Play

बाढीले भत्कायो फेवातालको चेक ड्याम

गुरुकुल खबर


पोखरा असार २४ । केही दिनयता लगातार परेको पानीले पोखरा महानगरभित्रका विभिन्न स्थानमा भौतिक क्षति पुऱ्याएको छ । लगातारको बाढीले पोखरामा रहेको फेवाताल पुरिनबाट बचाउनका लागि निर्माण गरिएको चेक ड्याम भत्काएको छ ।

पोखरा–२३ हर्पन खोलामा रहेको चेक ड्याम बाढीले पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । हर्पन खोलामा वर्षेनी आउने गेग्रानले फेवाताल पुरिदै गएपछि दुई वर्ष अघिमात्र हर्पन खोलामा चेक ड्याम बनाइएको थियो । निर्माणको समयमा नै चेक ड्याममा कमसल निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीय र सरोकारवालाहरुले विरोध जनाएका थिए । सो ड्याम भत्किएपछि त्यसभन्दा तल रहेका बस्तीहरुमा पानी छिरिसकेको पोखरा–२३ का वडाअध्यक्ष विष्णु प्रसाद पराजुलीले बताए 

यसैबिच लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं १४ र वडा नं ३२ गगनगौडा तथा आसपासका वस्ती डुवानमा परेका छन् ।

लगातारको बाढीसँगै विजयपुर सिंचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिंचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह््रसय चौतारा, एकानब्बेको बान्नो लगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण स्थानीयवासी सहित शहरी स्वास्थ्य केन्द्रको भवन समेत जोखिममा परेको छ । शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदी खोला १ नं का वस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ । नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीयवासीको गुनासो छ ।

पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायहरूमा पहल गरिएको वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताए । 

२४ असार २०७८, बिहीबार २१:२१ मा प्रकाशित
Nabintech