Play

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको कांग्रेसमा पराजय : मतगणनामा चौथो नम्बरमा परेका पाण्डेले अब के गर्लान ?

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाली काँग्रेसको उपसभापतिमा पराजित भएका छन। नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गतको मतगणनाको पछिल्लो परिणाम अनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक मत ३ हजार ७३५ र ई. मधु आचार्यले २ हजार ३४२ मत पाएर बिजयी बन्दा प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२ मत, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३ मत, धनराज गुरुङले १ हजार ५९६ मत, दीपक गिरीले ९२३ मत र प्राडा चन्द्रमोहन यादवले ७६० मत मात्र पाएका थिए। यो मत परिणाम अनुसार उपसभापतिको दौडमा रहेका गण्डकीका मुख्यमन्त्री पाण्डेले चौथो स्थान प्राप्त गरेर पराजय भोग्नुपरेको छ।

लामो समयदेखि नेपाली कांग्रेसमा शेरबहादुर देउवाको समुहमा रहेर पटक पटक पार्टीको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य, राष्ट्रिय सभामा प्रमुख बिपक्षी दलको नेता बनेका उनि २०७९ को प्रदेश सभाको निर्बाचनमा गोरखा जिल्लाबाट प्रदेश सांसदमा निर्बाचित भएका हुन। माओबादीको उद्गमस्थल मानिने गोरखा जिल्लासहित देशभर तत्कालिन सभापति शेरबहादुर देउवाको पहलमा कांग्रेसले माओबादी लगायतका केहि दलसंग चुनाबी गठबन्धन गरेको थियो। सोही गठबन्धनको बलमा गोरखाको माओबादी प्रभाव रहेको गोरखा जिल्लाबाट माओबादीकै मतको आधारमा पाण्डे प्रदेश सांसद निर्बाचित भएका हुन् ।

उनि प्रदेश सांसद बनेर आएपछि उनलाई गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको नेता बनाउने भूमिकामा पनि देउवा र उनको समूह सक्रिय बन्यो। त्यसबेला डा. शेखर कोइराला र उनको समुहमा रहेका गगन थापा पक्षका प्रदेश सांसदहरुले भोजराज अर्यालको पक्षमा मतदान गरेको भएपनि नेता देउवाको पहलमा पाण्डे संसदीय दलको नेता निर्बाचित भएका थिए। अर्याल र पाण्डेको प्रतिष्पर्धामा पाण्डेले फराकिलो मतान्तरमा संसदीय दलको नेता बन्ने अवसर पाएका थिए ।

पाण्डे कांग्रेसको गण्डकी प्रदेशको संसदीय दलको नेता निर्बाचित भएको केहि समयमा केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुन पुगेको थियो। त्यसपछि नेपाली काँग्रेस र नेकपा एमालेको बिचमा सत्ता सहकार्य गर्ने समझदारी बन्यो। एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाबिच भएको सहमति अनुसार देउवाकै पहलमा गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा पारियो। जसका कारण निकै अस्थिर र अलमलमा परेको गण्डकीको मुख्यमन्त्री पद राजनीतिक रुपमा स्थिर ढंगले चल्ने बाताबरण तयार भयो। पाण्डेले प्रदेश सभाको दोश्रो ठुलो दल एमालेको सहयोगमा ढुक्कले मुख्यमन्त्री चलाउने मौका पाए।

समय बित्दैजाँदा नेपाली काँग्रेसमा देउवा फेरी सभापति नबन्ने कुरा सार्बजनिक भएपछि पाण्डेले देउवाबाट थप उपलब्धि प्राप्त हुने सम्भावना देखेनन। त्यसपछि उनि डा. शेखर कोइरालाको नजिक पुग्ने प्रयासमा लागे। सोही अनुरुप डा. शेखर कोइराला पोखरा आउँदा उनले कोइराला र उनका समर्थकलाई मुख्यमन्त्री निवासमै बोलाएर राम्रो आतिथ्यता समेत दिलाएका थिए । यसबीचमा पार्टीमा गगन थापको छुट्टै बलियो समूह  बन्नसक्ने सम्भावना देखेपछि गगन समुहमा सक्रिय गोरखा कांग्रेसका सभापति समेत रहेका प्रदेश सांसद नन्दप्रसाद नेउपाने मार्फत गगन थापासंग नजिकिंदै गए।

गगन थापासंग नजिक हुनको लागि उनले गोरखाका प्रदेश सांसद नन्दप्रसादलाई दलको प्रमुख सचेतक त बनाएका थिए नै, त्यसमाथि बिभिन्न नियुक्तिमा समेत थापा निकटका र थापाले सिफारिस गरेकाहरुलाई नै अवसर दिलाए। यसैक्रममा कोइराला निकट मानिएका लमजुंगका प्रदेश सांसद भेषबहादुर पौडेललाई गगन समुहमा आबद्द गराएर प्रदेश सरकारको मन्त्री बनाएका पाण्डेले पछिल्लो समय गगन थापा समुहका गोरखा कांग्रेसका सभापति नेउपानेलाई दलको प्रमुख सचेतकबाट मन्त्री नियुक्त गरे। गगन थापालाई रिझाउनको लागि उनले थापा निकटका नेउपानेलाई अर्को पटक मन्त्रीमण्डल पुनर्गठन गरेर प्रदेशको शक्तिशाली मन्त्रालय भोतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयको जिम्मेवारी दिएका छन। यसैगरी गगन थापासंग निकट बन्नकै लागि थापा निकट मानिएका प्रदेश सांसद प्रकाश बराललाई पहिले सचेतक र पछिल्लो समय प्रमुख सचेतक नै बनाएका छन ।

