पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १८ अधेरीकुनामा घर निर्माण कार्यमा संलग्न दुई जना युवकको मृत्यु भएको छ। घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नम्बर ६ फलामखानीका २९ बर्षीय बिक्रम सुनार र गोरखा पालुङ्टार नगरपालिका वडा नम्बर ७ का ३९ बर्षीय राजु कुमाल रहेको प्रहरीले जनाएको छ।
बिहिबार दिउँसो घरको जग खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरू पुरिएका र घट्नाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको २४ नम्बर कालिका गण मालेपाटनबाट प्रहरी सहायक निरीक्षक सुजित कुमार यादवको कमान्डमा १३ जनाको विपद् व्यवस्थापन टोली उद्धारको लागि खटिएको थियो।

उनीहरु दिउँसो तिन बजेपछि घटनास्थलमा खटिएकोमा अपरान्ह साढे ४ बजे र साँझ ६ बजे पुरिएको अवस्थामा दुई युवकहरूलाई अचेत उद्वार गरेको थियो। उद्धारपश्चात दुबैजनालाई थप उपचारका लागि नेपाल प्रहरीले पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लागिएको भएपनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।












