Play

पोखरामा राप्रपाको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई १९ बुंदे माग सहितको ज्ञापनपत्र

गुरुकुल खबर


पोखरा, विभिन्न १९ बुंदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था रनेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सम्मका माग राख्दै पार्टीले विरोध जनाएको हो ।

सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्रसमेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ । त्यो सँगै शिक्षा स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ ।

१९ बुंदे मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै देशभरी भत्काईएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् । त्यसैगरि पार्टीले एक घर एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ । पार्टीले दोहोरो करको खारेजीसँगै राज्यले सिमाक्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने बताएको छ ।

‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौँ । र, हाम्रो माग पुरा नभएको खण्डमा अझै बढि सशक्त रुपमा यो आन्दोलन चर्किदै जान्छ ।’ राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने–‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्रभने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’ अर्को सन्दर्भमा गुरुङले नेपाली भूमीमा अमेरिकी सेनाको प्रवेश हुनेगरि सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भएको खण्डमा राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।

बुधबार भएको विरोध प्रदर्शन ¥याली सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालय सम्म पुगेर टुंगिएको थियो । ¥यालीमा सहभागीहरुले हिन्दु धर्म झल्कने खालका पहिरन लगाउनुका साथै शङ्ख, घण्टी र बाजागाजासहितप्रदर्शन गरेका थिए । ‘देशव्यापी रुपमा पार्टीले घोषणा गरेको विरोध कार्यक्रम अन्तरगत नै पोखरामा बुधबार हामीले यो प्रदर्शनसँगै प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका हौँ ।’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने–‘मागहरु सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । तर सरकारको रवैया हेर्दा त्यस्तो देखिँदैन । यदि त्यसो नभएको खण्डमा चरणबद्ध रुपमा हामीले अझै बढि दबाबमुलक आन्दोलन गर्नेछौँ ।’

 

३ असार २०७९, शुक्रबार ०७:१६ मा प्रकाशित
Nabintech