जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेको चुनावी तालमेल वा गठबन्धन हुने भए पछि अर्को मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलमलमा परेको छ ।
लोसपासँग अब ३ वटा विकल्प मात्र बाँकी छ । एमाले–जसपाका साथै लोसपा समेतको गठबन्धन हुने एक विकल्प हो । सत्तापक्षीय गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपा पनि सत्ता गठबन्धनमा सहभागी हुने अर्काे विकल्प छ ।
तेस्रो विकल्प भनेको कुनै पनि गठबन्धनमा आवद्ध नभई छुट्टै चुनावमा जाने हो । लोसपाका कार्यकारिणी सदस्य केशव झा तीनै विकल्पका लागि लोसपा तयार रहेको बताउँछन् ।
एमाले र जसपाबीच भइरहेको सहमतिपछि लोसपाको बाटो नै बन्द नभएको उनले बताए । ‘एमालेसँग हाम्रो गठबन्धनको कुरा थिएन, केही क्षेत्रमा एमालेले लोसपालाई सघाउने र केही क्षेत्रमा लोसपाले एमालेलाई सघाउने हिसाबले मात्र दुवै दलबीच कुराकानी भएको थियो,’ झाले लोकान्तरसँग भने, ‘एमाले १ हप्तादेखि जसपासँग बढी इन्गेज भएकाले लोसपासँगको संवाद बढेको छैन ।’
केही दिनअघि मात्र एमालेसहित विचार मिल्ने राजनीतिक दलसँग चुनावी तालेमलका लागि लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति पनि गठन गरेको थियो तर नेकपा एमालेले लोसपाभन्दा पनि जसपालाई बढी महत्त्व दिएपछि लोसपा अलमलमा परेको छ
एमालेसँग वार्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक–पटक भेटवार्ता समेत भएको थियो तर एमालेले पछिल्लो १ हप्तादेखि लोसपाभन्दा जसपालाई बढी भाउ दिएपछि लोसपासँग ठोस वार्ता अगाडि बढेको छैन ।