पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक पाउने खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएका छन् ।
महानगर खेलकुद विकास समितिको आयोजनामा बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई सम्मान गरिएको कार्यक्रममा बोल्दै प्रमुख आचार्यले भने “ यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उनले भने तपाईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उनले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, महानगरका कार्यपालिका सदस्यहरू लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको थियो ।
गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गरे । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ तोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उनले भने, प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।”
गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताए ।
३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश ९तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र० मा भएको थियो ।