Play

पोखरा -९ मा कांग्रेसका दिपेन्द्र मर्सानीको टिम लोकप्रिय मत सहित विजयी

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसले आँफ्नो विगतको विरासतलाई जोगाउदै पोखरा महानगरपालिका वडा नं ९ मा लोकप्रिय मतका साथ विजय प्राप्त गरेको छ ।

नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका दिपेन्द्र मर्सानी सहितको टिम लोकप्रिय मतका साथ विजयी बनेको हो । गएराती भएको मतगणनाको परिणाम अनुसार वडाध्यक्षमा विजयी नेपाली कांग्रेसका उम्मेदवार मर्सानीले १ हज़ार ५ सय ७४ मत प्राप्त गरें भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम गुरुङले ८ सय ५५ मत मात्र प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३७८ र राप्रपाका उम्मेदवारले २१६ मत प्राप्त गरेका थिए ।

उक्त वडामा नेपाली कांग्रेसको उमेदवार मर्सानीलाई आँफ्नै पार्टीका केही स्थानीय नेताले असहयोग गरिरहेको चर्चा सुनिएपनि मर्सानीको टिमले ठुलो मतान्तरमा चुनाव जित्न सफल भएको हो ।

नेपाली कांग्रेस वडा कार्य समितिका सभापति शिवराज बाँस्तोलाका अनुसार पार्टीको १४ औं महाधिवेशन पछि वडाको संगठन सुदृढ़ गर्ने अभियान सफल भएको कारण अहिलेको नतिजा प्राप्त भएको बताउँछन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा १९२ मतले मात्र कांग्रेस विजयी भएको तर संघीय संसदको लागि २०७६ मा भएको उपचुनावमा ३७२ मतले कांग्रेस पछाडी परेको वडामा यस पटक लोकप्रिय मतका साथ चुनाव जित्न सफल भएको भन्दै बाँस्तोलाले खुुशी प्रकट गरे ।

पोखराको वडा नं ९ मुख्य बजार क्षेत्र महेन्द्रपुल र नयाँबजार सहित पृथ्वीचोक बसपार्क लगायतको क्षेत्र पर्दछ र यस क्षेत्रलाई नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा समेत लिईन्छ । यस क्षेत्रमा बिगतका धेरै चुनावमा बिष्णुप्रसाद बाँस्तोलाले बिजय प्राप्त गर्दै आएकोमा यस अगाडीको स्थानीय तहको चुनावमा भने कांग्रेसका रामराज लामिछाने कडा प्रतिस्पर्धाबाट बिजयी बनेका थिए ।
तर यस पटक लोकप्रिय मतका साथ कांग्रेसका पुरानो साख स्थापित भएको महशुस कांग्रेस कार्यकर्ताले गरेका छन् ।

वडाध्यक्षमा विजयी दीपेन्द्र मर्सानी प्रजातन्त्रका सेनानी सुन्दर प्रसाद मर्सानीका नाती हुन् । उनको परिवारका सदस्यहरु समेत निरन्तर नेपाली कांग्रेस र प्रजातन्त्रका लागि क्रियाशील छन् । युवा अवस्थामा नै व्यवसायिक क्षेत्र र शैक्षिक क्षेत्रमा क्रियाशील मर्सानी केही वर्ष यता राजनीतिमा पनि सक्रिय बनेका हुन् । मर्सानी सिद्धार्थ क्लव पोखराका पुर्वाध्यक्ष पनि हुन् । सिद्धार्थ क्लवमा रहदाँ उनले विपद व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय कार्य गरेका थिए ।

हाल उनी नेपाली कांग्रेस कास्की क्षेत्र नं २ अन्तर्गत प्रदेश सभापति हुन् । निर्माण व्यवसाय र मन्टेश्वरी समेत संचालन गर्दै आएका उनले नव प्रभात माविको विधालय व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरिरहेका छन । सक्रिय र जुझारू युवाको रुपमा पहिचान बनाएका मर्सानी सामु अब वडावासीको मन जितेर वडा भित्र रचनात्मक काम गर्ने र कांग्रेसको संगठन अझै बढाउनुपर्ने चुनौती थपिएको छ ।

उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट उक्मेदवार बनेका नन्दराम गिरी ,भावना श्रेष्ठ गीता चर्मकार र लक्ष्मी पहारी पनि क्रमश १२९८, १३५६ , १५०३ र १४५० मतका साथ वडा सदस्यमा बिजयी भएका छन ।

त्यस वडाबाट नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई पनि राम्रो मत प्राप्त भएको छ । जस अनुसार मेयर पदमा गठबन्धनका उमेदवार धनराज आचार्यलाई १हजार ४ सय १७ उपमेयरका उमेदवार कोपिला रानाभाटलाई १हजार ५ सय २५ र नेकपा एमालेका मेयर पदका उमेदवार कृष्ण थापालाई ९ सय १७ उपमेयर पदका उमेदवार मन्जुदेवी गुरुडंलाई १हजार ४० मत प्राप्त भएको छ ।

त्यस वडाबाट अन्य उम्मेदवारहरु राप्रपाका शंकर खरालले २ सय ७१ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ७० मत प्राप्त गरेका छन् ।

६ जेष्ठ २०७९, शुक्रबार ०८:२६ मा प्रकाशित
Nabintech