दमौली, नेपाली कांग्रेस तनहुँमा पार्टीको १५ औं महाधिवेशन अन्तर्गतका बिभिन्न तहका अधिबेशन सम्पन्न गर्नको लागि गठित जिल्ला तयारी समिति तनहुँको बिस्तार गरिएको छ । समितिको संयोजक प्रा.डा. कृष्णप्रसाद गौतमको अध्यक्षतमा शुक्रबार बसेको बैठकले तयारी समिति बिस्तार गरेको हो ।
अधिबेशन तयारी समितिका सचिव माधव खनालले दिएको जानकारी अनुसार समितिको सदस्यहरुमा कांग्रेस नेताहरु सुकुमलाल गुरुङ, विजय भट्टराई, शान्ता घर्ति, सुरज बोहोरा, गोपाल बहादुर क्षेत्री, राजकुमार श्रेष्ठ, सूर्यकुमारी कोइराला, खुमबहादुर श्रेष्ठ, प्रकाश लौडारी, भरतराज नहर्की, निलकण्ठ सिग्देल र नवराज अधिकारीलाई थप गरिएको छ ।
बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले र नेत्री यमुना खड्का वि.क.लाई सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको छ।

समितिका सहसंयोजक डम्बर अधिकारीका अनुसार बैठकमा वडा अधिवेशन, स्थानीय तह, प्रदेश तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया शुरु गर्नेबारेमा छलफल भएको थियो । अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाउने लगायतको तयारीका बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा संयोजक प्राडा गौतमले पार्टीको आधिकारिकता आँफुहरु संलग्न समुहले पाउने दाबी गर्दै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका थिए । बैठकमा नेताहरु यमुना खड्का, सह संयोजक अधिकारी, सचिव खनाल, युवा नेता विपिन अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।













