताको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिनुपर्छ । अहिले तीन तहको संघीयता छ, यसको व्यवहारिक उपादेयता देखिएन । विद्यमान प्रदेशहरुको औचित्य देखिएन । प्रदेशहरु सेतो हात्ती मात्र ठहरिएका छन् । प्रदेशहरु खारेज गरेर त्यसमा रहेका सम्पूर्ण अधिकारहरु स्थानीय तहमा सार्ने गरी संविधान संशोधन गर्नुपर्छ ।

ख) धर्म सम्बन्धमा नेपालमा लामो समयदेखि विवाद बहस भइरहेको छ । धर्म निरपेक्षताले नेपालको परिवेश र जनताको आकांक्षा सम्बोधन गर्न सकेको छैन । धर्मनिरपेक्षतालाई हटाएर नेपालीहरुका परम्परागत धर्मलाई सम्बोधन गर्ने गरी संवैधानिक व्यवस्था गरिनुपर्छ । धर्म परिवर्तन गराउने कार्यलाई निस्तेज गरिनुपर्छ ।

ग) भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टलाई कारवाही सम्बन्धमा संविधानलाई कठोर बनाइनुपर्छ। संविधान संशोधन गरेर भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकता दिइनुपर्छ ।

घ) नेपालको प्राकृतिक सम्पदा संरक्षण, भूमि वितरण तथा उपयोगका लागि विशेष व्यवस्था गर्न संविधान संशोधन गरिनुपर्छ । भूमिको पूाजीकरण र मौऽीकीकरण बन्द गरी समाजवादी भूमि व्यवस्था लागू गरिनुपर्छ ।

ङ) समावेसीकरण र समानुपातिक प्रणाली नेपालका लागि आवश्यक छ । त्यसैले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितहरुको सभा र राष्ट्रिय सभालाई समानुपातिकबाट निर्वाचितहरुको सभा बनाइनु वाञ्छनीय हुन्छ ।

१२) आचरण र नैतिकताका सबै प्रश्नको जवाफ कानुनले दिन सक्दैन। आचरण र नैतिकता च्युत हुादा सजायका व्यवस्था गर्न एक विशेष संवैधानिक आयोगको व्यवस्था गरिनुपर्छ ।

१३) मुलुकमा जातीय आधारमा गरिएको आरक्षणको व्यवस्थामा कैयन त्रुटी छन् । जातीय आधारमा गरिने आरक्षणलाई क्रमशआर्थिक आधारमा गरिने आरक्षणमा रुपान्तरण गर्दै लैजाने संवैधानिक प्रवन्ध गरिनुपर्छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितीको बैठक २०७९-०३-२७ गते को केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो मन्तब्य राख्ने क्रममा समय अभाव भएकाले आफ्ना विचार लिखित रुपमा प्रस्तुत गरेको छु ।

३२ असार २०७९, शनिबार १६:०२ मा प्रकाशित
Nabintech