Play

अदालतको फैसलालाई समेत अटेर गर्दै नेपाल लाइफ, प्राणघातक रोग लागेका बिमितको भुक्तानी रोक्ने प्रयास

गुरुकुल खबर


काठमाडौँ, बीमा गराउँदा आर्थिक जोखिममा साथ दिने प्रतिबद्धता गर्ने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बिमितको दाबी भुक्तानीमा अटेर गर्दै बीमितलाई अदालतको ढोकासम्म पुर्‍याउनुपर्ने अवस्था आएपछि नेपाल लाइफ इन्स्योरेन्सको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ । घातक रोगको उपचारका लागि पाउनुपर्ने १५ लाख रुपैयाँ भुक्तानीमा कम्पनीले ढिलाइ गरेको भन्दै बीमित इन्द्रबहादुर रिजालले नेपाल लाइफमाथि कानुनी प्रक्रिया छल्ने र नियामक निकायलाई समेत गलत जानकारी दिने गरेको आरोप लगाएका छन् ।

रिजालका अनुसार उनको बीमा दाबीसम्बन्धी विवादमा बीमा प्राधिकरणबाट भएको निर्णयलाई उच्च अदालत पाटनले समेत सदर गरिसकेको छ । तर, दुई तहबाट निर्णय भइसकेर कार्यान्वयनको चरणमा पुग्नुपर्ने विषयलाई नेपाल लाइफले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बहाना बनाएर लम्ब्याइरहेको छ । प्राप्त जानकारी अनुसार इन्द्रबहादुर रिजाल विपक्षी रहेको नेपाल लाइफ इन्स्योरेन्ससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको पुष्टि भए पनि हालसम्म त्यसमा सुनुवाइ नै भएको छैन् । सर्वोच्च अदालतको इजलासबाट मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति अर्थात् निस्सा प्रदान नभइसकेको अवस्थामा मुद्दा विचाराधीन रहेको भन्दै कम्पनीले भ्रामक बिज्ञप्ती सार्वजनिक गरेको रिजालको दाबी छ।

नियमित पुनरावेदन नलाग्ने हुँदा दोहोर्याई पाउँ भन्ने मुद्दा दर्ता गरेको हो । यस्तो मुद्दामा एउटा इजलासमा पेशीमा चढेर उक्त मुद्दामाथि सुनुवाई गर्ने वा नगर्ने सम्बन्धमा आदेश जारी भएपछि मात्रै निस्सा पाएको मानिन्छ । नेपाल लाइफले दर्ता गरेको मुद्दा हालसम्म सुनुवाई नै भएको छैन् । सुनुवाई नै नभएको मुद्दालाई नेपाल लाइफले सर्वोच्च अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको भन्दै झुटो प्रचार गरेको बताइन्छ।

उच्च अदालत पाटनले २०८२ चैत १० गते गरेको फैसलामा सुरु अदालत अर्थात् बीमा प्राधिकरणमा फैसला कार्यान्वयनका लागि पठाउने र उच्च अदालतको लगत कट्टा गर्ने उल्लेख छ । उच्च अदालत पाटनकी सूचना अधिकारी नम्रता गैरेले पनि उच्च अदालतबाट फैसला सदर भएपछि कार्यान्वयनको प्रक्रिया सुरु अदालतबाट अघि बढ्ने स्पष्ट पारेकी छन् । उनका अनुसार उच्च अदालतबाट फैसला कार्यान्वयनका लागि बीमा प्राधिकरणमा पठाइसकेपछि सम्बन्धित निकायले नै त्यसको कार्यान्वयन गर्नुपर्छ ।

नेपालको प्रचलित कानुन बमोजिम दुई तहको अदालतबाट एकै प्रकृतिको फैसला भइसकेपछि सो फैसला अन्तिम हुन्छ । सर्वोच्च अदालतमा नियमित पुनरावेदन समेत गर्न पाइदैन । यस्तो अन्तिम फैसला तत्कालै र बिना शर्त कार्यान्वयन गर्नुपर्दछ, अन्यथा कम्पनीका व्यवस्थापक र सञ्चालकहरुले अवहेलना मुद्दाको समेत सामना गर्नुपर्ने हुनसक्दछ । बीमित ईन्द्र बहादुर रिजाललाई घातक रोग बापत भुक्तानी गर्नुपर्ने १५ लाख रुपैयाँका फैसला कार्यान्वयन गरी तत्काल भुक्तानी दिनुपर्ने रकम नदिई उल्टै झुठो विज्ञप्ति जारी गरेर बीमित र बीमा अभिकर्ताहरुलाई प्रचार गर्न लगाएको पाइएको छ ।

इन्द्र बहादुर रिजाल विपक्षी र नेपाल लाइफ इन्स्योरेन्स पक्ष भएको दोहोर्याई पाउँ भन्ने मुद्धा सर्वोच्च अदालतमा दर्ता भएको र यस्तो मुद्दामा एउटा इजलासमा पेशीमा चढेर उक्त मुद्दामाथि सुनुवाई गर्ने वा नगर्ने सम्बन्धमा आदेश जारी भएपछि मात्रै निस्सा पाएको मानिन्छ । नेपाल लाइफले दर्ता गरेको मुद्दाको हालसम्म सुनुवाई नै भएको छैन । सुनुवाई नै नभएको मुद्दालाई नेपाल लाइफले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ भने ढाँटेर प्रचार गर्दै बिज्ञप्ति निकालेको रिजाको दाबी छ ।

