Play

देउवा पक्षको महाधिबेशनमा लागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारीमा गगन पक्ष, संख्या कति पुग्ला?

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसमा बिशेष महाधिबेशन र नियमित महाधिबेशनको नाममा शुरु भएको बिबादले निरन्तरता पाउँदै गर्दा कांग्रेसमा समानान्तर गतिबिधिले पनि तिब्रता पाएको छ। निर्बाचन आयोग र सर्वोच्च अदालतले तत्कालिन अबस्थामा गगन थापा पक्षधर् कांग्रेसलाई आधिकारिकता दिएको भएपनि पछिल्लो समय अदालतले १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा पक्षलाई समेत निस्स्सा दिएपछि कांग्रेसको आधिकारिकताको विषय यतिबेला अदालतमा बिचाराधिन अबस्थामा रहेको छ।

कांग्रेसमा गगन थापा र शेरबहादुर देउवा दुबैले आँफुलाई नै आधिकारिक भनेर दाबी गरिरहेको अबस्थामा गगन थापा नेतृत्वको केन्द्रीय समितिको मंगलवार बसेको बैठकले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकमा कांग्रेस छोडेर अर्को दलमा सक्रिय भएकाहरुलाई पदमुक्त गरेर कारबाही गर्ने जानकारी गराएका थिए ।

स्थानीय तहमा मात्र नभएर प्रदेश सभामा एबम प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका तर यतिबेला पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाको पक्षमा रहेका जनप्रतिनिधिलाई कारबाही गर्न गगन थापा नेतृत्वको समितिले तयारी थालेको बताइन्छ । बिशेष महाधिबेशन हुँदै १५ औं महाधिबेशनबाट सभापति बनेका थापाले देउवा समूह अर्थात डा. शशांक कोइराला संयोजक रहेको नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन तयारी समितिलाई अर्कै पार्टीको रुपमा ब्याख्या गर्दै पार्टी विधान अनुसार अर्को पार्टीमा लागेका जनप्रतिनिधिहरुलाई कारबाही स्वरूप पदमुक्त गर्ने चेतावनी सभापति थापाले दिएका छन ।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिन्ह लिएर लडेको छ । कांग्रेसको चुनाव चिन्ह लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन,’ सभापति थापाले बैठकमा भने, ‘राष्ट्रिय, प्रतिनिधि, प्रदेश सभा सदस्य, स्थानीय तहमा मेयर उपमेयरबाट राजीनामा गर्नुहोला । तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नु पर्ने हो, त्यहि गर्छ ।’

देउवा पक्षलाई अर्को पार्टीको रुपमा लिँदै सभापति थापाले भने,‘कांग्रेस पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्यता लिने हो भने चाहिँ त्यसले समस्या गर्छ । साथीहरूले अहिले समयमा विचार गर्नुहोला । पार्टीको सदस्यता कायम नराख्ने हो भने तपाईंहरूको छनोट हो। कांग्रेस शीर्ष तहका एक नेताका अनुसार देउवा पक्षको महाधिवेशनमा खुलेर लाग्नेहरूलाई पदमुक्त गर्न लागिएको हो । ती नेताका अनुसार दुबै पक्षतिर नलागी तटस्थ बसेकाहरूको हकमा भने कारबाही हुने छैन । आफू निर्वाचित भएको दल त्याग गरेको अवस्थामा पार्टीले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ ।

एउटै दलको दुईवटा महाधिवेशन हुन नसक्ने बताउँदै गगन पक्षले कांग्रेसबाट निर्वाचित भएका र अर्को समूहतिर लागेकालाई कारबाही गर्ने तयारी गरेको बताइन्छ। देउवा पक्षको महाधिवेशन नजिकिएसँगै सभापति थापाले देउवाको समुहमा लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्ने चेतावनी दिएका हुन् ।

यता देउवा पक्षले भने कांग्रेसको नियमित १५ औं महाधिवेशन गर्न लागेको बताउंदै आएको छ । हाल जिल्ला अधिबेशन सकेर सातवटा प्रदेशको अधिबेशनहरु धमाधम भैरहेका छन यहि मङ्सिर २०, २१ र २२ गते देउवा पक्षको महाधिवेशन काठमाडौँमा हुने भएको छ देउवा समुहमा लागेका जनप्रतिनिधिले पनि नेपाली काँग्रेस दल त्याग गरेको अवस्था नरहेको कारण उनीहरुलाई कांग्रेस पार्टी छोडेको भनेर पदमुक्त गराउने प्रक्रिया भने गगन नेतृत्वको कांग्रेसले सोचे जस्तो सहज देखिएको छैन ।

