पोखरा, नेपाली काँग्रेसको जारी १५ औं महाधिबेशनमा कास्की जिल्लाबाट महाधिबेशन प्रतिनिधि बनेकाहरुमध्ये २१ जनाले बिभिन्न पदमा उमेदवारी दिएको छन। जसअनुसार पार्टीको केन्द्रीय उपसभापति खुल्ला तर्फ देबराज चालिसे र समाबेशी तर्फ जिबन परियारको उमेदवारी परेको छ। खुल्ला तर्फको उपसभापतिको लागि दुई जना चाहिनेमा चालिसेसहित ९ जनाको उमेदवारी परेकोमा केहिले आज आंफ्नो उमेदवारी फिर्ता लिंदैछन। समाबेशी उपसभापति तर्फको एकजनामा परियार सहित ५ जनाको उमेदवारी परेको छ।
कास्की जिल्लाबाट पदाधिकारीमा उमेदवारी दिएका चालिसे र परियार बाहेक अन्यले केन्द्रीय सदस्यमा उमेदवारी दिएको छन। सहमहामन्त्री पदमा उमेदवारी घोषण गरेका कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित सबैले बिभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएको छन। जसअनुसार खुला तर्फको ४५ जना चाहिनेमा कास्कीका किरण केसी, डा. कृष्णप्रसाद पौडेल र तिलक रानाभाटको उमेदवारी परेको छ ।
खुला महिला तर्फ १५ जना चाहिनेमा कास्कीकी नम्रता बराल, लक्ष्मी पाण्डे र सरिता तिमिल्सिना पगेनीको उमेदवारी परेको छ । यसैगरी खस आर्य महिला तर्फ ८ जना चाहिनेमा कास्कीकी हिरा भट्टराईको उमेदवारी परेको छ। खसआर्य तर्फबाट खुला केन्द्रीय सदस्यमा कास्कीका कृष्णबहादुर केसीको उमेदवारी परेको छ।
यसैगरी अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा देबेन्द्रकुमार शेरचन, पेशागत बिज्ञतर्फको केन्द्रीय सदस्यमा कास्की -१ का डा. विनायक पण्डित र कास्की -३ का.यमकृष्ण पौडेलको उमेदवारी परेको छ। बेलायतबाट अर्थशास्त्रमा पिएचडी गरेका पण्डित काठमाडौँ बिश्वबिधालयको प्राध्यापन पेशा छोडेर कांग्रेसको राजनीतिमा होमिएका हुन। यसैगरि ३५ बर्ष मुनिको युवा तर्फको केन्द्रीय सदस्यमा सौगात थापा, श्रमिक तर्फको केन्द्रीय सदस्यमा जीतबहादुर गुरुङले उमेदवारी दिएका छन ।
कास्की जिल्ला घर भएपनि बिभिन्न मुलुकमा बस्दै आएका अन्य चारजनाको पनि केन्द्रीय सदस्यमा उमेदवारी परेको छ। जसअनुसार नेपाली जनसम्पर्क समितिको तर्फबाट २ जना महिला केन्द्रीय सदस्य चाहिनेमा रबिना थापाले उमेदवारी दिएकी छन। उनि गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समितिको अध्यक्ष रहेर काम गरिसकेकी छन।
यसैगरी कास्कीका पूर्ण तिमिल्सिना र विश्वआदर्श पण्डितले युरोप क्षेत्रबाट र बिमल सुबेदीले मध्यपुर्व क्षेत्रबाट केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएको छन। यसैगरी दलित तर्फको केन्द्रीय सदस्य पदमा कास्की -३ का मनबहादुर बिश्वकर्माले पनि उमेदवारी दिएका छन ।
मंगलवार बेलुकासम्म उमेदवारी दर्ता गराएकाहरुले आंफ्नो उमेदवारी फिर्ता गर्ने समय बुधवार सम्म राखिएको छ। तसर्थ केहि उमेदवारहरुले आज बुधबार बिहान सम्ममा उमेदवारी फिर्ता लिएमा यो संख्या केहि घट्न सक्नेछ। आज दिनभर उमेदवारको लागि प्रचार प्रसारको समय निर्धारण गरेर बिहिबार बिहान ७.३० बजेबाट मतदान हुने भएको छ।













