Play

काठमाडौं सुन्दर खुल्ला सग्राहलय र साँच्चिकै ‘अलकापुरी कान्तिपुरी नगरी’ बनेको हेर्ने चाहना

गुरुकुल खबर


नारायणप्रसाद पोखरेल

म अचेल काठमाडौंको बासिन्दा बनेको छु । यसैले हुनुपर्छ, मलाई काठमाडौं विश्वकै सुन्दर, सभ्य, सुबिधा सम्पन्न सहर भएको हेर्ने हुटहुटी छ । ऐतिहासिक र पुरातात्विक नगर काठमाडौं सुन्दर खुल्ला सग्राहलय र साँच्चिकै ‘अलकापुरी कान्तिपुरी नगरी’ बनेको हेर्ने चाहना छ ।

काठमाडौंलाई यथार्थमा सुन्दर सांस्कृतिक महानगर बनाउने चाहना, सपना, कार्यक्रम र योजना धेरै जनासँग होलान् । भर्खरै निर्वाचित महानगरका प्रमुखका त झन् पक्कै होलान् । त्यसमा थोरै  भए पनि सहयोग पुगोस् भन्ने मनसायले केही सुझावहरु प्रस्तुत गर्ने जमर्को गरेको छु ।

१. ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाको पुनःस्थापना

हाम्रा मठ, मन्दिर, पाटीपौवा,  सत्तल, भाषा, लिपि आदि हाम्रा पुर्खाका धरोहर हुन् ।  यस्ता जीवन्त धरोहरको उचित सरक्षण र सम्बर्धनले नै हाम्रो पहिचान र प्रतिष्ठा  बढ्ने हो । पशुपति नाथको ऐतिहासिक मन्दिरलगायत सबैजसो मठ, मन्दिर, पाटी, पौवा, हिटीहरू उचित संरक्षण र सम्बर्धनको अभावमा जीर्ण बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका सबै ऐतिहासिक र पुरातात्विक महत्त्वका सबै मठ मन्दिरको उचित  संरक्षण र जगेर्ना गरी सफासुघर बनाउन सके पर्यटकहरुको नेपाल बसाइसमेत लम्याउन सकिन्छ । फलस्वरूप, देशले प्रशस्त आम्दानी पनि गर्न सक्छ ।

२. स्थानीय खानाका परिकारको खोज, संरक्षण, परिमार्जन र बजारीकरण

काठमाडौं उपत्यकालगायत नेपालभित्रका सबै जातजातिले पहिलेदेखि प्रचलनमा ल्याएका सबै प्रकारका खानाका परिकार ‘गल्ली भोजन’ कार्यक्रममा समावेश गरी प्रचारप्रसार गर्न सके नेपाली खानाका परिकारले विश्व बजारमा स्थान पाउन र पर्यटन प्रवर्धनमा योगदान दिन सक्छ । इन्द्रचोकदेखि ठमेल, काठमाडौं दरबार क्षेत्रदेखि नरदेवी क्षेत्र, इन्द्रचोकदेखि ज्याठासम्मका क्षेत्र र ठमेलका भित्री भागमा समेत नेवारीका साथै पूर्वी, पशिचमी, तराई, हिमाली क्षेत्रका विभिन्न परिकार भोजन गल्लीमा उपलब्ध गराउन सकिन्छ । परम्परागत खानाका परिकार  र नेपाली हस्तकलाका समानहरु विक्रि गर्ने व्यवस्था गर्न सके पर्यटकको बसाइ लम्याउन र रोजगारी सिर्जनासमेत गर्न सकिनेछ । यही क्रममा सबै नेपाली खानाका परिकारहरुको अभिलेख र आवश्यक तालिमको व्यवस्था गर्न सकिन्छ ।

