पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको बुधबार सम्पन्न दोश्रो अधिबेशनले अर्जुन खनाललाई अध्यक्षमा निर्बाचित गरेको छ। अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका निबर्तमान सभापति पञ्चराम गुरुङलाई २५ मतले पराजित गर्दै खनाल खनाल निर्वाचित भएका छन् । खनालले १ सय ८९ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी गुरुङले १ सय ६४ मत मात्र प्राप्त गरेका थिए । अधिबेशनमा ४ सय २८ मतदाता रहेको अधिवेशनमा ३ सय ६० जनाले मतदान गरेको र ७ मत बदर भएको बताइएको छ । अध्यक्ष पदमा सहमतिको प्रयास गरिएको भएपनि सहमति जुट्न नसकेपछि नेतृत्वका लागि मतदान भएको हो ।
अध्यक्षमा निर्वाचित खनाल राप्रपाका केन्द्रीय सदस्य एबम केन्द्रीय पर्यटन विभागका सदस्यसमेत हुन् । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा खनालले कास्की–३ बाट उमेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । यसैगरी यस अगाडी राप्रपाको गण्डकी प्रदेशको अध्यक्ष रहेका गुरुङ प्रदेश सभामा राप्रपाका संसदीय दलका नेतासमेत हुन् । उनले गण्डकी प्रदेश अध्यक्षका रूपमा चार वर्षको कार्यकाल पूरा गरेका थिए ।
पार्टीको दोश्रो प्रदेश अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको भएपनि कार्यसमितिका सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिमा अशोक गुरुङ, अर्जुन बस्नेत, इन्द्रबहादुर मल्ल, कृष्णकुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बरबहादुर सुवेदी, दीपक भण्डारी, दीपकराज उपाध्याय, दुर्गाबहादुर मल्ल, पूर्णबहादुर थापा क्षेत्री, प्रभू गुरुङ, कुलमाया कामी, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनीष केसी, यामबहादुर बराल, रमेशराज पाण्डेय, रामनाथ उप्रेती, समीक्षा बुढाथोकी थापा र शान्ति हमाल छन् । सुशीला सापकोटा थापासहितका सदस्यहरु पनि निर्वाचित भएका छन् ।
पार्टीको बिधान अनुसार अध्यक्षले कार्यसमितिको बाँकी २५ प्रतिशत सदस्य मनोनीत गर्ने एबम पदाधिकारी चयनको जिम्मेवारी पनि अध्यक्षकै रहनेछ । प्रदेश कार्यसमितिमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्यवस्था छ । त्यसमध्ये एक उपाध्यक्ष महिला हुनेछन् । सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनीत गर्ने ब्यबस्था विधानमा गरिएको छ ।
अधिवेशनको निर्वाचन अमृत पुडासैनी नेतृत्वको निर्वाचन समितिले गराएको हो । यसअघि अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले गरेका थिए । उनले पार्टीभित्र सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारका कामको समीक्षा गर्दै सकारात्मक पक्षलाई स्वीकार गर्न र नराम्रा कामको विरोध गर्नुपर्ने उनको भनाइ थियो ।












