Play

पोयुसापद्वारा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार स्थापना

गुरुकुल खबर


पोखरेली युवा सांस्कृतिक परिवारले अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको स्थापना गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका स्वर्गीय गुरुङले नेपाली गीत संगीतको क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै पुरस्कार स्थापना गरेको हो ।

परिवारले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी दुइ लाख राशिको पुरस्कार घोषणा गरेको हो । कार्यक्रममा बोल्दै संयोजक सरुभक्त श्रेष्ठले नेपाली गीत संगीतको क्षेत्रमा स्वर्गीय गुरुङको महत्वपूर्ण योगदान रहेको बताए ।

स्वदेश तथा विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनको क्षेत्रमा विशिष्ठ योगदान पुऱ्याउने व्यक्तिलाई हरेक २/२ बर्षमा सो पुरस्कार प्रदान गरिने छ । अक्षयकोषमा हाल ७ लाख ५० हजार रुपैया जम्मा भएको र २० लाखको अक्षयकोषको परिकल्पना गरिएको सहसंयोजक तीर्थ श्रेष्ठले बताए ।

पुख्र्यौली घर तनहुँ रहेका गुरुङको जन्म वि.सं. १९९४ साल फागुन १५ गते भारतको दार्जिलिङमा भएको थियो । नेपाली राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको २०७३ साल जेठ २५ गते ७८ बर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।

पोखरेली युवा संस्कृतिक परिवारले हालसम्म शिरोमणि, सोमबज्राचार्य स्मृति, ललितमणि र अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार सहित चारवटा पुरस्कार स्थापना गरिसकेको अध्यक्ष मोती भुजेलले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ संयोजक रहेको पुरस्कार स्थापना समितिमा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ सहसंयोजक रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरुङ, रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, प्रकाश ज्ञवाली, डा. चैतन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल र एम. ارقام الحظ لبرج الجوزاء डी. काफ्ले रहेका छन् ।

१८ फाल्गुन २०७८, बुधबार १६:४७ मा प्रकाशित
Nabintech