पोखरा , नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरुको जीवनकथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातन्त्रिक आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानीहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
शनिवार पोखरा उधोग वाणिज्य संघको हलमा आयोजित एक भव्य समारोहका बिच प्रजातन्त्रका सेनानीहरुको भिंडियो प्रदर्शन गर्नुका साथै प्रजातन्त्रका सेनानीहरुलाई मरणोपरान्त एवं जीवित अवस्थामा नै सम्मान गरिएको हो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका सहित अन्य चार वटा गाउं पालिकामा रहेर प्रजातन्त्रका लागि लामो समय निरन्तर सक्रिय योद्दाहरुलाई मरणोपरान्त एवं जिवित अवस्थामा सम्मान गर्ने क्रममा झण्डै १ सय २५ जनालाई सम्मान गर्रिएको थियो ।
नेपाली कांग्रेस कास्कीको समन्वयमा तयार गरिएको वृत्तचित्रमा विशेष गरि लिलाभक्त आचार्य. दिपक जोशी , खरिलाल विश्वकर्मा , कृष्ण बहादुर कुंवर , हिरामणी सुवेदी . भोजराज भण्डारी लगायतका प्रजातन्त्रका सेनानीहरुको स्मरण समेटिएको छ ।
वृत्तचित्र मार्फत वहांहरुले नेपाली कांग्रेसमा रहेर प्रजातन्त्र प्राप्तीको लागि आंफुले गरेको संघर्ष सहित समकालीन साथीहरुसंगै गरिएको आन्दोलनका बारेमा स्मरण गर्नुभएको छ । यसका साथै कांग्रेस नेता विश्वेश्वर प्रसाद कोईराला सहित सुवर्ण शमसेर राणा , कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह , गिरिजा प्रसाद कोईराला लगायतका पार्टी नेताहरुको सान्निध्यमा रहेर कांग्रेसको संगठन बिस्तार अनि कांग्रेसले आव्हान गरिएका आन्दोलनको बारेमा वहांहरुले आफ्नो स्मरण वृत्तचित्र मार्फत सुनाउनुभएको थियो ।
कतिपय घटना स्मरण गर्ने क्रममा वहांहरु भावुक बनेको मात्र नभएर आंखाबाट आशु समेत बग़ावतों देख्दा वृत्तचित्र हेर्नेहरु समेत भावविव्हल बनेका थिए ।
नेपाली कांग्रेसले प्रजातन्त्रका केही सेनानीहरुलाई विभिन्न माध्यमबाट सम्मान गर्ने गरेको भएपनि प्रजातन्त्र सेनानी संघ मार्फत आम प्रजातन्त्र सेनानीहरुको भावना र स्मरण वृत्तचित्र मार्फत सार्वजनिक गरि धेरै जनालाई सम्मान गरेको सम्भवतः यो पहिलो पटक भएको प्रजातन्त्र सेनानी संघ कास्कीका सहसचिव देवदत्त कोईरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसलाई आजको अवस्थामा ल्याउन अनि प्रजातन्त्र प्राप्तिका लागि अग्रज हरुले गरेको योगदान र संघर्षका बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यले वृत्तचित्र प्रदर्शन र सेनानी सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
इतिहासका बारेमा जानकारी नभए वर्तमानमा अगाडी बढ्न समेत कठिनाई हुने भएकोले आजको युवा पुस्तालाई इतिहास बुझाउने र प्रजातन्त्र अनि कांग्रेसको बाटोमा हिंड्ने बनाउन प्रजातन्त्र सेनानीहरुको भनाई संगै वहाहरुले जिवनमा भोगेका घटनाले उत्प्रेरित गरेको सभापति बरालको भनाई थियो ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका सभापति लिलाभक्त आचार्य, कार्यक्रम संयोजक देवदत्त कोईराला , भगवती कोईराला, शकुन्तला कोईराला लगायतले आआफनो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्कीका पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञ बहादुर थापा, पूर्व सभापति कृष्ण केसी , पूर्व सभापति शोभियत बहादुर अधिकारी, प्रजातन्त्रका सेनानी हरु सहित तिनका परिवार र कांग्रेस नेता कार्यकर्ताहरुको ठुलो उपस्थिति रहेको थियो । वृत्तचित्र निर्माणमा पनि लिलाभक्त आचार्यले महत्वपुर्ण आर्थिक सहयोग गर्नुभएको थियो ।वृत्तचित्रको निर्माण भकारी ईभेन्ट्सले गरेको हो ।