पोखरा, एभरेस्ट मिडिया हाउसले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको छ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर लायन्स क्लव अफ पोखरा पिसटाउन सँगको सहकार्यमा एभरेस्ट मिडिया हाउसले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०७ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेका थिए ।
‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेका थिए । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा एफएमका बरिष्ठ समाचार वाचक शिशिर पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।
यसअघि रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता द्वय पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् ।
एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्धेश्य राखेर एफएमले रक्तदान कार्यक्रम गर्दै आएको बताए । ‘पोखरामा रगतको अभाव भएको अवस्थामा गरिएको रक्तदान कार्यक्रमले रगतको अभाव कम मद्धत पुग्ने विस्वास छ’–उनले भने ।
रक्त सञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसीले हरेक स्वस्थ व्यक्तिले तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने बताए । रगतको विकल्प अहिलेसम्म बनेको छैन,उनले भने,‘रगतको विकल्प भनेको रगत नै हो,त्यसैले रक्तदान गरेर आफू पनि स्वस्थ भई अरुलाई पनि बचाउन सकिन्छ ।’
यसैबीच एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सम्झौता अनुसारको रकम तिरेको जनाएको छ। यसअघि चार वर्षसम्म एक/एक लाखको दरले चार किस्ता तिरिसकेको एफएमले शनिबार पाचौँ तथा अन्तिम किस्ता तिरेको जनाएको छ । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
यसैगरी एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ प्राविधिक दिलिप भण्डारी भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा प्राविधिक भण्डारीलाई स्टाफ अफ दी ईयर घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा अध्यक्ष गुरुङ, निर्देशक धना रायमाझी, सम्पादक श्रेष्ठ, वित्त निर्देशक भोला श्रेष्ठ, कार्यकारी सम्पादक सन्देश श्रेष्ठ र प्राविधिक प्रमुख रविभुषण पराजुलीले नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्रले भण्डारीलाई सम्मान गरेका थिए।














