पोखरा । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका छन् ।
उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारा दत्त बडुका अनुसार बुधबार १० बजे उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।
सहायक निर्वाचन अधिकृत बडुले दोर्जेले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
‘स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राजिव गुरुङको मात्र उम्मेदवारी कायम रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।’ उनले भने, मनांगे गण्डकीका युवा तथा खेलकुदमन्त्री समेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।
तर, पछि मनांगेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनांगेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् ।
दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।