काठमाडौँ, नेपाली कांग्रेसको काठमाडौँमा जारी महाधिबेशन अन्तर्गत खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्यएबम समाबेशी तर्फको उपसभापतिमा बिनोद चौधरी विजयी भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अन्य प्रतिष्पर्धीहरु गोविन्द भट्टराई, दीपक गिरी, डा. चन्द्रमोहन यादव, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र धनराज गुरुङलाई पछि पार्दै डा. भण्डारी र आचार्य खुला तर्फको उपसभापतिमा र जीवन परियार, रञ्जित कर्ण, फरमुल्लाह मन्सुर र सीता गुरुङलाई पछि पार्दै बिनोद चौधरी समाबेशी तर्फको उपसभातिमा निर्वाचित भएका हुन ।
भण्डारीले सर्बाधिक मत ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत पाएर खुला उपसभापतिमा निर्वाचित भएका हुँदा चौधरीले १ हजार ७४५ मत सहित समाबेशी उपसभापति निर्बाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी परियारले १ हजार ६५८ मत ल्याए ।
को हुन चन्द्र भण्डारी ?
उपसभापतिमा निर्बाचित भण्डारी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघबाट राजनीति गरेका नेता हुन् । साढे ३ वर्षअघि बुद्धनगरस्थित उनको डेरामा आगलागीको घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई भारतमा लगेर उपचार गरेपछि गम्भीर अबस्थामा रहेका भण्डारीको स्वास्थ्य ठिक भएको हो । आगलागीमा परेको अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी झिनो मतले उपसभापतिमै पराजित भएका थिए । यसपटक अर्थात १५औँ महाधिवेशनको जारी मतगणनामा भने भण्डारीले सुरुदेखि नै फराकिलो मतान्तर कायम राख्न सफल भएका थिए।
२०७८ साल मंसिरमा भएको पार्टीको १४ औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसबेला उपसभापतिमा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर समूहका धनराज गुरुङले जितेका थिए । खड्काले २१२१ र धनराजले १९०८ मत प्राप्त गर्दा भण्डारीले १५८० मत मात्र प्राप्त गरेको कारण उनि उपसभापति निर्बाचित हुन् सकेको थिएनन । दुई पटकसम्म गुल्मीबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका भण्डारी २०७० सालमा गुल्मी– २ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी– १ बाट निर्वाचित भएका थिए । भण्डारी २०७४ र २०८२ सालमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।
को हुन् मधु आचार्य ?
खुला उपसभापतिमा निर्वाचित आचार्य पेसाले इञ्जिनियर हुन् । काभ्रेका बासिन्दा आचार्य सभापति गगन थापा र बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका विश्वासपात्रका रुपमा चिनिन्छन् । कांग्रेसको बिशेष महाधिबेशनपछि पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर काम गरिरहेका आचार्य यस अगाडी कांग्रेसको काभ्रे जिल्ला सभापति रहेर काम गरिसकेका छन। उनि कांग्रेसको १४ औँ महाधिवेशनबाट र गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
आचार्य दम्पती दुवै जना कांग्रेसको राजनीतिमा छन् । उनकी श्रीमती कमला पन्त कांग्रेसको राष्टिय सभा दलको नेता छिन् । गत पुसमा विशेष महाधिवेशन हुँदा सुरुबाट सभापति थापालाई साथ दिने मध्यका एक आचार्यलाई सभापति थापाले उपसभापति वा महामन्त्री बनाउने बचन दिएको कुरा महाधिवेशन अगाडि नै बाहिरिएको थियो । सोही अनुरुप उनि उपसभापति निर्बाचित हुन सफल भएका हुन।
को हुन बिनोद चौधरी ?
नेपाली काँग्रेसको जारी महाधिबेशनबाट समावेशी तर्फको केन्द्रीय उपसभापतिमा निर्बाचित विनोद चौधरीले आंफ्ना प्रतिष्पर्धीहरु जीवन परियार, रञ्जित कर्ण, फरमुल्लाह मन्सुर र सीता गुरुङलाई पछि पारेका छन । चौधरीले १,७४५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी परियारले १,६५८ मत ल्याए । नेपालका ठुला उधोगीहरु मध्येमा चिनिने उनि चौधरी ग्रुपका अध्यक्ष समेत हुन।
उपसभापतिमा निर्बाचित चौधरी २०७९ मा कांग्रेसबाट प्रतिनिधि सभामा नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । तर २०८२ सालको फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने उनी रास्वपा नेता विक्रम खनालसँग पराजित भए । त्यो भन्दा अगाडि चौधरी नेकपा एमाले एबम अन्य पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । चौधरी कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । भने गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए ।













