Play

सरकारलाई कांग्रेसको चेतावनी: ‘विधि र संवैधानिक मर्यादामा रहेर शैली सच्याउ, जनसरोकारमा केन्द्रित बन’

गुरुकुल खबर


काठमाडौँ, गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बर्तमान सरकारको कार्यशैलीको आलोचन गरेको छ। बैठकले सरकारका गलत निर्णय, क्रियाकलाप र प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस सशक्त ढङ्गले उभिनेछ र निरन्तर निगरानी गर्ने जनाउंदै संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति गम्भीर आपत्ति समेत प्रकट गरेको छ। सरकारलाई आंफ्नो शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन समेत कांग्रेसले आग्रह गरेको छ ।

बैठकले सरकारका पछिल्ला गतिविधिबारे नेपाली कांग्रेसको धारणा सार्बजनिक गर्दै गत निर्वाचनको मतादेशबाट नेपाली कांग्रेसलाई प्राप्त प्रतिपक्षको जिम्मेवारी अनुरूप निर्वाचनपश्चात् नै नेपाली कांग्रेसले रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्बाह गर्दै आएको जनाएको छ। सरकारका सकारात्मक प्रयास, समुन्नतिका साझा राष्ट्रिय मुद्दा, प्राकृतिक विपद् तथा महामारीको सामना, अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितको प्रतिनिधित्व, राष्ट्रिय स्वाभिमान र जनसरोकारका संवेदनशील विषयमा नेपाली कांग्रेस जिम्मेवारीपूर्वक सरकारको साथमा रहने तर सरकारका गलत निर्णय, क्रियाकलाप र प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस सशक्त ढङ्गले उभिनेछ र निरन्तर निगरानी गर्ने निर्णय बैठकले गरेको छ।

प्राकृतिक विपद्को सामना, सामाजिक सद्भावको संरक्षण तथा राष्ट्रिय सरोकारका संवेदनशील विषयमा सरकार स्वयंले सहयोगको अपेक्षा नगर्दा पनि नेपाली कांग्रेस जिम्मेवारीपूर्वक सरकारको साथमा उभिएको छ। जहाँ सरकार चुकेको छ, त्यहाँ प्रश्न उठाएको छ, सचेत गराएको छ र सुधारका लागि रचनात्मक सुझाव दिएको छ। सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कतिपय कमजोरीलाई नयाँ सरकार र नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै नेपाली कांग्रेसले संयमता अपनाउनुको साथै सरकारलाई सिक्ने, सच्याउने र काम गर्ने पर्याप्त अवसर दिनुपर्छ भन्ने मान्यता कांग्रेसले राखेको बैठक पछी जारी बिज्ञप्तीमा उल्लेख छ ।

‘सरकारका पछिल्ला गतिविधि र कार्यशैलीलाई हेर्दा अब यी कमजोरी कुनै एकाध घटना, अनुभवको कमी वा संयोग मात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ भन्दै बैठकले  संविधान, लोकतन्त्र, विधिको शासन, राष्ट्रिय स्वाभिमान, अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार जुन दिशातर्फ अग्रसर भइरहेको छ, त्यसप्रति मौन रहनु वा प्रतिरोध नगर्नु देश र जनताप्रतिको आफ्नो जिम्मेवारीबाट विमुख हुनु हो भन्ने ठहर गरेको छ।

रचनात्मक प्रतिपक्ष हुनु भनेको सरकारका गलत क्रियाकलापप्रति मौन रहनु होइन। जिम्मेवार प्रतिपक्ष हुनु भनेको सरकारको स्वेच्छाचारितालाई सहनु पनि होइन। सरकारका सकारात्मक कार्यमा सहयोग गर्ने हाम्रो प्रतिबद्धता यथावत् छ। तर संविधान, विधिको शासन र लोकतन्त्र विपरीतका गतिविधि, शासकीय स्वेच्छाचारिता र जनहित विपरीतका निर्णयका विरुद्ध अब नेपाली कांग्रेस अझ दृढ र सशक्त ढङ्गले उभिने प्रतिबद्दता गर्दै बैठकले संविधानको कार्यान्वयन अनि व्यवहारमा शासकीय अराजकता नदेखाउन चेतावनी दिएको छ।

