Play

विभिन्न अवार्ड सहित “पोखरा स्पोर्टस अवार्ड २०७८” सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको छैटौं पोखरा स्पोर्टस अवार्ड शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट नेपालको बक्सिङ खेलमा लामो योगदान दिएका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई सम्मानित भएका छन् ।

वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड दिपक परियारले प्राप्त गरेका छन् । उनले अवार्ड संगै नगद ३५ हजार प्राप्त गरेका छन् ।

यसैगरी पोखरा स्पोर्टस अवार्ड २०७८ मा वर्ष गण्डकी उत्कृष्ट पुरुष खेलाडीतर्फ प्रदिप खड्का र महिला तर्फ अरुणा शाही घोषित भएका छन् ।

टेनिसका प्रदिप खड्काले मनोनयनमा परेका आफ्ना दुई प्रतिष्पर्धी सितेरियो कराँतेका वुद्ध लामा र व्याडमिन्टनका विधान अधिकारीलाई पछि पार्दै वर्ष उत्कृष्ट हात पारेका हुन् । उनले ट्रफी संगै २ लाख १० हजार पर्ने इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरे ।

महिलातर्फ नेपाली महिला टिमकी टिम कप्तान समेत रहेकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भइन् । उनले आफ्ना दुई प्रतिष्पर्धी क्रिकेटकी मनिषा उपाध्यय र करातेकी सरगम कुमाललाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले अवार्ड संगै २ लाख १० हजार पर्ने इलेक्ट्रिकल स्कुटर हातपार्न सफल भएकी छन् ।

अरुणा दोस्रो स्पोर्टस अवार्डकी समेत उत्कृष्ट खेलाडी हुन् । उनको यो उपाधि दोस्रो हो । दुई पटक स्पोर्टस अवार्ड हात पार्ने उनी पहिलो खेलाडी समेत बनेकी छन् ।

अवार्ड अन्तर्गत नै उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका निरज थापाले हात पारे । उनले अवार्ड संगै नगद ३५ हजार नगद प्राप्त गरे भने उदियमान खेलाडीको उपाधि टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गर्न सफल भए । दर्शिलले अवार्डका साथमा नगद ३५ हजार हात पारे ।

यसै गरी उत्कृष्ट खेल संघको रुपमा गण्डकी प्रदेश तेक्वान्दो संघ घोषित भएको छ ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली लगायतले अवार्ड तथा नगद वितरण गरेका थिए ।

१९ असार २०७९, आईतवार १९:०० मा प्रकाशित
Nabintech