Play

देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारीमा

गुरुकुल खबर


नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएका छन् ।  स्थायी ठेगाना गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो ।  २००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह देउवा र आमा द्रौपदीदेवी देउवाको कोखबाट उनको जन्म भएको थियो । देउवाको परिवारमा श्रीमती आरजु राणा र एक छोरा रहेका छन् ।
देउवाले स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

प्रधानमन्त्री देउवा २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिमा सक्रिय भएका थिए । २०२८ सालमा उनी नेविसंघको पहिलो सभापति भएका थिए । उनले कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्व सम्हालेका थिए । २०५९ सालदेखि नेपाली काँग्रेस विभाजन गरी नेपाली काँग्रेस (प्रजातान्त्रिक) को गठन गरी सभापतिका रूपमा पाँच वर्ष नेतृत्व सम्हालेका थिए । २०६४ सालमा पुन काँग्रेससँग एकीकरणपछि वरिष्ठ नेताको हैसियतमा काम गरेका थिए । २०७२ को १३ औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापतिमा चुनिएका थिए ।

देउवाको संसदीय यात्राको इतिहास हेर्दा २०४८ को संसदीय निर्वाचन, मध्यावधि निर्वाचन २०५१,  प्रतिनिधिसभा निर्वाचन २०५६ मा डडेलधुराबाट १ निर्वाचित भएका थिए । संविधानसभा निर्वाचन २०६४ मा डडेलधुरा १ बाट निर्वाचित भएका थिए भने  दोस्रो संविधानसभा २०७० मा डडेलधुरा १ बाट निर्वाचित भएका थिए । यस्तै संविधान निर्माणपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डडेलधुराबाट निर्वाचित भएका थिए ।

देउवाले यसअघि २०५२, २०५८, २०६१ र २०७४ मा गरी चार पटक नेपालको प्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।  उनी २०४८ सालमा गृहमन्त्री बनेका थिए ।  राजनीतिका क्रममा उनले करिब ९ वर्ष जेल जीवन बिताएका छन् ।

उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत र लामो समय जेल जीवन समेत बिताएका छन् । २०५७ सालको दशौं महाधिवेशनबाट नेतृत्वका लागि प्रयास गरेका उनले करिब दुई दशकपछि १३ औं महाधिवेशनमा तेस्रो प्रयासमा कांग्रेस सभापति बनेका थिए । देउवा २०४८ सालदेखि निरन्तर रुपमा डडेलधुराबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित हुँदै आएका छन् ।

२९ असार २०७८, मंगलवार २१:३९ मा प्रकाशित
Nabintech