‘वर्तमान सरकार यही संविधान अन्तर्गत, यही संविधानले स्थापित गरेको निर्वाचन प्रणाली र संसदीय व्यवस्थाबाट निर्माण भएको सरकार हो। संविधानको पालना र संरक्षण गर्नु सरकारको पहिलो दायित्व हो। तर सरकार र सरकार प्रमुखका पछिल्ला व्यवहारले संविधानको मर्म, भावना,
सीमा र लोकतान्त्रिक मूल्यप्रति सरकारको वास्तविक प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। सरकार गठन भएदेखि नै संसद्प्रति निरन्तर उपेक्षा गर्ने, संसदीय समितिप्रति जवाफदेही हुन नचाहने र पछिल्लो समय संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्ने प्रवृत्ति देखिएको छ।’

‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक संस्थाको अवमूल्यन गर्ने व्यवहार समेत देखिएको छ। संविधानका अक्षरको मात्र होइन, त्यसको भावना, स्थापित लोकतान्त्रिक परम्परा, संस्थागत मर्यादा र विधि(प्रक्रियाको सम्मान गर्नु सरकारको कर्तव्य हो। यी सबैलाई पटकपटक उल्लङ्घन गर्नु सामान्य कमजोरी होइन, शासकीय अराजकता हो। संविधानबाट प्राप्त अधिकार प्रयोग गर्ने तर संविधानले निर्धारण गरेका सीमा, मर्यादा र दायित्व स्वीकार नगर्ने प्रवृत्ति अन्ततः लोकतन्त्रलाई नै अस्वीकार गर्ने प्रवृत्ति हो।  नेपाली कांग्रेस संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ।’ कांग्रेसले जनाएको छ ।

प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्श बिना ल्याइएका विभिन्न अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारसँग माग गरेको छ । बैठकले यही संविधान र संसदीय व्यबस्थाबाट प्रधानमन्त्री बन्ने तर संविधानले स्थापित गरेका संसद्, राष्ट्रपति, संवैधानिक निकाय र विधि प्रक्रिया कसैलाई पनि मान्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नै संस्थागत गर्ने हो भने भोलि अरू कसैले यही संविधानले स्थापित गरेको प्रधानमन्त्रीको संस्था पनि मान्दिनँ भन्यो भने के हुन्छ ?  सरकार स्वयंले संविधान र संस्थाहरूको मर्यादा भत्काउँदै जाने हो भने संवैधानिक व्यवस्था कसरी जोगिन्छ ? कांग्रेसले प्रश्न गरेको छ।

कानुनभन्दा माथि कोही छैन। कानुनविपरीत काम गर्ने वा अपराधमा संलग्न हुने जोसुकै व्यक्ति, जुनसुकै पार्टी, पक्ष वा शक्तिसँग आबद्ध भए पनि कानुनसम्मत प्रक्रिया अनुसार अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्छ भन्दै बैठकले कोही सरकारको विरोधी छ र उसले दण्डनीय अपराध गरेको छ भने ऊ कानुनी कारबाहीको दायरामा आउनुपर्ने तर सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई जबरजस्ती अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको कांग्रेसको बुझाई छ ।

त्यसैगरी, कोही सरकारको समर्थक छ भन्दैमा हल्ला र आशङ्काका आधारमा उसलाई अपराधी करार गर्नु गलत हो। तर सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति र संरक्षण पाउँछ भने त्यो पनि राज्यशक्तिको दुरुपयोग हो। दुर्भाग्यवश, सरकारका पछिल्ला गतिविधिले राज्यशक्तिको यस्तै चयनात्मक प्रयोग भइरहेको गम्भीर आशङ्का उत्पन्न गराएका छन्। सरकारले आफ्नो आदेशलाई कानुन र राज्यका निकायलाई आफ्नो सचिवालयजस्तो ठान्ने प्रवृत्ति देखाएको छ। कानुनको निष्पक्ष र पारदर्शी कार्यान्वयनको सट्टा व्यक्तिको राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा छानीछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखिएको छ।

