पोखरा , पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पुम्दीकोटलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पुम्दीकोटसम्म पुग्ने बाटोको स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा २२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रत्येक वडामा थप पर्यटकिय गन्तव्य समेत निर्माण गर्ने प्रतिवद्धता जनाए ।
उनले पोखरा प्रवेश गर्ने पोखरा २२ को सिमानाकामा सुन्दर गेट निर्माण गर्ने पनि बताए । शान्ति स्तुपाको संरक्षणका लागि थप कार्य गर्ने बताउदै उनले वडालाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गरिने बताए । त्यहाँको पर्यटनलाई कृषि पर्यंटनका रुपमा समेत विकास गर्न सकिने आचार्यले बताए । घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुहरुको कार्यान्वयनका लागि आफुहरु इमान्दार रहेको बताएमा उनले महानगरको सेवालाई चुस्त र शुसासन युक्त बनाउने समेत प्रतिवद्धता जाहेर गरे ।
यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले वडाको धार्मिक पर्यटन विकासका लागि आफुहरुले विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गरिन् । धार्मीक गन्तव्यका रुपमा स्थापित पुम्दीकोट र विश्व शान्ति स्तुपा लगायत स्थलहरुको थप विकास र संरक्षण गरिने उनले बताईन ।
ग्रामिण वडा भएका कारण कृषिको प्रविधिकरण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्या रहेको बताउदै उनले त्यसको उपलब्धताका लागि विशेष पहल गर्ने पनि बताईन । पोखरा महानगरवासी भएपनि महानगरको सेवा सुविधा उपभोगबाट वडावासीहरु विमुख भएको उल्लेख गर्दै रानाभाटले विकासका सवालमा ग्रामिण वडाहरुलाई प्राथामिकतामा राखिने प्रतिवद्धता जाहेर गरिन ।
वडा अध्यक्ष पदका उमेदवार हिमलाल बरालले समग्र वडाको विकासमा अहोरात्र खटिने प्रतिवद्धता जनाए । बाटोघाटो, शिक्षा, स्वास्थ्य र पुर्वाधारको विकासका खातिर वडावासीको हितानुकुल काम गर्ने बताएका उनले अन्यथा आफु जनताबाट दण्डित हुने पनि बताए । बरालले आफ्नो घोषणा पत्रमा उल्लेख गरिएका हरेक कार्यक्रमहरुको लेखाजोखा गर्न आग्रह समेत गरे ।
उनि पोखरा २२ मा स्वतन्त्र उमेदवारका रुपमा भुईकटहर चुनाव चिन्हका साथ चुनावी मैदानमा छन् ।