Play

पोखरामा कम्युनिस्टको गढमा कांग्रेसको शानदार जित, कांग्रेसको केही प्रभाव क्षेत्रमा भने एमाले बिजयी

गुरुकुल खबर


पोखरा महानगरपालिकामा कम्युनिस्टको किल्ला र गढ भनेर चिनिने विभिन्न वडाहरुमा यस पटक नेपाली कांग्रेसले शानदार बिजय प्राप्त गरेको छ । कम्युनिस्टको किल्ला भत्काउन सफल भएको कांग्रेसले आंफ्नो प्रभाव क्षेत्र मानिने केही वडामा भने नसोचेको पराजय भोग्नुपरेको छ ।

हाल सम्म पोखरा महानगरको वडा नं २,३,४,७,९, १०,१२,१३,१४, १६,२३, २४,२५,२६,२७, २८ र ३० गरि १७ वटा वडामा बिजय प्राप्त गरेको छ भने वडा नं ११ मा विजय निश्चित भैसकेपनि मत गणना जारी छ ।

यसै गरि हाल मत गणना भैरहेका वडाहरु १८ , १९ , ३१, ३२ र ३३ मा पनि नेपाली कांग्रेसले जित्ने संभावना रहेको छ । यसरी अनुमान गरिए अनुसारका वडामा कांग्रेस बिजयी भएमा ३३ वडा मध्ये २३ वडामा नेपाली कांग्रेसका वडाध्यक्षहरु रहने देखिन्छ ।

नेपाली कांग्रेसले जित्ने अनुमान गरेका वडा नं १, ६ ,८ र १५ मा भने नेकपा एमाले बिजयी भएको छ । एमालेले उल्लिखित ४ वडा सहित विगत देखि आंफ्नो प्रभाव क्षेत्र मानिएका वडा नं ५ ,२० र २९ मा पनि जितिसकेको छ भने वडा नं २१ र २२ मा जित्ने करिव निश्चित जस्तै छ ।

वडा नं १७ को मत गणना जारी रहेको र नेकपा एमालेले अग्रता लिईरहेको भएपनि नेपाली कांग्रेस संग कड़ा प्रतिष्पर्धा भैरहेको छ ।

यस अगाडीको अवस्था हेर्ने हो भने पोखरा महानगरको वडा नं १६ बाटुलेचोर र अर्मला क्षेत्र पर्छ । त्यो वडा कम्युनिस्टहरुको गढ़ भनेर चिनिन्थ्यो । एमालेका नेता सोमनाथ अधिकारी प्यासी र एमालेका नेता एवं हाल महानगरको मेयर पदका उमेदवार कृष्ण थापाको आंफ्नो वडा पनि हो ।

सबै जसो चुनावमा फराकिलो मतान्तरले कम्युनिस्टले जित्दै आएको त्यस वडामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उमेदवार पदम सिंह गुरुडं करिव २ सय मतले पराजित भएका थिएं तर त्यस पछि भएको संसदीय उप निर्वाचनमा कांग्रेसका उमेदवार १ हज़ार भन्दा बढ़ी मतान्तरमा पराजित हुन पुगेका थिए ।

यस पटकको स्थानीय निर्वाचनमा भने कांग्रेसले त्यस वडामा वडाध्यक्ष पद जितेको छ । ४ दशक भन्दा बढ़ी समय सम्म कम्युनिस्टको गढ़ भनिने बाटुलेचौर , अर्मला क्षेत्रबाट कांग्रेसका अमृत शर्मा तिमिल्सीना बिजयी हुनुलाई कांग्रेसले गर्वको रुपमा लिएको छ ।

यसै गरि कम्युनिस्टको गढ़ मानिने पोखरा महानगरको वडा नं २५ मा पनि यस पटक कांग्रेसले जितेको छ । कांग्रेसका वडाध्यक्षका उमेदवार मोतिराज तिमिल्सीनाले कम्युनिस्टहरुको मन जितेर चुनावमा समेत बिजयी भए ।

त्यस वडामा २०४९ सालको निर्वाचनमा कांग्रेसका रामचन्द्र त्रिपाठीले मात्र चुनाव जितेको थिए । उनि त्यस वडा अर्थात् तत्कालीन हेम्जा गाविसको अध्यक्ष बनेका थिएं त्यसपछि कांग्रेसका कुनै पनि उमेदवारले त्यस वडामा जित्न सकेको थिएनन् ।

कम्युनिस्टको गढ़ मानिने कास्कीकोट पनि यस पटक भत्किन पुग्यो । पोखरा महानगरको वडा नं २४ रहेको त्यस क्षेत्रमा कम्युनिस्टहरुले यस अगाडीका सबै जसो चुनावमा आंफ्नो प्रभाव देखाउंदै आएका थिए ।

यस अगाडी २०७४ को निर्वाचनमा करिव २ सय मतले कम्युनिस्ट अर्थात् नेकपा एमालेका ओम सुबेदीले वडाध्यक्ष जितेको त्यस वडामा यस पटक कांग्रेसका भरत बहादुर अधिकारी बिजयी भएर कम्युनिस्ट गढ़ तोड्न सफल भए ।

यसै गरि वडा नं ७ मासवार क्षेत्र पनि कम्युनिस्ट गढ मानिन्थ्यो । त्यस वडाबाट पनि कांग्रेसले जित्न नसकेको ४ दशक बढी बितेको छ । अघिल्लो स्थानीय निर्वाचनमा १ सय बढ़ी मतले नेपाल कम्युनिस्ट पार्टी एमालेले जितेको वडा यस पटक भने कांग्रेसका राम मोहन आचार्यले १ सय मतकै अन्तरमा वडाध्यक्ष जित्न सफल भए ।

वडा नं ७ नेकपा एमालेका नेता तेज नारायण अधिकारी सहितका नेताहरुको वडा हो ।

कम्युनिस्ट अर्थात् नेकपा एमालेको गढ मानिने यि सबै वडामा कांग्रेसले वडाध्षक्ष मात्र जितेको छ । वडा सदस्यहरु भने नेकपा एमालेका उमेदवार बिजयी भएका छन ।

यस पटक कांग्रेसले वडा नं १३ , १४ , २६, २८ , ३० मा वडाध्यक्ष जित्नुलाई पनि एमालेको पकड़ खुस्किएको रुपमा लिन सकिन्छ ।

वडा नं १३ मा यस अगाडी एमालेका दर्शन लामाले १ हज़ार भन्दा बढ़ी मतान्तरमा कांग्रेसका बजिरमान श्रेष्ठलाई पराजित गरेकोमा अहिले त्यसको उल्टो कांग्रेसका किरण बरालले एमालेका बसन्त बराललाई ७ सय बढी मतले पराजित गर्न सफल भए ।

नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुड्को समेत प्रभाव क्षेत्र मानिने त्यस वडा एमाले जिल्ला नेता दर्शन लामाको आफ्ना वडा हो ।

वडा नं १४ विगतमा राप्रपाको र त्यस पछि एमालेको क्षेत्र मानिन्थ्यो । तत्कालीन राप्रपाका नेताहरु क्षेत्र बहादुर केसी र भीमसेन थापा समेतले २०५४ मा जितेको त्यस क्षेत्रबाट कांग्रेसले भने पहिलो पटक जित्न सकेको हो ।

यस पटक कांग्रेसका बोधराज कार्की वडाध्यक्षमा १ हज़ार ५ सय भन्दा बढ़ी फराकिलो मतान्तरमा निर्वाचित हुन सफल भएका छन।

वडा नं २६ कांग्रेस नेताहरुको वडा रहेपनि अघिल्लो निर्वाचनमा कांग्रेस नराम्रो संग पराजित भएको थियो । कांग्रेसका मुरारी शर्मा फराकिलो मतान्तरमा हारेको त्यस वडाको वडाध्यक्षमा कांग्रेसकै नरेन्द्र थापा लोकप्रिय मत सहित बिजयी बन्न सफल रहे ।

पोखराको वडा नं २८ पनि कम्युनिस्टको गढ मानिने क्षेत्र हो । साविक कालिका गाविस रहेको त्यस वडामा पनि पहिलो पटक कांग्रेस बिजयी बनेको हो । वडा नं २८ पोखराका निवर्तमान मेयर मान बहादुर जिसी र एमालेका नेता एवं कास्की जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीको वडा समेत हो ।

कांग्रेसले मत गणनामा अग्रता लिएको वडा नं ३१ पनि कम्युनिस्ट गढ मानिन्छ । एमाले नेता एवं पुर्व मन्त्री खगराज अधिकारीको वडाको रुपमा चिनिने बेगनास लगायतको क्षेत्र रहेकोमा पहिलो पटक कांग्रेसका वडाध्यक्ष ढकनाथ कंडेल बिजयको नजिक पुगेका छन् ।

यता कांग्रेसको प्रभावमा रहेका भनिने केही वडामा भने  एमालेले बिजय प्राप्त गरेको छ । वडा नं १ संबिधान सभा सदस्य शारदा पौडेल , पोखराका पूर्व मेयर भोला थापा र कांगेसबाट तत्कालीन अवस्थामा पोखराको उपप्रधानपंच जितेका तिर्य श्रेष्ठ लगायतको वडा हो ।