लामो समय देउवाको समुहमा रहेर थुप्रै अबसर लिएका पाण्डेले तत्कालिन सभापति देउवाले नै कार्यबाहक सभापति तोकेका पूर्णबहादुर खड्का समेत शक्तिमा आउनसक्ने सम्भावना पनि देखेका थिए। सोही अनुरुप उनि खड्कासंग पनि एक किसिमको सम्बन्धमा रहिरहे । आँफु देउवा समुहको भएकोले देउवाको बहिर्गमनपछि खड्कासंग रहने बिश्वास दिलाएका पाण्डे सोही समुहका केहि नेताहरुलाई देखाएर १५ औं महाधिबेशन अगाडी गगन थापासंग पदको बार्गेनिंग गर्न सफल भए।

जसअनुसार देउवा र खड्का समुहमा रहेका तथा केहि मध्यमार्गी नेताहरुसहित ३०/३२ जनाको समूह १५ औं महाधिबेशनमा सहभागी बन्ने र त्यसको सट्टा केन्द्रीय समितिका केहि महत्वपुर्ण पदमा गगन थापासमेतको समुहले सहयोग गर्ने सहमती भयो। सोही सहमती अनुसार गण्डकीका मुख्यमन्त्री पाण्डे पार्टीको केन्द्रीय समितिमा खुल्ला तर्फबाट उपसभापतिको उमेदवार बने भने महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दिईन। अन्य केहि नेताहरुले केन्द्रीय सदस्यमा उमेदवारी दिए भने केहीलाई गगन थापाले बिभिन्न आश्वासन दिएर उमेदवार बन्नबाट रोके।

यस अगाडी पार्टीको १४ औं महाधिबेशनमा महामन्त्रीको उमेदवार बनेका तत्कालिन सरकारका रक्षा मन्त्री मिनेन्द्र रिजालले आँफु पार्टीको महाधिबेशनमा महामन्त्री पदमा पराजित भएको भन्दै नातिकताको आधारमा सरकारको रक्षा मन्त्री पदबाट राजीनाम दिएका थिए। उक्त महाधिबेशनमा ४ हजार ६८२ जनाले मतदान गरेकोमा महामन्त्रीमा विजयी गगन थापाले ३ हजार ०२३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत ल्याएर विजयी भएका थिए । महामन्त्रीका अर्का प्रत्याशी मिनेन्द्र रिजालले शर्माले ८०९ मत पाएका थिए।

त्यस महाधिबेशनमा थापा र मीनेन्द्र रिजाल शेखर कोइराला प्यानलबाट, प्रकाशशरण महत र प्रदीप पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट, शर्मा प्रकाशमान सिंह प्यानलबाट अनि राजाराम कार्की विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार बनेका थिए। यसपटक गगन थापा समुहको विश्वासमा उमेदवार बनेका गण्डकीका मुख्यमन्त्री पाण्डेले अघिल्लो महाधिबेशनमा नैतिकताको आधर देखाउंदै राजीनाम दिएका रिजालको जस्तै मुख्यमन्त्री पदबाट राजिनामा देलान वा त्यस्ता कुरालाई वास्ता नगरी पदमै बसिरहलान भन्ने चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ। तर आम कांग्रेसजनमा मुख्यमन्त्री पाण्डेले के गर्लान भनेर चर्चा चलिरहेको भएपनि उनले मुख्यमन्त्री पदबाट राजीनामा देलान भन्ने विश्वासमा भने कार्यकर्ता देखिएका छैनन ।

यसैबीच, उपसभापतिमा पराजित गण्डकीका मुख्यमन्त्री पाण्डेले आंफ्नो सामाजिक संजाल फेसबुकमा उपसभापति पदको निर्वाचन परिणाम आंफ्नो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्श, मूल्य मान्यता तथा अग्रजहरूको त्याग र योगदानबाट प्राप्त विरासत प्रतिको निष्ठा अटल रहेको उल्लेख गरेका छन।

यस अभियानमा आंफ्नो साथ सहयोग र सहकार्य सदैव रहने भन्दै पाण्डेले भनेका छन।’निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता रहेकोले हामी सबै मिलेर नेपाली कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास जित्ने यात्रामा अघि बढौँ।’ उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विजयी भएकाहरूलाई बधाई सफल कार्यकालको शुभकामना प्रकट गर्नुको साथै प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउन यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको पनि उल्लेख गरेका छन।

२६ आश्विन २०८३, सोमबार १२:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा