पोखरा, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामहरि खतिवडाले देशमा सधै कांग्रेसको नीतिले जितेको बताउनुभएको छ । कांग्रेस युवा नेता खतिवडाले राष्ट्रिय मुद्धा सधै जित्ने तर चुनाव हार्ने अवस्था कांग्रेसमा देखिनु दुर्भाग्य हो भन्दै यस पटकको निर्वाचनमा नेपाली कांग्रेस हार्ने छुट नरहेको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति कास्कीले प्रकाशन गरेको २०७९ सालको क्यालेन्डरको लोकार्पण गर्दै नेता खतिवडाले सूचना दिने यन्त्र क्यालेन्डर मात्र नभई, देश र जनता अनि हाम्रो भविष्य जोडिएको नया साल भएको उल्लेख गर्नुभयो । वहांले अब आउने नया वर्ष २०७९ साललाई नेपालको ऐतिहासिक वर्ष नेपाली कांग्रेसले नै बनाउने भएकाले जनतालाई यसको महत्व बुझाउन सक्नुपर्ने बताउनुभयो ।
कांग्रेसले मात्र सबैलाई समेट्न सक्ने भएकोले कांग्रेसले मात्र देश र जनताको भलो गर्न सक्ने वहाको धारणा थियो । दुई तिहाईको दम्भ र ओलीको अहंकारले फसाएको देशलाई उतार्ने जिम्मा नेपाली कांग्रेसको कांधमा आएकाले मत माग्दा समेत ध्यान दिन पार्टी कार्यकर्तालाई केन्द्रीय सदस्य खतिवडाले निर्देशन दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य खतिवडाले चुनावमा रुख़ चिन्हमा मत नहाल्ने अनि निष्क्रिय बस्ने कार्यकर्ता नेपाली कांग्रेसको हुन नसक्ने स्पष्ट पार्नुभयो ।
नेता खतिवडाले कांग्रेस सहितको गठबन्धन बाध्यताका बीच भएको बताउँदै गठबन्धनकै नाममा नेतृत्वले कांग्रेसलाई पछाडी पार्ने छुट नभएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपाली कांग्रेसका उमेदवारलाई जिताउन सबै गम्भिर बन्नुपर्ने बताऊँदै कास्की कांग्रेसले पार्टीमा गरेको योगदान अनि उनिहरुको योग्यता र क्षमतालाई हेरेर उमेदवार टुंगो लगाउने बताउनुभयो।
सत्ता साझेदार दलहरु संगको गठबन्धन र आसन्न निर्वाचनमा हुने चुनावी तालमेल कांग्रेसका स्थानीय नेता र कार्यकर्ताको भावना अनुसार नै हुने सभापति बरालको भनाई थियो ।
क्यालेण्डर लोकार्पण तथा नया वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमको सभापतित्व महानगर समितिका सभापति सुरेन्द्र मान विजुक्क्षेले गर्नुभएको थियो । वहांले चुनावमा तालमेल भएपनि पोखराको मेयर पदमा नेपाली कांग्रेसको दावी रहने बताउनुभयो ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले प्रकाशन गरेको उक्त क्यालेण्डर प्रकाशन समितिका सदस्यहरुमा संजय आले , संघर्ष कोईराला, अम्बिका ढुंगाना , रबीन्द्र बराल र अमृत श्रेष्ठ तथा सल्लाहकारहरुमा सुरेन्द्र बिजुक्क्षे , गंगाधर पराजुली र दिनेश बांस्तोला रहनुभएको छ ।