३. महानगर भित्रका निजी घर, सरकारी र व्यावसायिक भवन, मन्दिर, गुम्बा निर्माणमा एकरुपता ।
युरोप, अमेरिका,  चीन, भारत, जापान, भुटान, कोरिया प्रायः सबै देशमा क्षेत्र क्षेत्र तोकेर एउटा निश्चित नियमका आधारमा मात्र घर, व्यावसायिक तथा व्यापारिक भवन निर्माण गरिएको देखिन्छ । एउटै ठाउँमा आठ तल्ला र  एक तल्ले घरको निर्माण भएको नेपालबाहेक अन्य  मुलुकमा बिरलै देख्न पाइएला ।
परम्परागत वाास्तुकला र शैली समेतको प्रयोग गरेर जमिनको क्षेत्रफल, फैलावट आदिसमेत मिलाएर प्रत्येक फरक क्षेत्रफलको लागि विभिन्न प्रकारका नक्साको डिजाइन महानगर आफैँले बनाएर वेबसाइटमा राखिदिने र कसैले उक्त नक्सामा कुनै पनि प्रकारको परिवर्तन नगरी बनाउन चाहेमा अनलाइनबाटै दस्तुर तिरेर नक्साा पास हुने व्यवस्था गर्नुपर्छ । यति गर्न सके भवन निर्माणमा एकरुपता हुने र ऐतिहासिक र सांस्कृतिक कान्तिपुरी नगरीसहित काठमाडौं उपत्यका साँच्चिकै खुला सडग्राहलय बन्न सक्नेछ ।
४. स्थानीय , पशुपक्षी , चराचुरुङ्गीको संरक्षण र जगेर्ना 
आजभोलि हाम्रो आकाशमा कतिपय रैथाने चराचुरुङ्गी देखिँदैनन् । कतिपय लोपोन्मुख अवस्थामा छन् । यसको कारण मानिस नै हुन् । धर्तीको कुनै पनि चराचर जीवको अस्तित्व संकटमा पर्दा मानवीय अस्तित्व पनि संकटमा पर्छ भन्ने यथार्थ हामी सबैले बुम्mनु जरुरी छ । परेवादेखि गिद्धसम्मका चरा जोगाउन उनीहरूलाई अनुकूल हुने रुख रोप्नेलगायतका काममा महानगरले युवालाई प्रोत्साहन र परिचालन गर्न सक्छ  ।

५. प्रचलित, लोपोन्मुख वा लोप भइसकेका चाडपर्व, परम्परा, चलन, लोक भाका, लोक बाजा आदिको खोज र संरक्षण 
काठमाडौं महानगरभित्र नेपालका सबै जातजाति, भाषाभाषी जनसंख्याको बसोवास छ । नेवार जाति बहुल काठमाडौंले अहिले सिंगो नेपालकै प्रतिनिधित्व गर्छ । यसैले महानगरभित्र बसोवास गर्ने विभिन्न जातिका चलनमा रहेका, लोप भइसकेका, लोपोन्मुख रहेका चाडपर्व, परम्परा, प्रथा, लोक भाका, लोक बाजा आदिको खोज, संरक्षण र अभिलेखनलाई अभियानको रुपमा अगाडि बढाउन जरुरी छ । यस्तो संग्रहालय निर्माण गर्न  सके नेपालका सबै जातजातिको संस्कृति, रीतिरिवाज, भाषा, धर्म,  लिपि आदिको संरक्षण हुनेछ । अर्कोतर्फ पर्यटकको बसाइ पनि लम्याउन सकिनेछ ।

