पोखरा, पोखराको पर्यटन प्रवर्द्धनसँगै पर्यटकले उपहारका रूपमा लैजाने गार्मेन्ट तथा हस्तकलाजन्य सामग्रीको प्रवर्द्धनमा काम गर्दै आएको संस्था इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन अर्थात एगाको २३ औं साधारणसभा एबम १२ औं अधिबेशन पोखरामा सम्पन्न भएको छ।अधिबेशनले संस्थाको नयाँ कार्यसमिति समेत चयन गरेकोमा नयाँ कार्यसमितिको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित भएकी छन्।
बिहीबार सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमिल्सिना र कोषाध्यक्षमा सुशील ढकाल निर्वाचित भएका छन्। कार्यसमितिको सदस्यहरुमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगत नारायण श्रेष्ठ निर्वाचित भएका छन्।
अधिवेशन उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनसँगै पर्यटकले नेपालबाट लैजाने मौलिक तथा स्थानीय उत्पादनमा एगाकापे योगदानको चर्चा गर्दै गुणस्तर र बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए। पोखरेलले पोखराको पर्यटन विकासमा निजी क्षेत्रका संस्थाबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके मात्र पर्यटन विकासमा टेवा पुग्ने भनाइ राखे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रमा एगाले उत्पादन गर्ने हस्तकला तथा नेपाली मौलिकतासँग जोडिएका सामग्रीहरु विश्वको पर्यटन बजारमा विस्तारै जोड्दै गएको बताए। उनले एगाका उत्पादनलाई व्यापक रुपमा पर्यटकको हातहातमा पुर्याउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने र विश्व बजारमा नेपाली उत्पादनले स्थान पाउने धारणा राखे।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले व्यवसायीका साझा समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताईन्। व्यावसायिक वातावरण सुधारसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
संस्थाका अध्यक्ष गोकर्ण लम्सालले संस्थाले व्यवसायीको क्षमता अभिवृद्धि, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनसँग उत्पादनलाई जोड्ने कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष सूर्य भुजेल, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार पुष्कल थापा, कृष्णकुमार श्रेष्ठ र विश्वराज पोखरेल तथा सदभाव सदस्य हेमप्रसाद तिमिल्सिनालगायतले भनाइ राखेका थिए।