उच्च अदालत पाटनकी सूचना अधिकारी नम्रता गैरेले बीमा प्राधिकरणबाट भएको फैसला उच्चबाट सदर भइसकेपछि कार्यान्वयनमा जाने बताईन् । ‘यहाँबाट सुरु अदालत बीमा प्राधिकरणमा पठाइसकेपछि फैसला त्यहाँबाट कार्यान्वयन गर्नुपर्छ’, उच्च अदालत पाटनकी शाखा अधिकृत गैरेले भनिन् ।

रिजालले भने नेपाल लाइफले बीमा प्राधिकरण तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सर्वोच्च अदालतको मुद्दाबारे अपूर्ण तथा भ्रामक विवरण पठाएको आरोप लगाएका छन् । उनका अनुसार सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ नै नभएको अवस्थामा कम्पनीले त्यसलाई फैसला कार्यान्वयन रोक्ने आधारका रूपमा प्रस्तुत गरिरहेको छ । आगामी माघमा मात्र उक्त मुद्दा सुनुवाइका लागि पेशीमा चढ्ने र निस्सा दिने वा नदिने विषयमा बहस हुने रिजालले बताए ।

यसअघि पनि बीमा दाबी भुक्तानीसम्बन्धी विवादमा अदालतले बीमा प्राधिकरणलाई निश्चित समयभित्र फैसला कार्यान्वयन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका दर्जनौं उदाहरण रहेका छन् । सगरमाथा इन्स्योरेन्सविरुद्ध गौरशंकर फर्निचरका राम कार्कीसम्बन्धी विवादमा उच्च अदालतले तत्काल फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।

 

नेपाल लाइफको पछिल्लो विज्ञप्ति राखिएको उसैको सामाजिक सञ्जालमा समेत कम्पनीको कार्यशैली र बीमा दाबी भुक्तानी प्रक्रियालाई लिएर व्यापक आलोचना भइरहेको छ । बीमा कम्पनीले आफ्ना ग्राहकलाई सहज रूपमा दाबी भुक्तानी दिनुपर्नेमा अदालतसम्म पुग्न बाध्य बनाउनु बीमाको मूल उद्देश्यविपरीत भएको भन्दै सर्वसाधारणले प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले बीमा प्राधिकरणको निर्णयपछि पनि कम्पनीले भुक्तानी नगर्नुको कारण के हो भन्दै नियामक निकायको भूमिकामाथि समेत प्रश्न गरेका छन् । बीमितले आफ्नो अधिकार प्राप्त गर्न वर्षौंसम्म कानुनी लडाइँ लड्नुपर्ने अवस्था आउनु दुःखद भएको उनीहरूको भनाइ छ । बीमा प्रशिक्षक एवं लेखक कमल पाण्डेले बीमा कम्पनीले दाबी भुक्तानी समयमा नगर्दा त्यसले कम्पनीको व्यवसाय र विश्वसनीयतामै नकारात्मक असर पार्ने टिप्पणी गरेका छन् ।

त्यस्तै, सामाजिक सञ्जालमा विपिन पाण्डे, मेरो सेरोफेरो, किराँती समिरलगायतले बीमा गराउने उद्देश्य नै भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट सुरक्षित रहनु भए पनि दाबी रकम लिन अदालत धाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै प्रश्न गरेका छन् । किराँती समिरले बीमा बचत र लाभांशका लागि मात्र नभई आकस्मिक आर्थिक जोखिम न्यूनीकरणका लागि गरिने उल्लेख गर्दै बीमितले आफ्नो अधिकार प्राप्त गर्न अदालतको ढोका ढकढक्याउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

संचार माध्यममा आएको समाचार गलत भए सम्बन्धित सञ्चार माध्यममाथि कानुनी कारबाही गरेर तथ्य पुष्टि गर्नुपर्ने, अन्यथा विज्ञप्ति जारी गरेर जिम्मेवारीबाट पन्छिन नहुने उनको टिप्पणी छ । यसैबीच, नेपाल लाइफबाट आफू पनि पीडित भएको दाबी गर्दै दिलबहादुर कुँवरले घातक रोगको उपचारमा १३ लाख रुपैयाँ बराबरको बिल पेश गर्दा कम्पनीले ८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको बताएका छन् ।

बीमा क्षेत्रमा देखिएको यस्तो विवादले नियामक निकाय नेपाल बीमा प्राधिकरणको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ । बीमा कम्पनीहरूलाई नियमन गर्ने र बीमितको अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको प्राधिकरणले अदालतबाट भएका फैसला तथा दाबी भुक्तानीसम्बन्धी निर्णय कार्यान्वयन गराउन किन प्रभावकारी भूमिका खेल्न सकेन भन्ने प्रश्न उठिरहेको छ ।

बीमा कम्पनीहरूले बीमा गराउँदा आकर्षक प्रतिफल, बोनस र आर्थिक सुरक्षाको आश्वासन दिने तर दाबी भुक्तानीको समय आएपछि अनेक प्रक्रिया र कानुनी जटिलता देखाउने प्रवृत्तिले समग्र बीमा क्षेत्रप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको छ । बीमा कम्पनीको वास्तविक जिम्मेवारी प्रिमियम संकलन गर्नु मात्र होइन, सम्झौताअनुसार जोखिम आइपरेका बेला बीमितलाई समयमै दाबी रकम उपलब्ध गराउनु पनि हो। त्यसैले १५ लाख रुपैयाँको दाबी भुक्तानी विवादमा उठेका प्रश्नहरूको नेपाल लाइफले तथ्य र कानुनी आधारसहित स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।

८ मंसिर २०८३, मंगलवार १९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा