स्याङ्गजा, नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अरुलाई तर्साएर शासन गर्ने प्रयास नगर्न बर्तमान सरकारलाई चेतावनी दिएका छन् । कांग्रेस जीवित रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने भन्दै उनले निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा आज वालिङमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसलाई कमजोर बनाएर देशको लोकतान्त्रिक व्यवस्था नै कमजोर पार्ने प्रयास भइरहेको बताए ।
‘निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त हुँदैन,’ उनले भने, ‘शासन विधिअनुसार चल्नुपर्छ । संविधानभन्दा माथि कोही छैन ।’ कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले राजनीतिक विषयलाई अनावश्यक रूपमा कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ थियो । अदालतमा मुद्दा पर्दैमा पार्टीको गति नरोकिने र नेतृत्वमा असर नपर्ने उल्लेख गर्दै उनले मुद्दा चल्दैमा दुईवटा कांग्रेस वा दुई जना सभापति नहुने बताए । एउटै झण्डामुनि दुई पार्टी र दुई नेतृत्व हुन नसक्ने उनको तर्क थियो ।

पार्टीको आन्तरिक विवादमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने भन्दै पौडेलले कसैले आफ्नो स्वार्थका लागि पार्टीलाई कमजोर बनाउन नहुने बताए। विधिको शासन सबैले पालना गर्नुपर्नेमा जोड दिँदै उनले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे । गलत काम गर्ने जोसुकै भए पनि छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार नागरिकको जनस्तरसम्म पुगेर काम गर्न असफल भएको आरोप पनि पौडेलले लगाए । झन्डै दुईतिहाइ समर्थन पाएको सरकारप्रति नागरिकका अपेक्षा धेरै रहेको भन्दै उनले जनहितलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिए । संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितका समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको उनको आरोप थियो । सरकारले नागरिकका मुद्दामा आवश्यक कदम चाल्न सके कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उनले बताए ।
‘नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ,’ उनले भने । सरकारका राम्रा काममा सहयोग र गलत कामको विरोध गर्ने कांग्रेसको नीति रहेको उल्लेख गर्दै पौडेलले नागरिकका आवश्यकता र समस्यालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । नागरिकका मुद्दा उठाउन नसक्ने पार्टी कांग्रेस हुन नसक्ने भन्दै उनले बेथिति हटाउन र जनताका पक्षमा काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले निर्वाचनमा पराजय बेहोरे पनि विचारको जित कायम रहेको उनको भनाइ थियो । नागरिकका पक्षमा काम गर्न नसक्दा पार्टीले चुनावमा हार बेहोर्नुपरेको समीक्षा गर्दै उनले कांग्रेस राजनीतिको विश्वविद्यालय भएको बताए । कांग्रेसको इतिहास बलिदानसँग जोडिएको उल्लेख गर्दै उनले लोकतन्त्रको सुरुवात र विकासमा पार्टीको योगदान रहेको दाबी गरे ।
२०१५ सालमा बीपी कोइरालाले अघि सारेका एजेन्डा मात्रै दोहोर्याएर अहिलेको राजनीति अघि बढ्न नसक्ने भन्दै पौडेलले बीपीका विचार र एजेन्डामा टेकेर वर्तमान समयका आवश्यकता सम्बोधन गर्नुपर्ने बताए । पार्टीमा पद र जिम्मेवारी पाउनु मात्रै ठूलो कुरा नभई जिम्मेवारी पाएपछि के काम गर्ने भन्ने मुख्य विषय भएको उनले बताए । जिम्मेवारी पाएका र नपाएका सबैले समान दायित्वबोधका साथ संगठन बलियो बनाउनुपर्ने उनको भनाइ थियो । उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने जानकारीसमेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस अन्य राजनीतिक दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कांग्रेसको इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट पार्न सके पार्टी आफ्नो गौरवशाली अवस्थामा फर्किन सक्ने उनको भनाइ थियो । सत्यको मृत्यु हुँदा अराजकताले शासन गर्ने अवस्था आउने उल्लेख गर्दै शर्माले अहिले देशमा त्यस्तै परिस्थिति देखिएको बताए । उनले नेता तथा कार्यकर्तालाई सत्य बोल्न नछाड्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, सुवास शर्मा, तिलक रानाभाट, युवराज पाण्डे, खुमाप्रसाद अर्याल र अनुप श्रेष्ठलगायतले नवनिर्वाचित प्रदेश कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । जिल्ला सभापति राजु थापाले पार्टी संगठन र आगामी राजनीतिक यात्राबारे धारणा राखेका थिए ।
वालिङ नगरसभापति पदम गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रदेश सभापतिका निकटतम प्रतिस्पर्धी छवि आले र निवर्तमान प्रदेश सभापति अर्जुन खनालले पनि धारणा राखेका थिए । नवनिर्वाचित क्षेत्र नम्बर २ (क) का पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो । क्षेत्र नम्बर २ (क) का प्रदेश सभापति यामप्रसाद अधिकारी(लक्ष्मण)को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजु तिवारीले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित प्रदेश कार्यसमितिलाई पद हस्तान्तरणसँगै संगठन सुदृढीकरण र पार्टीको आगामी राजनीतिक रणनीतिबारे प्रशिक्षणसमेत दिइएको थियो ।