६. नक्सा पास, सम्पत्ति कर, बहाल कर आदि घरबाटै बुझाउन सकिनेगरी सेवामा सरलीकरण 
उपलब्ध प्रविधिलाई जनसेवासँग जोडेर महानगरको केन्द्रीय कार्यालयलगायत सबै वडा कार्यालयहरुबाट समेत  जनसरोकारका सबै सेवाहरु जस्तै नक्सा पास, सम्पत्ति कर  तथा  बहाल कर भुक्तानी, जन्म र विवाह दर्ता, विभिन्न सिफारिसहरु आदि घरबाटै लिन सकिने गरी सरलीकरण अभियान थालनी गर्न जरुरी छ ।
७. पर्यटकलाई काठमाडौंको उत्पति, विकास र सभ्यतासम्बन्धी सांस्कृतिक, ऐतिहासिक जानकारी दिने श्रव्यदृश्य सामग्रीको व्यवस्था 
पर्यटकलाई आफू मुलुकको सभ्यता, जनजीवन र इतिहास जान्ने इच्छा हुन्छ । चीन, भारतलगायत विश्वका प्रायः सबै मुलुकले श्रव्यदृश्यको माध्यमबाट देशको उत्पत्तिदेखि आधुनिक युगसम्मको इतिहास पर्यटकलाई देखाउने गर्छन् ।
भारतको नयाँ दिल्ली, चीनको कुनमिङ्गलगायत सहरमा मैले यस्ता कार्यक्रमहरु हेर्ने मौका पाएको थिएँ ।  यस्ता कार्यक्रमप्रति पर्यटकहरुले निकै चासो लिने र धेरै पहिले नै बुक हुनेगरेको हुन्छ । हाम्रो जस्तो जीवन्त इतिहास, सभ्यता, संस्कृति भएको मुलुकहरु विश्वमा बिरलै छन् । हामीले प्रविधिको प्रयोगबाट काठमाडौं उपत्यकाको पानी महामञ्जुश्रीले निकालेको समयदेखिको इतिहास  र नेपालको  टिस्टा, काँगडासम्मको इतिहास समेटेर श्रव्यदृश्य कार्यक्रममार्फत काठमाडौं दरबार क्षेत्रमा देखाउन सक्ने हो भने पर्यटन विकासमा सहयोग पुग्नुका साथै महानगरलाई आम्दानी पनि हुनेछ ।

८. प्रत्येक २ किलोमिटरमा कम्तीमा एउट निशुल्क शौचालय 
सभ्य मुलुकको चिनारी फलफूल, तरकारी र माछामासु बेच्ने स्थान र सार्वजनिक  शौचालयको अवस्थाले दिन्छ । हाम्रो सार्वजनिक शौचालयको अवस्था कस्तो छ भनिरहनु पर्दैन । आजभन्दा करिब ३२ वर्षअगाडि काठमाडौं आउँदा सुन्धारामा शौचालय र स्नान गृह निःशुल्क प्रयोग गरेको अनुभव छ । आज अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको फोहोर शौचालय प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । काठमाडौं महानगरभित्र प्रत्येक २ कीमीमा एउटा सुविधा सम्पन्न सफा शौचालय हुनु जरुरी छ । पेटोल पम्प र रेस्टुराँमा सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन महानगरपालिकाले अनुरोध गर्ने निर्णय गर्नु स्वागत योग्य हो ।  वडा कार्यालय तथा अन्य सरकारी कार्यलयहरुमा व्यववस्थित स्नानघरसहितको सुविधा उपलब्ध गराउने विकल्पतर्फ समेत सोच्नु उचित हुनेछ ।

९. खाल्टाखुल्टि र धुलो रहित सडक र  सुविधा युक्त पेटीमा पैदल बाटोको व्यवस्था 
जताततै खाल्टाखुल्टी, धुलो, धुवाँ, सडकका पेटी ढाक्ने गरी राखिएका निर्माण सामग्री आदिले असुविधा र जनस्वास्थ समस्या त बढेको छ नै नेपाल भ्रमण गर्न आउने पर्यटकसमेत सास्ती र समस्या सहन बाध्य भएका छन् । काठमाडौं महानगरको गरिमा र प्रतिष्ठाको लागि पनि महानगरभित्रका सडकका खाल्टाखुल्टी मेटाउन, सडकलाई धुलो रहित बनाउन र  सुविधायुक्त पैदल बाटोको व्यवस्था हुनु जरुरी छ ।
१०, उपत्यकाको ‘हप अन हप अफ’ दृश्यावलोकन सेवा 
पर्यटकीय नगरहरुमा ‘हप अन हप अफ’ शैलीमा दृश्यावलोकन गराइने प्रचलन हुन्छ । निश्चित रुटमा सुविधा सम्पन्न सवारी साधनद्वारा पर्यटकलाई मन लागेका ठाउँमा उत्रने र चड्ने सुविधा दिने प्रणालीलाई ‘हप अन हप अफ’ भनिन्छ । यस प्रकारको सेवा पर्यटन मन्त्रालय या महानगरपालिकाहरुले सञ्चालन गर्छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाभित्रका प्राकृतिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका दर्शनीय स्थलहरु, संग्रहालयहरु र विश्व सम्पदा सूचीमा रहेका स्थलसमेत समेटेर यस प्रकारको  सेवा सञ्चालन गरे सबै दर्शनीय स्थलको प्रचार प्रसार र पर्यटन आगमनमा वृद्धि हुन्छ ।

