Play

मतदाताको माया र सहयोगले विजयी हुनेमा विश्वस्त छु : उम्मेदवार सरस्वती

गुरुकुल खबर


पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उनीहरु आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर कसरी विजयी हासिल गर्ने र संसद छिर्ने दाउमा छन् ।

कास्की जिल्लाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु पनि मतदातालाई रिझाएर आफ्नो विजयी सुनिश्चित गर्न लागिपरेका छन् । यस्तै मध्येकी एक हुन् गण्डकी प्रदेश सांसदका लागि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फका उम्मेदवार सरस्वती गुरुङ । उनी नागरिकका शिक्षा, स्वास्थ्य लगायत जल्दाबल्दा समस्या समाधानका लागि काम गर्न र समृद्ध नेपाल निर्माण तथा आवश्यक कानुन निर्माण जस्ता क्षेत्रमा आवाज उठाउन संसदमा जान चाहेको बताउँछिन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै कास्कीकी पोखरा महानगरपालिका र गाउँपालिकाहरुमा दैनिक घरदैलोसहित चुनावी कार्यक्रम गरिरहेकी गुरुङ मतदाताको माया, विश्वास र सहयोगले आफू विजयी हुनेमा विश्वस्त छिन् । मतदाताको घरदैलोमा पुग्दा देखिने आकर्षण र सद्भावका साथै विशेष महिला मतदाताहरुले गर्ने सहयोग र सम्मानले आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् ।

मंगलबारमात्रै मादी गाउँपालिकाको रोही गाउँ, ताङतिङ गाउँ र चासु गाउँमा उम्मेदवार गुरुङले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिन् । कार्यक्रममा बोल्दै समानुपातिकका उम्मेदवार गुरुङले भनिन मेरो उम्मेदवारी समृद्ध नेपाल र सम्मानित नेपालीका लागि हो ।’ उनले संविधानको रक्षाका साथै सबै जात, धर्म, लिंग र वर्गको समान अवसर र समान सहभागिताको लागि पनि आफ्नो उम्मेदवारी भएको बताईन् ।

मुलुकमा नागरिक अधिकार स्थापित गर्न र संविधानको रक्षाका लागि पनि मंसिर ४ गते हुने आसन्न निर्वाचनमा गठबन्धनलाई जिताउन उनले सबैसंग आग्रह पनि गरिन् । नेकपा एमालेको कदम र केपी ओलीको ओलीतन्त्रको विरुद्धमा अहिलेको गठबन्धन भएकोेले ओलीतन्त्र परास्तकालागि पनि गठबन्धन दल एक भएर लाग्नुको विकल्प नभएको उम्मेदवार गुरूङले जिकिर गरिन् ।

साथै उम्मेदवार गुरूङले नागरिकको आधारभूत आवश्यकता सहज रुपमा उपलब्ध गराउन आफ्नो पार्टी नेपाली काँगेस प्रतिबद्ध रहेको मादी गाँउपालिकाको विकासकालागि आफु गम्भीर रहेको बताईन् ।

मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेस मादी गाउँपालिकाका वडा नं २ का ईकाई सभापति मन्त्रीजंग गुरूङले समयको मागमा निर्माण भएको गठबन्धन दलको विकल्प अरु कुनै पनि राजनीतिक दल नभएको दावी गर्दै गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । समस्याको सुनावाई र समृद्धि गठबन्धन दलले मात्र गर्न सक्ने बताउँदै सभापति गुरूङले दावी समेत गरे ।

नेकपा माओवादी केन्द्र मादीगाउँपालिका इन्चार्ज एवम् माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य लालबहादुर गुरूङले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आसन्न निर्वाचनमा गठबन्धन बाहेक अरु दलको विकल्प नरहेको स्पष्ट पार्दै गठबन्धनलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरे ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् प्रचारप्रसार उपसमितिका सदस्य तर्कजंग गुरूङले अब युवालाई जिताएर युवा जोशबाट काम गराउन मतदाता तयार हुनुपर्नेमा जोड दिदै आफ्नै जातिय चेलीलाई विजय गराउन स्थानीयसंग आग्रह गरे ।

यसैगरी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् समाजसेवी केशबहादुर गुरूङले सरलशैली र नागरिकको समस्या सुन्न र समाधानमा पहल गर्न सक्ने क्षमता भएका नेताको रुपमा आफूले सरस्वती गुरूङलाई चिनेको बताउँदै उनकै पक्षमा मतदान गर्न अनुरोध गरे ।

 

३० कार्तिक २०७९, बुधबार ०७:१७ मा प्रकाशित
Nabintech