त्यस वडाबाट कांग्रेसको वडाध्यक्ष उमेदवार बनेकी सीता गुरुड्ले जित्ने अपेक्षा गरिएपनि नतिजा भने एमालेका शहारा प्रधानको पक्षमा गएको हो । त्यस वडामा नेवार बस्ती समेत छ र अधिकांश नेवार हरु भने कांग्रेस समर्थक मानिन्छन ।

वडा नं ६ यस अगाडी कांग्रेसका जगत बहादुर पहारीले जितेको वडा हो । पोखराको लेकसाईड क्षेत्र रहेको त्यस वडामा यस पटक पनि पहारीलाई नै कांग्रेसले उमेदवार बनाएको थियो तर एमालेका बिष्णु बहादुर भट्टराईले चुनाव जित्न सफल भए ।

सोही वडामा नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा कांग्रेस प्रवेश गरेर कांग्रेसको प्रदेश प्रतिनिधि बनेका गणेश बहादुर भट्टराई र महाधिवेशन प्रतिनिधि हिरा भट्टराई लगायत बस्छन । गणेश भट्टराई कांग्रेस बाट पोखराको मेयरको आकांक्षी पनि थिए ।

एमालेले सोही भट्टराई परिवार बाट विष्णु भट्टराईलाई उमेदवार बनाएकोमा उनले वडास्तरीय गठबन्धनका साझा उमेदवार कांग्रेसका जगत बहादुर पहारीलाई पराजित गर्न सफल भए । एमाले नेता एवं प्रदेश सांसद राजिव पहारी , ई भरत पहारी लगायतका एमाले नेता सोही वडाका हुन ।

वडा नं ८ सिमलचौर, न्युरोड क्षेत्रलाई कांग्रेसको क्षेत्र मानिन्छ । बिगतका निर्वाचनमा कांग्रेसले जित्दै आएको त्यस वडामा २०७४ को निर्वाचनमा भने कांग्रेसको अन्तर्द्वन्द्वका कारण झिनो मतान्तरमा कांग्रेसकी शारदा गिरिलाई हराएर रुद्रनाथ बराल वडाध्यक्ष बनेका थिए ।

यस पटक पनि दुबै जना उमेदवार दोहोरिएर प्रतिष्पर्धा गरेकोमा बरालले दोश्रो पटक चुनाव जित्ने मौक़ा पाएका हुन । त्यस वडा नेपाली कांग्रेसका महासमिति सदस्यहरु शोभियत बहादुर अधिकारी , देवराज चालीसे , विरेन्द्र नारायण बिजुक्छे , प्रदेश सरकारका मन्त्री बिन्दु कुमार थापा समेतको वडा हो ।

यसै गरि कांग्रेस नेता महादेव गुरुड बसोबास गर्ने वडा नं १५ मा पनि कांग्रेस हारेको छ ।

वडा नं १७, १९ , २१ पनि कम्युनिस्टको गढको रुपमा चिनिन्छन तर यस पटकको चुनावमा १७ मा कांग्रेस र एमालेको बिचमा कडा प्रतिष्पर्धा देखिएको छ भने १९ मा भैरहेको मतगणनामा कांग्रेसले अग्रता लिईरहेको छ ।

२१ मा भने कांग्रेसले नेकपा एसका उमेदवारलाई समर्थन गरेको छ । त्यस वडामा एमालेले करिव २ हजारको मतान्तरमा चुनाव जित्दै आएको थियो । वडा नं ३३ मा पनि यस पटक प्रतिस्पर्धा कड़ा छ ।

यस अगाडी सबै जसो निर्वाचनमा एमालेले जित्दै आएको पोखरा १९ वडामा पनि यस पटक कांग्रेसले जित्ने सम्भावना छ । अघिल्लो निर्वाचनमा ५२२ मतले पराजित कांग्रेसका पुष्पेन्द्र पाण्डे दोश्रो पटक पनि वडाध्यक्षको प्रतिस्पर्धाओं रहेकोमा मत गणनामा उनको अग्रता छ ।

त्यो वडा नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएर पनि तत्काल टिकट खोसिएका दिपक पौडेलको वार्ड हो । पौडेलको सट्टा कृष्ण थापालाई एमालेले मेयरको उमेदवार बनाएको छ ।

८ जेष्ठ २०७९, आईतवार २३:३० मा प्रकाशित
Nabintech