‘सुनकोशी मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप गरिएको भन्ने आरोप आफैँमा अत्यन्त गम्भीर छ। यस्ता प्रकरणहरूको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न, अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नगर्न, दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा राज्यका अनुसन्धानकारी निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ।’ बिज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा संस्थागत र प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न नपाएको भन्दै  नागरिकलाई अहिले चाहिएको आड र भरोसा चाहिएकोले गलत काम गर्ने जोसुकैलाई कानुनी कारबाही गर्नुपर्छ भन्नेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेको छ। तर, तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरेर कारबाही गर्नेभन्दा पहिले पक्राउ गर्ने, थुन्ने र त्यसपछि मात्र आधार र प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणलाई प्रतिकूल असर पुर्‍याउँछ। निजी क्षेत्र मात्र होइन, राष्ट्रसेवक कर्मचारीसमेत अनिश्चितता र त्रासका कारण आवश्यक निर्णय लिन हिचकिचाउने वातावरण निर्माण भएको छ। प्रणाली निर्माण र संस्थागत सुधारबाट सुशासन स्थापित गर्नुपर्नेमा डर, दबाब र तदर्थ
निर्णयबाट शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको छ।

वर्तमान सरकारले कार्यभार सम्हाल्दै गर्दा समयसीमा नै तोकेर सय दिनभित्र सम्पन्न गर्ने कार्यहरूको प्रतिबद्धता सार्वजनिक गरेको थियो। यस अवधिमा सरकारले विभिन्न समुदाय, समूह र आन्दोलनरत पक्षसँग अनेकौँ सम्झौता गरेको छ।विभिन्न विषयमा अध्ययन, अनुसन्धान र छानबिन गर्न समिति तथा आयोगहरू गठन गरेको छ। तर सरकारले गरेका घोषणा, सम्झौता र प्रतिबद्धताको कार्यान्वयनको अवस्था के छ भन्नेबारे नागरिकलाई स्पष्ट जानकारी दिइएको छैन। समस्या समाधानका लागि समिति गठन गर्ने, असन्तुष्टि साम्य पार्न सम्झौता गर्ने र तत्काल लोकप्रियता प्राप्त गर्न घोषणा गर्ने तर तिनको कार्यान्वयनमा जिम्मेवारी नलिने प्रवृत्ति सरकारमा देखिएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ।

सरकारले गरेको सम्झौता कुनै व्यक्ति वा दलको निजी प्रतिबद्धता होइन, राज्यले नागरिकसँग गरेको प्रतिबद्धता हो। त्यसको कार्यान्वयन गर्नु राज्यको दायित्व हो। कार्यान्वयन गर्न नसक्ने अवस्था भए त्यसको कारण नागरिकलाई स्पष्ट पार्नु सरकारको जवाफदेहिता हो। भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयहरू अहिले कहाँ पुगेका छन्रु मानव अधिकार आयोगको प्रतिवेदन, गृहमन्त्रीमाथिको छानवीन प्रतिवेदन कहाँ छ ?  एकातिर दलित समुदायसंग माफी माग्ने तर काम केही नगर्ने बरु उल्टै नेवार समुदाय, दलित समुदाय लगायतका समुदायको आत्मसम्मानलाई ठेस पुग्नेगरी पर्याप्त परामर्श र अध्ययन नगरिकन दलित समुदायमा सूचीकृत गर्ने काम किन गरेकोर ? सरकारले
विभिन्न समुदाय र समूहसँग गरिएका सम्झौतामध्ये कति कार्यान्वयन भए ?  सरकारले गठन गरेका समिति र आयोगका प्रतिवेदन किन सार्वजनिक भएका छैनन ? सय दिनभित्र पूरा गर्छु भनिएका कामको हिसाब नागरिकले कहिले पाउनेर ? सरकारका घोषणा र सम्झौता समस्या समाधानका लागि हुन् कि तत्कालको असन्तुष्टी साम्य पारे अल्झाउनका लागि मात्र हुन ? कांग्रेसले सरकारसंग प्रश्न गरेको छ।

यसै सन्दर्भमा सरकारले आंफ्नो शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन समेत कांग्रेसले आग्रह गरेको पार्टीका महामन्त्री प्रदिप पौडेलले पत्रकार भेटघाट कार्यक्रममा बताए ।

१२ मंसिर २०८३, शनिबार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा