पोखरा, नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशको दोश्रो अधिबेसनबाट प्रदेश सभापति सहितका केहि पदमा सर्वसम्मत भएपनि सभापति बहेका का पदाधिकारीमा भने सर्वसम्मत हुन् नसक्दा पूर्ण कार्यसमितिको घोषणा हुन सकेन। शनिबार सम्पन्न उद्घाटन समरोहको अन्त्यमा निर्बाचन समितिको तर्फबाट सभापति र एक महामन्त्री पदमा निर्बिरोध भएको भन्दै घोषणा गरिएको भएपनि उक्त घोषणाको तत्कालै प्रतिरोध भएपछी आइतबार दिनभर चलेको निर्बाचन प्रक्रिया र सहमतिको प्रयास पछि मात्र प्रदेश कार्यसमितिको सभापति र सदस्यहरुको घोषणा गरिएको थियो ।
शनिबार बेलुका उद्घाटन समारोहको समापन भएसंगै निर्बाचन समितिका संयोजक बिरेन्द्र केसीले प्रदेश कार्यसमितिको सभापतिमा मेखलाल श्रेष्ठ र महासचिबमा पोषनाथ शर्माको मात्र उमेदवारी परेको भन्दै निर्बिरोध निर्बाचित भएको घोषणा गरेका थिए। निर्बाचन कार्यतालिका सार्बजनिक नगरि र उमेदवारी मनोनयन फारम समेत अरु कसैलाई नदिएर एकाएक दुईजनाको मात्र उमेदवारी परेको भनेर घोषणा गरिएलगत्तै स्टेजमा रहेका नेता कार्यकर्ताहरुले निर्बाचन समितिका संयोजक केसी सहित उक्त घोषणा गर्न लगाउने केहि केन्द्रीय सदस्यहरुको बिरोध गरेका थिए ।
श्रोतका अनुसार गण्डकी प्रदेशका मन्त्री एबम बाग्लुंग कांग्रेसका पुर्व सभापति जित शेरचन, गण्डकी प्रदेशका सांसद एबम बाग्लुंग कांग्रेसका पुर्व सभापति दिपेन्द्र थापा मगर लगायत अन्यले पनि स्टेजमा नै बिरोध गरेपछि उक्त घोषणा गर्ने र घोषणा गरिएकाहरु समेत कार्यक्रमस्थलबाट बाहिरिएका थिए। निर्बाचन प्रक्रिया नै शुरु नगरिकन दुईजनालाई मात्र निर्बिरोध निर्बाचित भएको भनेर घोषणा गरिएकोमा आपत्ति प्रकट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले उक्त घोषणा फिर्ता लिएर आइतबार बिहान सुन्यबाट नै निर्बाचन प्रक्रिया शुरु गर्न निर्बाचन समितिलाई निर्देशन दिएका थिए।
केन्द्रीय सदाय पौडेलको निर्देशन अनुरुप नै आइतबार बिहान गण्डकी प्रदेश भित्रका जिल्लाका सभापतिहरु र केन्द्रिय सदस्यहरुको बिशेष बैठक बसेको र सोही बैठकको निर्णय अनुरुप नै अपरान्ह १२.३० बजेसम्ममा उमेदवारी दर्ता गराइएको थियो। त्यसपछि सहमतिको प्रयास गरिएको भएपनि सभापति बाहेकका अन्य पदाधिकारीमा सहमती कायम हुन नसक्दा सभापति र सदस्यहरुको मात्र घोषणा गरेर उनीहरुलाई प्रमाणपत्र र खादमाला लगाएर बधाई दिईएको थियो । निर्बिरोध निर्बाचितहरुको घोषणा गण्डकी प्रदेशका मन्त्री समेत रहेका बाग्लुंग कांग्रेसका निबर्तमान सभापति जित शेरचनले गरेका थिए ।
यसैबीच कांग्रेस केन्द्रीय सदाय किरण शर्मा पौडेलले शनिबार गरिएको घोषणा निर्बाचन प्रक्रिया अन्तर्गतको बिधि र प्रक्रिया बिपरित भएकोले त्यसलाई करेक्सन गरिएको र प्रदेश अधिबेशनमा सहभागी हुन आएका साथीहरुको भावनाको सम्बोधन गरिएको स्पष्ट पारे । ‘निर्बाचन कार्यक्रम सार्बजनिक गरि बिधिपूर्वक उमेदवारी दर्ता गराएर जिल्लागत रुपमा साथीहरु बसेर सम्भव भएसम्म सहमति कायम गराएपछि मात्र निर्बाचित हुने कार्यसमितिका सभापति एबम सदस्यहरुको नामावली घोषणा गरिएको हो’ केन्द्रीय सदस्य पौडेलले गुरुकुल खबरसंग भने। उनले आइतबार बिहान प्रदेश अन्तर्गतका बिभिन्न जिल्ला सभापतिहरुसंग बसेर पद विभाजन गराइएको र सोही अनुरुप परेका आबेदनलाई आधार मानेर सहमतिको प्रयास गरिएको स्पष्ट पारे।
प्रदेश कार्यसमितिका सभापति र सदस्यहरु निर्बिरोध भैसकेकोले घोषणा भैसकेको तर उपसभापति, महामन्त्री र सहमहामन्त्री र कोषाध्यक्ष समेतको पदमा सहमतीको प्रयास भैरहेकोले केहि दिनभित्रमा नै पदाधिकारीहरुमा सहमती कायम गराएर घोषणा गरिने केन्द्रीय सदस्य पौडेलले जानकारी गराए। कांग्रेसले प्रदेश कार्यसमितिको संख्या ६७ बाट बढाएर १ सय जनामा पुर्याईएको छ।
जसअनुसार कार्यसमितिको सभापति एक जना, उपसभापतिमा एक महिला, दुईजना खुला र एक जना मनोनित हुनेछ भने महामन्त्रीमा पनि एक जना समाबेशी, दुईजना खुल्ला र एक जना मनोनित हुने ब्यबस्था गरिएको छ। यसैगरी सहमहामन्त्रीमा एक महिला सहित तीनजना निर्बाचित र दुईजना मनोनित हुने ब्यबस्था गरिएको छ। मनोनित हुने पदाधिकारीहरु कार्यसमितिको सदस्यहरुबाट गर्नुपर्ने ब्यबस्था पार्टीको विधानमा गरिएको छ।
यसैबीच, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको उपसभापति पदमा कास्कीका गंगाधर पराजुली, उमाकुमारी ठकुरी, राजुराज अधिकारी र आशिक गुरुङको उमेदवारी परेको छ भने बाग्लुंगका नरेश कंडेल र ज्ञानेन्द्र गौतम, लमजुंगका विष्णुप्रसाद धिताल र राजकुमार पाण्डे, तनहुँका राजेन्द्र प्रकाश घिमिरे र चिजा श्रेष्ठ तथा गोरखाका संजय शिलवालको उमेदवारी पनि उपसभापति पदमा परेको छ। महामन्त्रीमा पर्बतबाट मोहन गुरुङ, लमजुंगबाट थिरबाबु परियार र कस्किबता पोषनाथ शर्माको उमेदवारी परेको छ।
यसैगरी, सहमहामन्त्री पदमा म्याग्दीका लोकबहादुर मल्ल, गोरखाका दिवसबाबु भट्ट, स्यांग्जाका महेन्द्र श्रेष्ठ (श्री प्रसाद), तनहुँका भक्तबहादुर श्रेष्ठ र इन्द्रप्रसाद पौडेल, बाग्लुंगका उमेश गौतम र नबिन गौतम, नवलपुरका राजु पाण्डे, नारायण प्रसाद पन्त र सतोइश नेउपाने, कास्कीका बाबुराम बस्ताकोटी र लमजुंगका प्रकाश नेउपानेको उमेदवारी परेको छ भने कार्यसमितिको सदस्यहरुमा ६४ जनाको उमेदवारी परेकोमा आबश्यकत अनुरुप सहमति कायम गरिएको बताइएको छ। सदस्यहरुको नामावली यस प्रकार रहेको छ।


यसैबीच, नेपाली कांग्रेसको १४ औं महाधिबेशनका सभापति एबम पुर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आँफु निर्घात कुटिएर पनि काल नआएका कारण बाँच्न सफल भएको बताएका छन। पोखरामा नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशको दोश्रो अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले जेनजीहरुको आव्हानमा भएको आन्दोलनमा जेनजीहरु कै कारण आफू बाँचेको समेत बताए ।
‘जेनजीहरुले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्, कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ ।’ पुर्व प्रधानमन्त्री देउवाले भने, ‘जेनजीको नाममा ५० वर्ष माथिकाले लाठो ल्याएर पिटेका हुन् । ढुङ्गा हाने । त्यसमा धेरै ठुलो षड्यन्त्र थियो ।’ सेना आउने बाटो समेत छेकेर आफू र श्रीमती आरजु राणामाथि कुटपिट गरियो तर जेनजी उमेरकाका बच्चाहरुले नै मलाई बचाएका हुन।

आंफुले बोल्नुपर्ने अबस्था सिर्जना भएकोले नै यस्ता कुरा भनेको भन्दै देउवाले भने ‘नबोली नहुने भएकोले बोलिरहेको छु । आरजु र मलाई मारिसकेका थिए, हामी बाँचेका हौँ । अहिलेसम्म घाउ परेको छ, ‘सेनाले हेलिकोप्टर समेत पठाएको हो, बचाउन । हेलिकप्टर ल्यान्ड गर्न दिएन । मेरो घर जाने बाटोमा सारा मान्छे बसिदिएर हो । पछि आर्मीले गाडी पठाएर क्याम्पमा गएर बस्यौँ ।’ देउवाले तत्कालिन अबस्थाको स्मरण गर्दै कार्यकर्ता सामु भने ।
उनले पदमा बसेका मान्छे मात्र नभएर कांग्रेसका स्वर्गीय भैसकेका नेताहरूका घरमा समेत आक्रमण गरिएकोमा भन्दै दुखेसो प्रकट गरे । ‘ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरो श्रीमती मन्त्री थिइन्, हान्यो ठिकै छ । गृहमन्त्री थिए, रमेश लेखक उनलाई हाने,’ तर स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा किन हानेको ? वीपीको बुवाले बनाएको बिराटनगरस्थित घर अर्थात कोइराला निवासमा हाने, गणेशमान सिंहको घर हाने। देशभरि हाम्रो पार्टीको कार्यालयमा हाने । यो सबै कुरा कांग्रेसको खिलापमा भएको षड्यन्त्र हो भन्ने बुझ्नुपर्छ ।’उनको भनाई थियो।
आफूमाथि आक्रमण गर्नुपर्छ भन्नेहरूलाई नै गगन थापाले टिकट वितरण गरेको गम्भीर आरोप लगाउंदै देउवाले भने । ‘शेरबहादुर देउवाको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई टिकट दिईयो । मलाई मार्नुपर्छ भन्नेलाई पनि टिकट दिईयो ४ नम्बरमा, अहिले स्पष्ट भइसकेको छ, यो चाहिँ देशभर हाम्रो नेताजीहरूको घरमा आगो लगाउने र हामीलाई मार्न खोज्ने को को छ भन्ने कुरा ।’

विशेष अधिवेशनको बारेमा वैधानिकताको जाँच गर्नुपर्ने उनको तर्क थियो। ‘विशेष अधिवेशन गर्न पाइन्छ । सुवर्ण शमशेरले विशेष अधिवेशन गर्नुभएको हो । यसमा ४० प्रतिशतले सहीछाप गर्नुपर्छ र त्यो कुरा सभापतिलाई लेखेर दिनुपर्छ, थाहै छैन । कसैले माग पनि गरेको छैन । विशेष भनेपछि विशेष नै हुनुपर्छ नि । सनाखत कसले गरेको छ ? हस्ताक्षर ठिक हो कि होइन ?’ मा आँफु सभापति, तर मलाई नै यो सबै थाहा छैन। ”
विशेष महाधिवेशन पार्टी कब्जा गर्ने षड्यन्त्र भएको आरोप लगाउंदै उनले त्यसको खिलाफमा जानुपर्ने आफ्नो कर्तव्य भएको स्पष्ट पारे। आफूले पार्टी र देशबाट धेरै कुरा पाईसकेकोले अब देशका लागि कर्तव्य पूरा गर्न क्रियाशिल रहने उनको भनाइ थियो । ‘मैले पाउनुपर्ने पाइसकेँ। मलाई केही चाहिएको छैन । ५ पटक प्रधानमन्त्री भइसकेँ अब देशलाई दिनु बाहेक केही छैन । यो राष्ट्रलाई र यो लोकतन्त्रलाई अझ मजबुत गर्नुछ, गणतन्त्रलाई मजबुत गर्नुछ । त्यस कारण मेरो कर्तव्य एउटै छ,अबको समय देशको लोकतन्त्रका लागि आफूलाई समर्पित गर्ने समय हो ।
सोही कार्यक्रममा सम्बोधन गर्दै १५ औं केन्द्रीय महाधिबेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको नियमित महाधिवेशन पार्टी जीवनको निरन्तरता भएको बताए। धेरै कार्यकर्ताहरूले अहिलेको अवस्थामा पार्टीमा धेरै अप्ठ्यारा आइरहेको गुनासो गरेपछि उनले अहिले कुनै समस्या नरहेको बरु पार्टी निर्माणका समयमा आफूहरूले भोगेको अप्ठ्यारा सुनाए ।
‘तपाईंहरु भन्नुहुन्छ, अहिले पार्टीमा अप्ठ्यारो छ । तर अहिले भन्दा बढी अप्ठ्यारो हामीले भोगेर आएका हौँ, कोइरालाले अगाडी भने ‘बीपी कोइराला बनारसमा बस्नुहुन्थ्यो । गिरिजाले भन्नुभयो पैसाका लागि हाइज्याकिङ गर्नुभयो, बीपी कोइरालालाई सोधेर गरिएको होइन । बीपीले हाइज्याकिङ थाहा छ भनेर सोध्नुभयो । गिरिजाले शान्तिपूर्ण हुन्छ भन्नुभयो । त्यो अप्ठ्यारो थियो । अहिले त लोकतन्त्र आएको छ, अधिकार संविधानले दिएको छ ।’ संविधान निर्माणमा सुशील कोइरालाको भूमिका महत्वपुर्ण रहेको भन्दै उनले धन्यवाद दिए ।

गण्डकी प्रदेश अधिबेशन तयारी समितिका संयोजक मेखलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा कांग्रेस नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, उमाकान्त चौधरी, कांग्रेस केन्द्रीय सदस्यहरु डा. प्रकाश शरण महत, मोहनबहादुर बस्नेत, एनपी सावद, शंकार भण्डारी, जितजंग बस्नेत, किरण पौडेल, गुरु बराल, सिता पाण्डे, भुपेन्द्र जंग शाही, नेपाल तरुण दलका अध्यक्ष दिल लामा, नेविसंघका अध्यक्ष सिर्जना मल्ल, कास्की कांग्रेसका सभापति ऋषिराम काफ्ले र पर्वत कांग्रेसका सभापति यमबहादुर मल्ल (रामकृष्ण) लगायतका बक्ताले आआफ्नो भनाई राखेका थिए














