पोखरा । स्थानीय निर्वाचनको समय नजिकिदै गर्दा पोखरा महानगर तथा गाँउपालिकाका उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर मतदाता समक्ष पुगीरहेका छन् । घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले मतदाता समक्ष पार्टीको र आफ्नो उम्मेदवारीको बारेमा स्पष्ट पार्नुका साथै मतदाताको समस्या र टोलको विकासको बारेमा पनि भलाकुसारी गरिरहेका छन् ।
यससैक्रममा पोखरा महानगर वडा नं १४ चाउथेले पनि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली काँग्रेसका उम्मेदवार बोधराज कार्कीको नेतृत्वमा गठबन्धनका उम्मेदहरु पनि घरदैलो अभियान सहित मतदाता समक्ष पुगीरहेका छन् । गएको स्थानीय निर्वाचनमा झिनो मतान्तरणले पराजित बनेका अध्यक्ष पदका उम्मेदवार कार्की यो पटक विजयी हासिल गर्न मतदातासंग भेटघाट र छलफलमा कसेर लागेका छन् । ‘यो पाली अध्यक्षका उम्मेदवार बोधराज कार्कीको जीत निश्चित छ’ घरदैलो अभियानमा सक्रिय एक मतदाताले भने । मंगलबार बिहान जलेश्वर चोकबाट हवेली मार्गसम्म गरिएको घरदैलो अभियानमा मतदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरदैलो अभियानपछि आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता दिपक कोइरालाले स्थानीय निकायको यो निर्वाचनमा गठबन्धन दलको विजयी पक्का भएको दावी गर्दै सबै मतदातालाई आफ्नो अमूल्य मतको सदुपयोग गर्न आग्रह गरे ।
जलेश्वर टोल इकाईका सभापति प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि विमल बसेल, महासमिति सदस्य माया बराल, वडा नं १४ का इकाई समिति सभापति दिवस कुँवर, इकाई सचिव सविना अधिकारी, माओवादी केन्द्रका पोखरा महानगर समिति अध्यक्ष हरीनारायण गिरी विज्ञान, राष्ट्रिय भूमिहिन आयोगका सदस्य आशबहादुर गुरुङलगायतले वडाबासीको समस्या समाधानका साथै वडाको विकासमा लाग्ने जनप्रतिनिधि रोज्नु पर्नेमा मतदातासंग अनुरोध गरेको इकाई सचिव अजय केसीले जानकारी दिए ।