पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको हो । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो ।
आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषित गरेको हो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत देखिए पनि घटनाको यथार्थ विवरणबारे सूक्ष्म अनुसन्धान जारी रहेको बताए । प्रहरीले दुर्घटनाको कारण र समय पहिचानका लागि थप प्राविधिक तथा अनुसन्धानमूलक विधिहरू अपनाइरहेको जनाएको छ ।
यसैबीच, रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार बिहान आठबिसकोट नगरपालिका – ५, थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेर भएको दुर्घटनामा परि घाइते भएकामध्ये केहीको अबस्था गम्भीर रहेको छ भने केहीको अवस्था सामान्य छ । घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।