पदमुक्त गर्ने ब्यबस्था अनुसार दल त्याग गरेको भनिएका जनप्रतिनिधिलाई स्पष्टीकरणको अवसर दिनुपर्दछ । स्पष्टीकरण चित्त बुझ्दो नभएको अवस्थामा केन्द्रीय समितिले दलबाट निष्कासन गर्नसक्छ । पदमुक्त गरेको सूचना प्रतिनिधि र राष्ट्रिय सभा सचिवालयमा जानकारी गराउनु पर्दछ । उक्त सूचनालाई संसद सचिवालयले सदन चलिरहेको बेलामा (१५ दिनभित्र) पदमुक्त भएको जानकारी गराउनुपर्दछ । स्थानीय तहको जनप्रतिनिधिले दल त्याग गरेको जानकारी सहित केन्द्रीय समितिले पदमुक्त गरेर निर्वाचन आयोगलाई अवगत गराउनु पर्दछ।

गगन समुहका एक कांग्रेस नेताका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित र हाल देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको तथ्यांक संकलन गर्ने कार्यलाई तिब्रता दिईएको छ। हाल प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद मध्ये दुईजना मात्र देउवा पक्षमा खुलेका छन् । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका हरिनादेवी कामी र सुशिला ढकाल आचार्य देउवा पक्षमा खुलेका छन् । निनु कुमारी कर्ण र रीना उप्रेति भने तटस्थ जस्तै देखिएका छन् ।

प्रतिनिधि सभामा भन्दा तुलनात्मक रुपमा देउवा पक्षका सांसद राष्ट्रिय सभामा बढी छन् । राष्ट्रिय सभामा कांग्रेसका २४ सांसद रहेकोमा राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना नारायणदत्त भट्ट लगायत देउवा पक्षमा खुलेर लागेका छन् । राष्ट्रिय सभा सदस्यद्वय विष्णुदेवी पुडासैनी र चन्द्र केसी कुनै पक्षमा खुलेका छैनन् ।

प्रदेश सभातर्फ मधेस र कर्णाली प्रदेशमा देउवा पक्षको महाधिवेशनमा लाग्ने प्रदेश सांसद कुनै पनि छैनन् । कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद रहेकोमा तीन जना देउवा पक्षमा सक्रिय भएर लागेका छन् । केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री देउवा पक्षमा सक्रियटा पूर्वक लागेका छन् ।

बागमती प्रदेशमा पनि कांग्रेसका ३६ सांसद रहेकोमा आठ जना प्रदेश सांसद देउवा समूहको महाधिवेशनतिर लागेका छन् । विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षले गर्ने महाधिवेशनमा लागेका छन् । गण्डकीको प्रदेश सभामा रहेका २७ कांग्रेस सांसदद्धय जीत शेरचन र दिपेन्द्र थापा देउवा पक्षमा छन् । गण्डकी प्रदेशमा समानुपातिक सांसद रहेकी सरस्वती गुरुङ देउवा समुहमा नजिक रहेर बिभिन्न कार्यक्रममा सरिक भएपानी दुवै तर्फको महाधिबेशनको निर्बाचन प्रक्रियामा समाबेश भएकी छैनन

नेपाली कांग्रेसका २८ जना प्रदेश सांसद रहेको लुम्बिनी प्रदेशमा देउवा पक्षमा रोज राणा र माया पुन मात्रै उभिएका छन् । देउवा समुहको सोमबार सम्पन्न लुम्बिनी प्रदेश अधिबेशनबाट राणालाई लुम्बिनी प्रदेशको सभापतिमा र पुनलाई देउवा समुहको प्रदेश उपसभापति बनाईएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १७ सांसद मध्ये सात जना देउवा पक्षमा छन् । कमलबहादुर शाह, मेघराज खड्का, प्रकाश बहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती छन् । विक्रम धामी र गीता चौधरी कतै पनि खुलेको छैनन् ।

८ मंसिर २०८३, मंगलवार २१:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा