बिराटनगर, पूर्वी नेपालको धनकुटा जिल्लामा पर्ने साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणी नदीमा आइतबार दिउँसो भएको पानीबोट दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । दुर्घटनामा घाइते भएका १ जनाको स्थानीय चतरा अस्पतालमा उपचार भइरहेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ यात्रु लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरा जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट दिउँसो करिब २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पानीबोटको ब्रेक फेल हुँदा भएको दुर्घटनापछि प्रहरीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राईसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा करिब ६ वर्षीया बालिका र ४० वर्षीय १ पुरुष पनि छन् ।
यसैगरी दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका केही व्यक्ति पौडी खेलेर सकुशल बाहिर निस्किएका थिए । उद्धार गरिएका अन्य यात्रु पनि घर फर्किएका छन् । पानीबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगरलाई प्रहरी चौकी बराहक्षेत्रले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको धनकुटा प्रहरीको भनाई छ ।













