हेटौँडा, काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी मकवानपुरको भीमफेदी गाउँपालिका नम्बर ६ स्थित चिसापानी गढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । बिहीबार बिहान करिब स्वा ६ बजेतिर भएको उक्त दुर्घटनामा परेको गाडी सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । गाडीमा चालक सहित २० जना सवार रहेको बुझिएको छ ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मीले दुर्घटनास्थलबाट ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याएकोमा त्यसपछि थप तीन जनाको शव दुर्घटनास्थलमा फेला परेको थियो । पछि फेला परेका ती तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमध्ये ११ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका नम्बर ४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव र २५ वर्षीय सुबोध यादव रहेका छन् । सोही ठाउँकी आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दीपिका कुमारी यादव र ११ वर्षीया अनुराय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्डु राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादवको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनामा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका नम्बर ८ का ३० वर्षीय रवि शंकर कुमार मण्डलको समेत ज्यान गएको छ। उक्त दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३ जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका नम्बर ४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।
अन्य तीन जना घाइतेलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको छ । चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव रहेका छन् । रिफर गरिएकामध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ । अन्य दुई बालकको अवस्था भने मध्यम रहेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सवार कुल २० जनामध्ये १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि भएको छ।