११. ऐतिहासिक र पुरातात्विक महत्त्वका क्षेत्रहरुको प्रचारप्रसार 

महानगर क्षेत्रभित्रका महत्त्वपूर्ण दर्शनीय स्थलहरुको समुचित प्रचारप्रसार हुनुपर्छ । यस्ता कार्यबाट पर्यटकहरुको बसाइ लम्मिनेछ । यसर्थ महानगरभित्र यात्रु प्रतीक्षालय क्षेत्र तथा अन्य महत्त्वपूर्ण क्षेत्रहरुमा स्थानीय दर्शनीय स्थलहरुको जानकारी र प्रचारप्रसार  गर्नुपर्छ ।

१२, सडक छेउमा रहेका पोल तार र होर्डिड बोर्डहरुको उचित नियमन र  व्यवस्थापन । 
विभिन्न टेलिभिजन तथा अन्य अनलाइन सेवा प्रदायकहरुले पोलहरुमा विज्ञापनको लागि होर्डिङ बोर्डहरु झुन्डयाएका कारण महानगर कुरुप भएको छ । हार्डिड बोर्डहरु र पोलहरुमा झुन्डयाइएका तारहरुको उचित व्यवस्थापन जरुरी छ । महानगरले व्यावसायिक चिनारी र विज्ञापन, होर्डिङ बोर्डसम्बन्धी डिजाइनसहितको नीति बनाएर वेबसाइटमा राख्ने हो भने सबैले सोही डिजाइन प्रयोग गरेर विज्ञापन गर्नेछन् । त्यसैगरी केबलमार्फत सेवा सञ्चालन गर्ने व्यवसायीलाई पनि निश्चित नीति नियमको आधारमा महानगरको सुन्दरता नबिगार्ने गरी सेवा सञ्चालन गर्न लगाउन सकिनेछ ।

१३. फलफूल तथा  वृक्षारोपण अभियान 
काठमाडौं उपत्यकाको माटो, हावापानीमा छिटो हुर्कन र बढ्न सकने फलफूल तथा अन्य रुखका बिरुवाहरु सडकको किनार, सडकको बीचका बगैँचा, खुला क्षेत्र, व्यक्तिगत घरआँगन आदि सबै ठाउँमा वृक्षारोपण अभियान अगाडि बढाउन जरुरी देखिन्छ । खुला क्षेत्रमा वरपिपलका चौतारा बनाउँदा सांस्कृतिक परम्पराको सरक्षणमा सहयोग पुग्नुका साथै महानगर वासीको स्वस्थमा पनि राम्रो प्रभाव पर्नेछ । बर, पिपल, सिमल, समीजस्ता ठूला रुख चराचुरुङ्गीको उत्तम वासस्थान हुन्छन् भने परम्परागत रैथाने रुखले पर्यावरण जोगाउनसमेत महत्त्वपूर्ण योगदान दिन्छन । एभोकाडो, लप्सी, ओखर, भोगटे जातका फलफूलका रुखहरु काठमाडौं उपत्यकामा मौलाएको देखिन्छ ।

१४, सरसफाइ महाअभियान थालनी 
प्लास्टिकका झोलाको प्रयोगमा पूर्णरुपमा बन्द गर्ने वातावरण बनाउन सकिन्छ । जनतालाई जानकार र उत्प्रेरित गर्न सके एउटा टुक्रा फोहोर पनि बाहिर नफाल्ने वातावरण बन्न सक्छ । कसैले प्लास्टिकका झोला प्रयोग गरे, फोहोर फाले जनता आफैँले सम्झाउन, निरुत्साहित गर्ने र नभए उजुरीसमेत गर्ने वातावरण बन्नसक्छ । यसको सुुरु टोल टोलमा स्वयंसेवी युवा अभियान समिति गठन गरेर, टोलबासीलाई नै जिम्मेवार बनाएर हुन सक्छ । महानगरवासीलाई आआफ्नो, घरकम्पाउण्ड, टोल, वडा सफा राख्न र वरपरको वातावरणप्रति इमानदार बनाउन सके फोहोर फाल्ने वा प्लास्टिकको प्रयोग गर्ने कार्य हुन्छ कि भनेर चिन्ता लिनु पर्दैन ।

१५. भ्रष्टाचारप्रति शून्य सहनशिलता, पारदर्शिता र मितव्ययिता 

काठमाडौं महानगरभित्र सबै प्रकारका अनियमितता र भ्रष्टाचारलाई  जरैदेखि उखेलेर फाल्न कामकाजमा  पारदर्शिता अपरिहार्य हुन्छ । जति पनि भ्रस्टाचार हुन्छ प्रायः आपसी मिलोमतोमा गुपचुप तवरले हुने गरेको पाइन्छ । सबै प्रकारका निर्माण, खरिद आदिको बोलपत्र आह्वान गर्दा सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गर्ने र प्राप्त बोलपत्रहरु खोल्दा प्रविधिको प्रयोग गरी  पारदर्शी बनाउन सके भ्रष्टाचार र अनियमितता कम हुँदै जानेछ ।

१६. दक्षता अभिवृद्धि तालिम 
विकसित मुलुकहरुको दक्षता र कौशल बढाउन तालिमको माध्यम अपनाएका हुन्छन् । हाम्रोजस्तो किताबी ज्ञानमा आधारित शिक्षा प्रणाली भएको मुलुकका लागि त तालिमको अझ बढी महत्त्व हुन्छ ।
विकसित मुलुकहरुमा त राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै तहका पदाधिकारी, प्रशासक, सहायक कर्मचारीसमेतका लागि छुट्टाछट्टै तालिम पुस्तिका हुन्छ र पदभार ग्रहण गर्नु अगावै तदनुरुप तालिम लिनुपर्ने प्रचलन छ ।
महानगरपालिकाले जनप्रतिनिधि, सबै तहका कर्मचारी, नगर प्रहरी आदि सबैका लागि छुट्टाछुट्टै तालिम पुस्तिकाको व्यवस्था गरी सोहीबमोजिम तालिमको प्रबन्ध मिलाउनु जरुरी छ ।

यी केही सामान्य सुझाव हुन् । विकसित सहरहरूमा जस्तै काठमाडौंमा पनि महानगरपालिकाले नगरवासीसँग यहाँको उन्नति, प्रगति र करका सम्बन्धमा सुझाव माग्न र छलफल गर्ने अभ्यास थालनी गर्नुपर्छ ।
महानगरपालिका सञ्चालनमा नयाँ र उन्नत अभ्यास सुरु भएमात्र काठमाडौंको कायापलट हुनेछ । काठमाडौं सडकदेखि सार्वजनिक स्थानहरुमा परिवर्तन देखिएमात्र निर्वाचनमा जनताले स्वतन्त्र युवालाई महानगरको प्रमुखमा जिताएको सार्थक हुन्छ ।

३१ असार २०७९, शुक्रबार ११:३५ मा प्रकाशित
Nabintech